नेपालीहरुको बाक्लो उपस्थिति रहेको मध्यपूर्वका देशहरुमा तीज आउनु २ महिना अघिदेखि चहलपहल सुरू हुन्छ।
युएईमा मात्रै तीजको अवसरमा वर्षेनी दर्जनौं कार्यक्रम आयोजना हुन्छन्। यसबाहेक कतार, साउदी, कुवेत, ओमन, ईजरायल, मलेसियामा रहेका नेपालीलेसमेत विभिन्न कार्यक्रम आयोजना गरि तीज मनाउने गर्छन्।
तुलनात्मक रूपमा खाडीका अन्य देशभन्दा अलि बढी स्वतन्त्र र नेपाली बाहुल्य रहेको युएईमा यसपटक तीजको चहलपहल सुरू भईसकेको छ। यहाँ क्रियाशील जिल्लागत सामाजिक संघसंस्था, जातीय र राजनीतिक दलका जनवर्गीय संगठनहरु र एउटै कम्पनीमा कार्यरत नेपाली महिलाहरु विभिन्न समुह निर्माण गरि तिजका कार्यक्रम गर्न जुटेका छन्।
दूतावासको तथ्यांकमा सूचीकृत ७५ नेपाली संघसंस्था मध्ये अधिकांशले नेपालबाटै कलाकार झिकाएर तीज विशेष कार्यक्रमहरु आयोजना गर्दैछन्। यी मध्ये केही संघसंस्थाले सामाजिक कार्यका निम्ति आर्थिक संकलन गर्ने उद्देश्य राखेका छन् भने अधिकांशले नितान्त मनोरञ्जन बाहेक केही खुलाएका छैनन्। यद्यपि टिकट दर भने कम्तीमा ३५ युएई दिराम राखेको पाईन्छ । प्रवेश शुल्क तोकेरै आयोजना गरिने यस्ता कार्यक्रमहरुको पारदर्शीताका विषयमा बारम्बार प्रश्नहरु उठ्ने गरेका छन् । तर परम्परा र संस्कृतिको नाउँमा आयोजना गरिने यि कार्यक्रमहरु पछिल्लो समय व्यवसायिकता तर्फ उन्मुख हुँदै गएको देखिएको छ ।
युएईमा यसपटक अगष्टको पहिलो साता देखि तिज लक्षित कार्यक्रमहरु शुरु हुँदैछन । अगष्ट २ र ३ तारिख अबुधाबी र दुबईमा दुर्गेस साँझको आयोजना हुँदैछ । जसको उद्देश स्पष्ट छैन , तथापि तिजको अवसर छोपेर व्यवसायिक लाभ उठाउने अभिप्राय देखिन्छ । प्रवाशी नेपाली मंचले अगष्ट १० तारिख प्रवाशी नेपालीहरुको सहयोगार्थ अबुधाबिमा तिज विशेष कार्यक्रमको आयोजना गर्दैछ । त्यस्तै अगष्ट १७ तारिख अल्कुज दुबईको डल्सको हलमा झापाली समाजको तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । जसको उद्देश्य असह्य बालबालिकाहरुको निम्ति १० लाखको अक्षयकोष स्थापना गर्ने हो । सोही दिन बाग्लुङ सेवा समाजले दुबईको रिगल होटलमा तिज विशेष कार्यक्रम आयोजना गर्दैछ ।
अगष्ट २४ तारिख अबुधाबीको हातेमालो समुहको आयोजनामा अशोक दर्जीको सहयोगार्थ कलाकार टंक बुढाथोकी र अशोक दर्जीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । यसैगरी सोही दिन खोटाङ सेवा समाजको समेत तिज विशेष कार्यक्रम आयोजना हुँदैछ ।
यसैगरी अगष्ट ३१ तारिख युएई कै पुरानो नेपाली संस्था नेपाली समाज युएईको संयोजनमा ४० बढी नेपाली संघसंस्थाले संयुक्तरूपमा तिज विशेष कार्यक्रमको आयोजना गर्दैछन । सोही दिन तामाङ समाज युएई र प्रवाशी नेपाली मंच दुबई राज्यकमिटीले फरकफरक स्थानमा तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछन् । युएई नेपाली एकता समाजको महिला विभागले समेत सोही दिन दुबईको वेल्कम होटेलमा तिज विशेष कार्यक्रम आयोजना गर्दैछ ।
