युएई सरकारले विभिन्न कारण अवैधानिक बनेका आप्रवासीलाई क्षमादान सहितको ३ महिने आममाफी कार्यक्रम ल्याएको छ ।
अगष्ट १ तारिखबाट शुरू हुने क्षमादान कार्यक्रमबाट भिसाको समयावधी सकिएर अवैधानिक बनेका , गैरकानुनी रूपमा युएई छिरेका, कम्पनी छोडेर भागेकाले लाभ लिनसक्ने बताईएको छ ।
यस अवधिमा युएईमा अवैधानिक रुपमा बसिरहेका र वैकल्पिक प्रावधान खोजिरहेकाले बिना कुनै जरिवाना वा जेल सजाय घर फर्कन पाउनेछन्। साथै युएईमै नयाँ स्पोन्सर खोजेर आफ्नो अवस्था वैधानिक बनाउन सक्नेछन्।
अवैधानिक रुपमा युएई छिरेकाको हकमा भने बिना कुनै जरीवाना वा जेल सजाय घर फर्कन पाउनेछन् तर, उनीहरूमाथि २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ। यसैगरी कम्पनीको फरार सूचीमा रहेका कामदारको फरार मुद्दा हटाई ईमिग्रेसन कार्यालयले बिना प्रतिबन्ध मुलुक छाड्ने अनुमती प्रदान गर्नेछ। यसको लागि नजिकको ईमिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट , प्लेन टिकट र २२० युएई दिराम दस्तुरसहित आवेदन दिनुपर्नेछ।
आवेदकले ईमिग्रेसन कार्यालयबाट एक्जिट परमिट प्राप्त गरिसके पछि १० दिन भित्र मुलुक छोडिसक्नुपर्ने छ। आफ्नो अवस्था वैधानिक बनाउन चाहनेको हकमा भने ५०० युएई दिरामसहित आवेदन दिन सक्नेछन्। यसरी आवेदन दिएका अवैधानिक कामदारले यहीँ स्पोन्सर खोजेर नयाँ काममा लाग्न सक्नेछन्।
यहीँ काम गर्न चाहनेले मानव संशाधन तथा अमारितिकरण मन्त्रालयको भर्चुअल जब मार्केट वेबसाईटमा आफूलाई दर्ता गर्न सक्नेछन्।
उनीहरूले उपयुक्त काम खोज्न ६ महिनासम्मको अस्थायी प्रवेशाज्ञा पाउनेछन्।
एम्नेष्टी आवेदन दिन चाहनेको सुविधामा ध्यान दिँदै युएई सरकारले ९ वटा एमनेष्टि केन्द्र स्थापना गरेको छ। आफैं ईमिग्रेसन कार्यालयमा उपस्थिति हुन नसक्नेहरुले उनीहरूको मेडिकल रिपोर्ट वा सम्बन्धित दूतावासको सिफारिसको आधारमा एक्जिट परमिट पाउने प्रावधान राखिएको छ।
युएई प्रशासनको कालोसूचीमा परेका र विभिन्न मुद्दा चलिरहेकाहरुले भने यो कार्यक्रमबाट लाभ लिन पाउँदैनन्।
भोलिदेखि शुरू हुने आममाफी कार्यक्रमबाट भिजिट भिसामा युएई आएर अलपत्र परेका र गैरकानुनी रूपमा बसेका हजारौं नेपाली समेत लाभान्वित हुने बताईएको छ।
यो कार्यक्रम आगामी एक महिनासम्म लागू हुनेछ। युएईले यसअघि सन् २०१३ मा पनि दुई महिने एम्नेष्टी कार्यक्रम सञ्चालन गरेको थियो। जसबाट करिब ६२ हजार व्यक्ति लाभान्वित भएका थिए।