ग्लोबल नेपाली
सोलुखुम्बुका पासाङ शेर्पा पूर्वी अफ्रिकी मुलुक तान्जानिया गएको १० वर्ष भयो।
ट्राभल कन्सल्ट्यान्ट बनेर त्यहाँ पुगेका पासाङले डेढ वर्षयता भने आरूसा सहरमा आफ्नै 'शेर्पा ट्राभल्स' चलाइरहेका छन्।
उनी तान्जानिया पुग्नुको मुख्य कारण २०७२ सालको भुँइचालो र भारतले लगाएको नाकाबन्दी हो। उनी पर्यटन क्षेत्रमा काम गर्थे। भुइँचालो र नाकाबन्दीले पर्यटनको काम ठप्प भयो।
'काम पाउन कठिन भएपछि विकल्पको खोजीमा थिएँ,' उनले भने, 'नोकरी डटकम नामक भारतीय वेबसाइटमा तान्जानियामा ट्राभल कम्पनीमा कामदार मागिएको देखेँ र आवेदन भरेँ।'
केही दिनमा उनी छनोट भएर तान्जानिया पुगे। त्यहाँ सुरूमा एयर टिकटमा काम गरे। पर्यटकले कस्ता नियम पालना गर्नुपर्छ, के गर्न हुन्छ, के गर्न हुँदैन भन्नेबारे उनले यात्रुलाई जानकारी गराउनुपर्थ्यो।
नेपालमा यही क्षेत्रमा करिब ६ वर्ष काम गरेको अनुभव भएकाले पासाङलाई तान्जानियामा पनि समस्या भएन।
उनका अनुसार यात्रुले टिकट अनलाइनबाटै किन्न पाउँछन् तर यात्रा सम्बन्धी सबै जानकारी पाउँदैनन्। त्यसैले आफ्नो गन्तव्यको सबै जानकारी लिन यात्रुहरू ट्राभल एजेन्सीमै आउँछन्।
पासाङले यस्तै यात्रुहरूलाई गन्तव्यबारे सबै जानकारी दिने काम गरे।
'यस्तो कुरा सामान्यजस्तो लाग्छ तर थोरै लापरबाही भयो भने पनि यात्रुले धेरै दुःख पाउँछन्। ट्राभल एजेन्सीले यात्रुलाई सबै जानकारी दिन्छ। तान्जानियाबाट अर्को देश जाने यात्रुलाई विशेष जोड दिएर जानकारी गराइन्छ,' उनले भने।

सन् २०१५ मा तान्जानिया गएका पासाङ कोभिड–१९ का कारण करिब चार वर्ष कामविहीन भए। विदेशी पर्यटक आउन ठप्प भयो, काम बन्द भयो। तर कम्पनीले तलब रोकेन। नेपालमा जस्तो लकडाउन पनि भएन।
कोरोनापछि परिस्थिति सामान्य भयो, काम पनि हुँदै थियो तर आन्तरिक कारणले उनी कार्यरत कम्पनी बन्द भयो। यसपछि पासाङका अगाडि आफै कम्पनी चलाउने चुनौती खडा भयो।
'यहाँबाट अरू ठाउँ र पेसामा जान मन भएन। अनि तान्जानियामै ट्राभल एजेन्सी सुरू गरेँ,' उनले भने।
अफ्रिकाको सबभन्दा अग्लो हिमाल किलिमन्जारो तान्जानियामै छ। यो हिमालको उचाइ पाँच हजार ८९५ मिटर छ। अफ्रिकी पर्यटकका लागि यो हिमाल आकर्षक गन्तव्य हो।
सेरेङ्गेटी नेसनल पार्क (राष्ट्रिय निकुञ्ज) अर्को ठूलो आकर्षण हो। अफ्रिकामा 'बिग सेभेन भनिने' सिंह, चितुवा, हात्ती, गैंडा, जलगैंडा, जंगली–भैंसी र गोही यहीँ पाइन्छन्।
तान्जानियामा पर्यटनको मुख्य विशेषता किलिमन्जारो आरोहण र नेसनल पार्कमा जंगल सफारी नै हो। उनको ट्राभल एजेन्सीले पर्यटकलाई यसकै प्याकेज बेच्छ।
पासाङका अनुसार किलिमन्जारो हिमाल आरोहण गर्न सजिलो छ। नेपालको पहाडमा उकालो–ओरालो हिँडेजस्तै हो। हिमाल क्षेत्रको मौसम छिनछिनमा बदलिने भएकाले यात्रा रोमाञ्चक र केही चुनौतीपूर्ण हुन्छ।
तान्जानिया सरकारले पनि नेसनल पार्कमा सफारी र हिमाल आरोहरणमा विशेष जोड दिएको छ।

'नेसनल पार्कहरू सरकारको मातहतमा छन् तर स्वतन्त्र पनि मानिन्छन्। नेसनल पार्क सञ्चालनका लागि आफ्नै विशेष नियम छ,' पासाङले भने, 'नेसनल पार्क प्रशासनले नै सबै व्यवस्थापन गर्छ। सबै किसिमको शुल्क तोक्छ।'
तान्जानियामा एक जना पर्यटकको सामान्य दैनिक खर्च १५० देखि दुई सय अमेरिकी डलरसम्म हो। योभन्दा धेरै खर्च व्यक्तिको क्षमता र स्वभावमा भर पर्छ।
तान्जानियामा व्यावसायिक वातावरण राम्रो रहेको पासाङको भनाइ छ।
'निर्वाचनबाट आउने भए पनि सरकारका विरूद्ध कडा बोल्न पाइँदैन। बन्द, हड्ताल, आन्दोलन केही पनि हुँदैन। व्यावसायिक स्वतन्त्रता राम्रो छ,' उनले भने, 'व्यवसायका लागि राम्रो नीतिनियम भएकाले विदेशी लगानी पनि प्रशस्त छ। होटल व्यवसायमा लगानी धेरै छ।'
तान्जानियामा विभिन्न पेसा–व्यवसाय गरेर बसेका पाँच सय जति नेपाली रहेको उनको अनुमान छ। प्राविधिक सीप भएका व्यक्तिका लागि कामको अवसर पनि राम्रो छ। कामको खोजीमा आउने व्यक्ति पश्चिमा मुलुकका धेरै हुन्छन्।
'महँगीले गर्दा पश्चिमा देशका मान्छे मात्र आउँछन्। नेपालीहरू पनि नेपालबाट नभई पश्चिमा देशबाट आउने हुन्,' उनले भने।
पासाङको शेर्पा ट्राभल्समा ६ जनाले रोजगारी पाएका छन्। व्यवसायले राम्रो गति लिएकाले केही वर्ष तान्जानियामै बिताउने उनको सोच छ।
'साढे एक वर्षमा कम्पनीको आम्दानी र खर्चको सन्तुलन मिलाउन सकेको छु,' पासाङले भने, 'अझै केही समय यतै काम गर्छु।'


