नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सरकारले घरेलु कामदारको श्रम स्वीकृतिमा लगाएको प्रतिबन्ध फुकाउन पहल गर्ने बताएका छन्।
नेपाली जनसम्पर्क समिति युएईले मंगलबार दुबईमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिहंले यस्तो बताएका हुन्।
सरकारले २०७३ चैतदेखि घरेलु कामदारहरुलाई दिइने श्रम स्वीकृतिमा रोक लगाएपछि युएईमा रहेका हजारौं नेपाली घरेलु कामदार घर फर्किन पाएका छैनन्। यसबारे आफू जानकार रहेको बताउँदै सिहंले छिटोभन्दा छिटो युएईसँग दुई पक्षीय श्रम सम्झौता गरेर घरेलु कामदारहरुको बाटो खुल्ला गर्ने बताएका हुन्।
उनले युएईमा रहेका नेपाली घरेलु कामदारहरुले भोग्नुपरेका समस्याहरुप्रति दुःख व्यक्त गर्दै ती समस्याको समाधानका लागि हदैसम्मको कोशिश गर्ने बताए। यसैगरी विभिन्न कारण विदेशी भूमिमा समस्यामा फसेका नेपालीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने पनि सिंहले बताए।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका संरक्षक चित्र केसी, सभापति खेमराज बस्नेत, महामन्त्री कृष्ण गौतम, वरिष्ठ उपसभापति भवानीप्रसाद तिमल्सिना, एनआरएनए आईसीसीका मध्यपूर्व उपसंयोजक गोपाल कँडेललगायतले युएईमा नेपालीहरुले भोग्नुपरेका समस्याहरु समाधान गर्न सांसद सिंहलाई आग्रह गरेका थिए।