यस्तै सेप्टेम्बर ७ तारिख दाङ , प्युठान र रोल्पाका छुट्टाछुट्टै जिल्लागत संस्थाहरुले कार्लटन टावर होटेल देरामा संयुक्त तिज विशेष कार्यक्रम आयोजना गर्दैछन । सोही दिन एभरेस्ट क्लब बरदुबईमा स्याङ्जा सहयोग समाजले तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । यसपटकको अन्तिम तिज कार्यक्रम भने रुपन्देही सेवा समाजले सेप्टेम्बर १४ तारिख अल्कुजको डल्सको हलमा आयोजना गर्दैछ । जसमा कलाकारहरु बद्री पंगेनी , पृती आले र शितल शर्माको प्रस्तुति रहने बताईएको छ ।
माथी उल्लेख गरिएका प्रत्येक कार्यक्रममा २ देखि ३ जना नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकहरुले बताएका छन । चर्चित कलाकारहरु राजेशपायल राई , बद्री पंगेनि , खुमन अधिकारी , रोज मोक्तान , प्रकाश सपूत , बैकुण्ठ मल्ल , पृती आले , शान्ति श्री परियार , शोभा त्रिपाठी , रमिला न्यौपाने , सम्झना भण्डारी लगायत दर्जनौं नेपाली कलाकारहरु युएई आउने क्रममा छन् । दर्शक आकषिर्त गर्न चलेका कलाकार झिकाएर कार्यक्रम गरिएपनी यी कार्यक्रमबाट प्राप्त आम्दानी र खर्च कहिँ , कसैले सार्वजनिक गर्ने गरिएको पाईन्दैन ।
तिज बाहेक अन्य अवसरमा समेत युएईमा दर्जनौं कार्यक्रम आयोजना हुने गरेका छन । तर अहिलेसम्म कुनैपनी आयोजकले कार्यक्रमको हिसाबकिताब सार्वजनिक गरेको पाईएको छैन । यसलाई पारदर्शी बनाउनु पर्ने एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ बताउँछन् । जिल्लागत रूपमा बाँडिएर कार्यक्रमहरु आयोजना गर्नु भन्दा संयुक्तरूपमा आयोजना गरे सबैले एकसाथ आफ्नो सांस्कृतिक पर्वहरु मनाउन पाउने श्रेष्ठको भनाई छ । त्यसैगरी नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल भन्छन् – “यस्ता कार्यक्रमहरु आयोजना हुनु राम्रो हो तर कार्यक्रमलाई मनोरञ्जन केन्द्रीत मात्रै नबनाई पारदर्शी पनि बनाउनुपर्छ ।” त्यसैगरी युएईका सामाजिक अगुवा कृष सुनार पछिल्लो समय युएईका नेपाली संघसंस्थाहरु नाफा मुखी हुँदै गएको बताउँछन् ।
यसपटक आयोजना गरिने तिज कार्यक्रमहरु मध्ये केहीले मात्रै मानव सेवाको लक्ष्य राखेका छन । झापाली समाज युएईले आगामी अगष्ट १७ तारिख आयोजना गर्ने कार्यक्रमबाट असह्य बालबालिकाहरुको निम्ति १० लाखको अक्ष्यकोष स्थापना गर्ने उद्देश्य राखेको छ भने प्रवाशी नेपाली मंचले अगष्ट १० को कार्यक्रमबाट प्राप्त आम्दानी समस्यामा परेका प्रवाशी नेपालीहरुलाई सहयोग गर्न खर्चिने जनाएको छ । त्यस्तै अगष्ट २४ मा आयोजना हुने हातेमालो समुहको तिज विशेष सांस्कृतिक धमाकाबाट प्राप्त आम्दानी गायक अशोक दर्जिलाई सहयोस्वरुप प्रदान गर्ने बताईएको छ ।
करिब ४ लाख नेपाली कार्यरत युएईमा औपचारिक र अनौपचारिक गरि लगभग १ सयको हाराहारीमा नेपाली संघसंस्था रहेका छन् । ती मध्ये आधा जसो निकै सक्रिय छन । विभिन्न चाडपर्व र अवसरमा यी संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुको आम्दानी तथा खर्च पारदर्शी बनाउन जरुरी छ । चाडपर्व र सांस्कृतिक परम्पराहरु मनाउने बहानामा व्यक्ती वा संस्थाले मुनाफा कमाउनु भन्दा सामाजिक कार्यहरुमा लगानी गर्न सके देश निर्माणमा प्रवाशीको योगदानले अझै बढी सार्थकता पाउनेछ ।