लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार अपराह्न हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं 'पेजर' हरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने लगभग तीन हजार घाइते भएका छन्।
अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। तर हिजबुल्लाहले इसराइललाई दोष लगाउँदै यसको बदला लिने बताएको छ।
इसराइलले यो घटनाबारे आधिकारिक रूपमा केही पनि बोलेको छैन। तर पनि यो आक्रमण इसराइलले गरेको मानिन्छ।
देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इसराइल अरू बेला पनि बोल्दैन।
हिजबुल्लाहका नेता हसन नसरल्लाहले गत फेब्रुअरीमा समूहका सदस्यहरूलाई इसराइलले उनीहरूको गतिविधि 'ट्र्याक' गर्न र लक्षित आक्रमण गर्न मोबाइल फोन प्रयोग गर्न सक्ने भनेर मोबाइल नबोक्न आदेश दिएका थिए।
धेरै पहिले पनि पेजर प्रयोग गर्ने गरेको हिजबुल्लाहले त्यसपछि आफ्ना सदस्यलाई करिब तीन हजार नयाँ पेजर बाँडेको हुन सक्ने अमेरिकी मिडियाले अनुमान गरेका छन्।
मंगलबार अपराह्न स्थानीय समय करिब ३:३० मा लगभग एकैपटक हिजबुल्लाह सदस्यहरूले बोकेका ती पेजरहरू विस्फोट भए। पेजर सुरूवालको गोजीमा बोकेकाको खुट्टा र जाँघमा, हातमा बोक्नेको हातमा, र हेर्नलाई आँखाछेउ पुर्याएकाको अनुहारमा चोटपटक लागेको छ। उनीहरूका परिवार सदस्यलाई पनि क्षति भएको छ।
विस्फोट भएका बेला ती पेजर बोक्ने कति मानिसहरू सार्वजनिक ठाउँमा भएकाले छेउछाउका धेरै सर्वसाधारण पनि यो घटनामा हताहत भएका छन्। हिजबुल्लाहले कम्तीमा ८ जना आफ्ना सदस्य मारिएको स्वीकार गरेको छ भने सयौं घाइते भएका छन्। धेरै जना सिकिस्त घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
सिरियामा राष्ट्रपति बसर अल-असदका लागि लडिरहेका हिजबुल्लाह लडाकु र इरानद्वारा चलाइने अरू समूहले हिजबुल्लाहसँग समन्वय गर्नका लागि ती पेजर प्रयोग गर्ने अरूहरू पनि सो आक्रमणमा परेका छन्।
लेबननका लागि इरानी राजदूत मोज्ताबा अमानी पनि विस्फोटका कारण घाइते भएका छन्।
आफूले पेजर बोकेका कारण नभएर पेजर बोक्नेको नजिकै भएका कारण उनी घाइते भएको इरानी दूतावासले जनाएको छ। उनी आफैले बोकेको भए पनि धेरैले आतंककारी मान्ने हिजबुल्लाह समूहले आन्तरिक सञ्चारका लागि प्रयोग गर्ने पेजर बोकेको स्वीकार्न अप्ठ्यारो हुन्थ्यो।
सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दीमा पार्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। त्यसैले लेबननका लागि इरानी राजदूतको नजिकै हिजबुल्लाह सदस्य हुनु सामान्य कुरा हो।
हिजबुल्लाह समूहले आन्तरिक सञ्चारका लागि प्रयोग गर्ने त्यति धेरै पेजर इसराइलले कसरी एकैसाथ विस्फोट गरायो त?
