गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीहरूले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसॅंग भेट गरेका छन्।
एनआरएनए अध्यक्ष बद्री केसीको नेतृत्वको टोलीले सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाललाई छुट्टछुट्टै भेटेर एनआरएनभित्र देखिएको समस्याबारे जानकारी गराएको हो।
एनआरएनए एकताका लागि सहजीकरण गर्न आफूहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराएको एनआरएनए उपमहासचिव सोम सापकोटाले बताए।
'हामीले नागरिकता, लगानीको विषय अनि एनआरएनए भित्रको समस्याबारे जानकारी गरायौं। विधानविपरीत पूर्व अध्यक्ष शेष घले नेतृत्वको उच्च स्तरीय समितिले अधिवेशन गर्न लागेको बारेमा भनेका छौं,' उनले भने, 'विधान विपरीत गरिने महाधिवेशनले संगठनलाई असर पार्छ। त्यसैले हामीले सहजीकरणका लागि आग्रह गरेका छौं। उहाँहरूले आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभएको छ।'
एनआरएनएको टोलीले सोमबार राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्दैछ। प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर वार्ताको माध्यमबाट अहिलेको अन्यौलता हटाउन आग्रह गर्ने उनले बताए।
शेष घले नेतृत्वको समितिले मे ३ देखि ५ सम्म अलग्गै अधिवेशन गर्ने भनिएको मिति नजिकिँदै जाँदा एनआरएनएले आफ्ना पदाधिकारीहरूलाई काठमाडौं बोलाएको छ।