म सन् २०२३ को अगस्टदेखि पानीजहाजमा काम गर्दैछु। त्यहाँ 'बार टेन्डर' को काम गर्छु। मेरो काम यात्रुलाई 'ककटेल ड्रिंक्स' दिनु हो।
पानीजहाजमा काम गर्नेसँग निश्चित समयका लागि सम्झौता भएको हुन्छ। कुनै सम्झौता चार महिनाको त कुनै ६ महिनाको हुन्छ। त्यो पूरा अवधि पानीजहाजमै बित्छ।
त्यसरी यात्रा गर्दा विभिन्न देशमा पुग्ने अवसर समेत पाइन्छ। म अहिलेसम्म पानीजहाजबाट ५० वटाभन्दा बढी देशमा पुगेको छु। प्रत्येक पटक नयाँ ठाउँ यात्रा गर्न पाइन्छ। अहिलेसम्म १४ पटक अन्टार्कटिकाको यात्रा गरेको छु।
अन्टार्कटिका जान चिली र अर्जेन्टिनामध्ये एउटा देश पुग्नैपर्छ। त्यहाँबाट अन्टार्कटिकाका लागि धेरैले ११ दिनको यात्रा गरेका हुन्छन्। जान दुई दिन र फर्किन दुई दिन, अन्टार्कटिकामा बस्ने सात दिन गरी ११ दिनको प्याकेज हुन्छ।
कतिपय यात्रु फकल्यान्ड टापू र साउथ जर्जिया पनि घुम्न चाहन्छन्। यस्ता यात्रुका लागि अन्टार्कटिकासहित २२ दिनसम्मको प्याकेज हुन्छ।
म काम गर्ने पानीजहाज (क्रुजसिप) मा ६ तारे होटलसरहको सुविधा छ। अन्टार्कटिका पुग्दाको रमाइलो अर्कै छ। जताततै पानी, पानीमाथि हिउँका ठूल्ठूला ढिस्का तैरिरहेका; सबैतिर यस्तै देखिन्छ।
जमिन देख्न पाइँदैन, सबैतिर पानी र सेताम्मे हिउँ मात्र देखिन्छ। जमिन त कतै पनि नदेखिने रहेछ! अन्टार्कटिका जाने साधन पानीजहाज मात्रै हो। अरू कुनै किसिमको साधनमा जान पाइँदैन।
सन् १९५९ मा अमेरिकाको वासिङटन डिसीमा भएको एक सन्धिअनुसार अन्टार्कटिकामा कुनै पनि वस्तु छाड्न पाइँदैन। त्यहाँ भएको कुनै वस्तु ल्याउन पनि पाइँदैन। पानीजहाजबाट ओर्लिँदा र पानीजहाजमा छिर्दा खुट्टा राम्ररी धुनुपर्छ।
हावाको बहावअनुसार त्यहाँको पानी छचल्किने भएकाले समस्या हुन सक्छ। कहिलेकाहीँ निकै ठूलो छाल आउँछ। मैले ९–१० मिटर अग्लो छाल देखेको छ।

अन्टार्कटिका जाने क्रममा र पुगेपछि त्यहाँका कुनै पनि जीवलाई कुनै किसिमको असर पुर्याउन पाइँदैन। त्यहा पेनगुइन हुन्छ, आफ्नो बाटोमा आयो भने धपाउन पाइँदैन, बाटो छोडिदिनुपर्छ। माछा चलाउन पाइँदैन।
अन्टार्कटिकामा भएका जीवजन्तुका लागि खाना सीमित हुन्छ। तिनले एक पटक खाएर धेरै दिनका लागि शक्ति सञ्चय गर्नुपर्छ। ती जीव मानिस देखेर भाग्नुपर्यो भने शरीरमा सञ्चय भएको शक्ति खेर जान्छ भन्ने मानिन्छ। यस मान्यता अनुसार कुन जनवारसँग कति मिटरको दुरी राख्ने भन्ने नियम हुन्छ।
अर्को रमाइलो पक्ष के छ भने त्यहाँ समुद्रमा 'डाइभ' हान्न पाइन्छ। मैले पनि १४५ मिटर तलसम्म डाइभ हान्ने अवसर पाएको छु। यो निकै साहसिक खेल हो। सतहमुनि कति तलसम्म सुरक्षित छ भन्ने आधारमा डाइभ हान्न दिइएको हुन्छ।
माइनस २ डिग्री सेल्सियस तापक्रमको चिसो पानीमा 'जम्प' हान्न पनि पाइन्छ। त्यहाँ मेडिकल टिम तयार बसेको हुन्छ। जम्प गरेर निस्किनासाथ मेडिकल टिमले परीक्षण गर्छ। कुनै खतरा हुँदैन।
धेरैलाई अन्टार्कटिका कसरी जाने, कति खर्च लाग्छ भन्ने जिज्ञासा हुन सक्छ।
अन्टार्कटिका जान सबैभन्दा पहिला अर्जेन्टिना वा चिली पुग्नुपर्छ।
त्यहाँ पुगेपछि अन्टार्कटिकाका लागि ११ दिनको प्याकेज हुन्छ। त्यसको खर्च पानीजहाजमा उपलब्ध हुने सुविधा अनुसार हुन्छ। हाल एक जनालाई २० हजारदेखि ३३ हजार अमेरिकी डलरसम्म खर्च लाग्छ।
अर्जेन्टिना र चिली पुगेर सिधै टिकट काट्छु भनेर हुँदैन। त्यहाँ पुगेपछि पनि निकै लामो समय कुर्नुपर्ने हुन्छ।
सन् २०२५ डिसेम्बर र सन् २०२६ जनवरीका लागि अहिले नै 'प्याक' भइसकेको छ।
अन्टार्कटिकाको लागि ट्राभल एजेन्सीबाट टिकट लिन सकिन्छ। आफैले पनि टिकट लिने सुविधा छ।