मोबाइल फोन प्रयोगमा आउनुभन्दा पहिले धेरैले आफ्नो कार्यालयको वा अरू कुनै समूहका सीमित व्यक्तिहरूबीच 'अक्षर' (टेक्स्ट) मार्फत् सम्पर्क गर्न पेजरको प्रयोग गर्थे। मोबाइल नेटवर्क नचल्ने कक्ष वा ठाउँहरूमा पनि पेजर चल्ने भएकाले अहिले पनि अमेरिकामा धेरै अस्पतालका चिकित्सक र नर्सहरूले एक-अर्कासँग सम्पर्क गर्न पेजरको प्रयोग गर्ने गर्छन्।
विभिन्न आतंककारी संस्थाले आफूलाई ट्र्याक गर्न नसकियोस् भनेर र युद्ध भएको क्षेत्रमा मानवीय सहायताका काम गर्ने संस्थाहरूले पनि पेजर प्रयोग गर्छन्।
पेजरमा क्यामेरा, माइक्रोफोन र ट्र्याकिङ गर्ने जिपिएस नहुने भएकाले यसलाई ट्र्याक गर्न धेरै गाह्रो हुन्छ। यसमा इन्टरनेट पनि प्रयोग नहुने भएकाले ह्याक गर्न पनि धेरै नै गाह्रो मानिन्छ।
मोसादले विगतमा पनि आफ्ना शत्रुहरूलाई प्रविधिको प्रयोग गरेर हत्या गरेकाले उसले हिजबुल्लाहका पेजर पनि ह्याक गर्न भने सक्छ।
सन् १९९६ मा 'इन्जिनियर' उपनामले चिनिने हमासको बम बनाउने विशेषज्ञ याया अय्याशलाई टेलिफोन उठाउँदा सो टेलिफोनमा लुकाएर राखिएको बम विस्फोट गराएर मोसादले मारेको थियो।
विभिन्न देशमा आफ्ना धेरै शत्रुलाई मारेको मोसादका लागि प्रविधि प्रयोग गरेको सबैभन्दा सफल घटना इरानी आणविक भट्टीमा सन् २०१० मा गरिएको साइबर हमला मानिन्छ। अमेरिकासँग मिलेर इसराइलले बनाएको 'स्टक्सनेट' भाइरस प्रयोग गरेर इरानी कम्प्युटरहरू ह्याक गरी आणविक भट्टीका लगभग १००० 'सेन्ट्रिफ्युज' लाई अनियन्त्रित रूपमा घुमाएर नष्ट गरेको थियो।
जे पनि गर्न सक्ने र जसरी पनि शत्रुको सफाया गर्न सक्ने यस्तो डरलाग्दो छवि बनाएको मोसादको साख सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा गरेको आक्रमणका कारण खस्केको थियो। सो आक्रमणमा नेपालका १० जना र केही विदेशीका साथै १२ सय इसराइलीको ज्यान गएको थियो।
इसराइलमा त्यत्रो ठूलो आक्रमण हुन लागेको बारे सुइँको समेत नपाएकाले खस्केको साख जोगाउन मोसादले त्यसपछि धेरै साहसी र सफल कारबाहीहरू गरेको छ।
तर हिजबुल्लाहका पेजर एकैपटक विस्फोट गराउनु उसको विगत एक वर्षको सबैभन्दा ठूलो सफलता मान्नुपर्ने हुन्छ।
मोसादका लागि पेजर ह्याक गर्नु असम्भव नभए पनि यो घटना ह्याक गरेर नभई पेजरमै विस्फोटक पदार्थ लुकाएर गरेको भनेर विभिन्न पश्चिमा मिडियाले विज्ञहरूसँगको कुराकानीका आधारमा लेखेका छन्।
पेजर ह्याक गरेर त्यसको ब्याट्री धेरै तात्ने पार्न मिल्ने भए पनि घटनाबारे सार्वजनिक भिडिओहरू हेर्दा ब्याट्री तातेर यो घटना नभएको उनीहरूले जनाएका छन्।
ब्याट्री धेरै तात्दा सुरूमा आगो लाग्ने औँल्याउँदै यो घटनामा आगो नलागेर एकैपटक विस्फोट भएको भनेका छन्। यो घटनामा भएको विस्फोट पनि ब्याट्री तातेर पड्किँदा हुने विस्फोटभन्दा शक्तिशाली भएको पनि उनीहरूको तर्क छ।
घटनाका भिडिओहरू हेर्दा ती पेजर ताइवानको गोल्ड एपोलो कम्पनीले बनाएको एआर २९४ मोडेलको पेजर भएको देखिन्छ। हिजबुल्लाहले मुख्यत: एआर २९४ मोडेलका ती पेजरसँगै सो कम्पनीका केही अरू मोडेलका पेजर पनि किनेको बताइन्छ।
ती पेजर हिजबुल्लाहको हातमा पर्नुअघि नै इसराइलले हरेक पेजरमा ब्याट्रीको नजिकै ५० ग्रामभन्दा पनि थोरै विस्फोटक पदार्थ राखेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ। उत्पादन भएर हिजबुल्लाहले पाउनुअघि कुन चरणमा त्यसरी विस्फोटक पदार्थ राखिएको थियो भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन।
