युएईका नेपालीहरुले शुक्रबार दुबईमा एक कार्यक्रमको आयोजना गरि १०५ औं विपि जन्म जयन्ती मनाएका छन्।
नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति युएईले शुक्रबार आयोजना गरेको विपि जन्मजयन्ती समारोहमा युएईमा कार्यरत नेपालीहरुले नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्याएको योगदानको स्मरण गरे।
कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समितिका सभापति खेमराज बस्नेतले विपिले नेपालमा प्रजातन्त्र स्थापनामा राजनीति र साहित्यको माध्यमबाट पुर्याएको योगदान अतुलनीय रहेको बताए। त्यस्तै जनसम्पर्क समितिका संरक्षक चित्र बहादुर केसी, वरिष्ठ उपसभापति भुवानीप्रसाद तिम्सिना, महामन्त्री कृष्ण गौतम, सल्लाहकार मनोज गोर्खाली लगायतले विपिले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईराला नेपाली राजनीतिका मात्रै नभएर नेपाली र हिन्दी भाषाका प्रसिद्ध साहित्यकार पनि थिए। उनले लामो समय नेपाली कांग्रेसको नेतृत्व सम्हाल्दै विसं २०१६ मा सम्पन्न पहिलो आम निर्वाचनमा आफ्नो दल नेपाली कांग्रेसलाई विजयी बनाएर आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए।
उनले सृजना गरेका तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाई, मोदी आईन्, दोषी चस्मा, श्वेतभैरवी नेपाली साहित्यका अमर कृतिहरु मध्येमा पर्छन्।
पंगेनीको स्मृतिमा शोक
उक्त कार्यक्रममा गत साउन १६ गते असामयिक निधन भएका नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सांसद कमलप्रसाद पंगेनीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
नेता पंगेनीको निधनले स्याङ्जावासीलाई मात्रै नभएर सिंगो राष्ट्रलाई ठूलो क्षति पुगेको कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर केसीले बताए।