सो विस्फोटक पदार्थलाई रिमोट कन्ट्रोलद्वारा विस्फोट गराउनका लागि स्वीच पनि हालिएको थियो।
एक वरिष्ठ लेबननी सुरक्षा स्रोत र अर्को एक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले पनि हिजबुल्लाहले आयात गरेको पाँच हजार पेजरमा इसराइलको खुफिया संस्था मोसादले विस्फोटक पदार्थ लुकाएको भनेर लेखेको छ।
मंगलबार एकैपटक ती पेजरमा मेसेज पठाइएको थियो। हिजबुल्लाहका वरिष्ठ नेताहरूले सन्देश पठाउने ती पेजरमा मेसेज आएको आवाज (बिप) केही सेकेन्ड बजेर विस्फोट भएको थियो। मेसेज आउन मिल्ने गरी राखिएका सबै पेजर विस्फोट भएका थिए।
उता ताइवानको गोल्ड एपोलो कम्पनीले भने ती पेजर आफूले बनाएको नभएर आफ्नो कम्पनीको लोगो राखेर अर्कै कम्पनीले बनाएको भनेको छ।
घटनापछि कम्पनीका अध्यक्ष र मालिक सू चिङ-क्वाङ्ले नाफाको केही हिस्सा आफूलाई दिने सर्तमा आफ्नो लोकप्रिय मोडेलको लोगो हालेर पेजर बनाउन बिएसी नामको युरोपेली कम्पनीलाई अनुमति दिएको खुलासा गरेका छन्। गोल्ड एपोलोले आफूले ब्रान्डको अनुमति मात्रै दिएको र सो पेजरको डिजाइन र बनाउने प्रक्रियामा अहिले संलग्न नभएको दाबी गरेको छ।
अब इसराइलले ती पेजर किन र विशेष गरी अहिले नै किन विस्फोट गरायो भन्नेबारे चर्चा गरौं।
हिजबुल्लाहसँग इसराइलको लामो शत्रुता छ र पटक-पटक युद्ध नै लडेको छ। गत वर्ष अक्टोबर ७ मा हमासले इसराइलमा गरेको हमलाको जबाफमा इसराइलले गजामा आक्रमण गरेदेखि नै हिजबुल्लाहले लगातार इसराइलमा रकेट आक्रमण गरिरहेको छ।
इसराइलले पनि हमासका साथै हिजबुल्लाह लडाकु र कमान्डरको पनि हत्या गरिरहेको छ।
लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौँ तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो।
इसराइलले शुक्रको हत्या भएको केही घण्टापछि हमासका शीर्ष नेता इस्माइल हनियेको पनि इरानको राजधानी तेहरानमा हत्या गरेकाले दुवैले मिलेर एकैचोटि इसराइलमाथि जबाफी हमला गर्ने अपेक्षा गरिएको थियो। त्यसले इरान-इसराइल युद्ध नै हुने खतरा उब्जिएको थियो।
हिजबुल्लाहले अगस्ट २५ मा सयौं रकेट र ड्रोनले इसराइलमाथि आक्रमण गरेर त्यसको बदला लिएको थियो। त्यसै दिन हिजबुल्लाहले शुक्रको हत्याको बदला लिँदैछ भन्ने थाहा पाएर हिजबुल्लाहले भन्दा अघि नै लेबननमा इसराइलले हमला गरेको थियो। करिब १०० लडाकु विमानले लेबननमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा इसराइलले प्रहार गरेको थियो।
हिजबुल्लाहले शुक्रको हत्याको बदलाको कारबाही सकिएको बताएकाले हिजबुल्लाहसँग युद्ध टरेको थियो। इरानले पनि हनियेको हत्याको बदलामा आफैले हमला नगरेर हिजबुल्लाहमार्फत इसराइलमा प्रहार गरेकाले इरान-इसराइल युद्ध पनि टरेको थियो।
तर पनि हिजबुल्लाहले अक्टोबरदेखि गरे जस्तै नै लगातार इसराइलमाथि रकेटहरू प्रहार गरिरहेको थियो। पछिल्ला दिनमा कूटनीतिले हिजबुल्लाहको हमला कम नगराएकाले अब लेबननभित्रै पसेर हिजबुल्लाहमाथि आक्रमण गर्नुपर्ने इसराइली अधिकारीले बताउँदै आएका थिए।
यस्तोमा हिजबुल्लाहलाई इसराइलमाथि निरन्तर प्रहार गर्नबाट रोक्न इसराइलले पेजर विस्फोट गराएको हुन सक्छ। हिजबुल्लाहसँग युद्ध सुरू गर्नुअघि उनीहरूको सञ्चार व्यवस्था तहसनहस पार्न इसराइलले यो घटना गराएको पनि हुन सक्छ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार भने इसराइलले पेजर विस्फोट हिजो नै गर्न चाहेको थिएन। तर आफूले पेजरमा विस्फोटक पदार्थ लुकाएको हिजबुल्लाहले थाहा पाउन सक्ने ठानेर हिजै इसराइलले विस्फोट गराएको हुनसक्ने उक्त अनलाइनले खुलासा गरेको छ।
सो हमलापछि इसराइलले अमेरिकालाई ब्रिफिङ गरेको थियो। सो ब्रिफिङबारे जानकार तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियसले त्यस्तो लेखेको छ।
इसराइलले केही महिनाअघि नै हिजबुल्लाहका पेजरमा विस्फोटक पदार्थ लुकाएको थियो। हिजबुल्लाहसँग युद्ध नै लड्नुपर्ने भए युद्धका बेला एकै पटक सबै पेजर विस्फोट गराएर धेरै लडाकुलाई क्षति पुर्याउने र हिजबुल्लाहको सञ्चार प्रणाली उथलपुथल पार्ने इसराइलको योजना थियो।
तर हिजबुल्लाहले त्यसबारे थाहा पाउने खतरा भएकाले त्यत्रो मेहनत त्यत्तिकै खेर जाने ठानेर इसराइलले हिजै विस्फोट गराएको हो। त्यसका लागि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना मन्त्री र सैनिक जनरल लगायत सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेर सोमबार मात्रै त्यसबारे निर्णय लिएका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनका सल्लाहकार एमोस हचस्टेन सोमबार इसराइलमै भए पनि उनलाई त्यसबारे जानकारी दिइएको थिएन।
मङ्गलबार दिउँसो पेजर विस्फोट गर्नुभन्दा केही समयअघि मात्रै इसराइली रक्षा मन्त्री योआभ गल्लयाण्टले अमेरिकी समकक्षी लोएड अस्टिनलाई फोन गरेर लेबननमा कारबाही गर्न लागेको बताएका थिए। तर उनले कस्तो कारबाही भन्ने खुलाएका थिएनन्। लेबनन र सिरियामा एकैपटक पेजरहरू विस्फोट गराएपछि मात्रै इसराइलले अमेरिकी अधिकारीलाई त्यसबारे ब्रिफिङ गरेको एक्सियसलाई अमेरिकी अधिकारीले बताएका छन्।
आफूले चाहेको जस्तै हिजबुल्लाहसँग युद्धका बेला पेजर विस्फोट गर्न नपाए पनि यो घटनाका कारण इसराइलले ठूलो सफलता हात पारेको छ। मोबाइल फोन प्रयोग गरे इसराइलले ट्रयाकिङ गर्छ भन्ने खतराका कारण पेजर प्रयोग गरेको हिजबुल्लाहको सूचना प्रणाली पेजर पनि सुरक्षित नभएपछि अहिलेका लागि तहसनहस भएको छ।
हिजबुल्लाहले चेतावनी दिए जस्तो बदला लिन ठूलो हमला गरे इसराइललाई अहिले हिजबुल्लाहविरूद्ध युद्ध सुरू गरेर लड्न पनि सजिलो हुनेछ।
तर उसै पनि इसराइलसँग युद्ध भए ठूलो क्षति बेहोर्नुपर्ने डरले युद्ध नचाहेको हिजबुल्लाहलाई अब कडा जबाफ दिन झन् गाह्रो हुनेछ।
आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन समेत युद्ध नथालेर रकेट र ड्रोन हमला मात्रै गरेको हिजबुल्लाहले अब पनि युद्ध सुरू गर्न मुश्किल हुनेछ।
लामो समयदेखि आफ्ना आन्तरिक सञ्चारका लागि प्रयोग हुने पेजरमा विस्फोटक पदार्थ लुकाएको खुलेपछि इसराइलले पहिलेदेखि अरू के-के योजना बनाएर बसेको छ र के-के गर्न सक्छ भनेर हिजबुल्लाहलाई झन् धेरै डर हुनेछ।
त्यसैले यो घटनाका कारण इसराइल र हिजबुल्लाहबीच युद्ध नहुने बरू झन् डराएको हिजबुल्लाहले दैनिक गरिरहेको हमला पनि केही कम गर्ने सम्भावना पनि रहन्छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)