ग्लोबल नेपाली
रोल्पाका सुनिल विकले काठमाडौंमा ढुंगागिटी र इँटा बोके। त्यस्तो भारीले दुखेको ढाड र थिलथिलो भएको शरीरले आराम नपाउँदै मलेसिया पुगे।
मलेसियामा अझ कठिन काम गर्नुपर्यो। झन् ठूलो भारी बोक्नुपर्यो।
उनी पाम तेल बनाउने पामको रूखको फल काट्ने र ओसार्ने काम गर्छन्। मलेसियामा पामखेती गरेर तेल उत्पादन गर्ने कम्पनी धेरै छन्। रूखबाट काटेर थुपारेको पामफल कम्पनीको गाडीले उठाएर लैजान्छ।
पामफलको एउटै झुप्पो हुन्छ। त्यो झुप्पो सिंगै बोक्नुपर्छ। फलमा तिखा काँडा हुन्छन्।
'सिजनको ठूलो फल त सय किलोसम्मको पनि हुन्छ, उचाल्नै सकिँदैन। काँडाले ढाड घोचेर हैरान पार्छ। कहिलेकाहीँ हातमा नमज्जाले काँडो बिझ्छ। बिझेको ठाउँ असाध्यै पोल्छ, ननिकालेसम्म निदाउन सकिँदैन,' सुनिलले भने, 'नेपालमा टिम्मुर हुन्छ नि, त्यसको भन्दा तीखा काँडा हुन्छन्। काँडो बिझ्यो भने कम्पनीले खाने औषधि दिन्छ तर त्यसले काँडो निस्किन महिनादिन लाग्छ।'
कामदारहरू आफ्नै प्रयासले काँडो निकाल्छन्। निकाल्न नसक्दा मात्रै औषधि खाने उनले बताए।
सुनिल काम गर्ने कम्पनीले ठूलो क्षेत्रफलमा पामखेती गरेको छ। उनी अग्ला रूखबाट फल काटेर एक ठाउँमा जम्मा गर्छन्। जम्मा गर्ने ठाउँ नजिकै भए पल्टाउँदै लैजाँदा पनि हुन्छ। टाढा छ भने ढाडमै बोक्नुपर्छ।


सुनिल मलेसिया गएको साढे दुई वर्ष भयो।
उनी सानै छँदा उनका आमाबुबा भारत गएका थिए। उनी हजुरबाआमासँग हुर्के। उमेर बढ्दै जाँदा जिम्मेवारी थपिँदै गयो। पढाइ अघि बढ्न सकेन।
उनी काम खोज्दै काठमाडौं पसे। भक्तपुरका इँटाभट्टामा काम गरे। निर्माण कार्यमा ज्यालादारी पनि गरे।
'नेपालमा काम पाइएन। पाए पनि त्यसको कमाइले छाक टार्न कठिन भयो। विदेश जान पाउने उमेर भएपछि प्रयास गरेर आएँ,' २२ वर्षीय सुनिलले भने।
उनी जानुभन्दा एक वर्षअघि उनका हजुरबुबा बिते। हाल घरमा हजुरआमा र सुनिलकी श्रीमती छन्।
सुनिललाई मलेसिया पठाउने एजेन्टले पामको बगैंचामा काम गर्ने हो, रूख १०–१५ फिट अग्लो हुन्छ भनेको थियो। काम पनि सजिलो छ भनेको थियो। पाम बगैंचामा पुगेपछि आफू छक्क परेको उनी बताउँछन्।
'पुरानो रूख त ३०–४० फिट अग्लो हुँदो रहेछ। फल काट्न र बोक्न एकदमै गाह्रो रहेछ,' उनले भने।
एजेन्टले उनलाई मलेसिया जान एक लाख पचास हजार रूपैयाँ लाग्छ भनेका थिए। तर जाने बेलासम्म साढे दुई लाख रूपैयाँ तिर्नुपर्यो।
'म सोझो मान्छे, केही थाहा भएन। भिसा आएपछि एजेन्टले साढे दुई लाख लाग्छ भन्यो। मसँग त्यति पैसा छैन, जाँदिनँ भनेँ। एजेन्टले त तेरो पासपोर्टमा कहिल्यै कतै जना नपाउने गरी छाप लगाइदिन्छु भनेर डर देखायो,' सुनिलले भने, 'म ऋण गरेर भए पनि आएँ।'
मलेसिया जाँदा लागेको ऋण तिर्न दुई वर्ष लाग्यो।
उनका अनुसार फल काटेर जम्मा गरेको आधारमा पारिश्रमिक प्राप्त हुन्छ। जति धेरै फल जम्मा गर्न सक्यो, त्यति नै बढी पारिश्रमिक। अग्लो रूखको फल काट्न निकै गाह्रो पर्छ। फल एक ठाउँमा जम्मा गर्न पनि धेरै समय लाग्छ।
एक टन (एक हजार किलो) फल जम्मा गर्दा ४५ मलेसियन रिंगेट (एक हजार ४६० नेपाली रूपैयाँ) पारिश्रमिक पाउँछन्। एक टन पुर्याउन निकै मुस्किल पर्छ। सिजन अनुसार फल धेरै वा थोरै भेटिने हुन्छ।


'सुरूसुरूमा दिनमा ५० वटादेखि मुस्किलले सय वटासम्म फल काट्थेँ। आजकाल त डेढ सय जति काट्न सक्छु। सिजनमा एक दिनमै दुई सय वटासम्म काट्छु,' उनले भने, 'हामी सबै कामदार घामपानी केही नभनी काम गर्छौं। पामको जंगलमा ओत लाग्ने ठाउँ पनि हुँदैन। आज काम गर्दिनँ भन्ने हो भने आफ्नै कमाइ घट्छ। झरीमा भिजेरै पनि काम गर्छौं।'
सय किलोसम्मको झुप्पो भेटिने त राम्रो सिजनमा कहिलेकाहीँ मात्रै हो। सामान्यता ५–१० किलोका झुप्पा भेटिन्छन्।
मलेसियन सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७ सय रिंगेट (५४ हजार नेपाली रूपैयाँ) तोकेको छ। तर पामको बगैंचामा महिनाभर काम गर्दा पनि त्यति कमाइ नहुने सुनिल बताउँछन्।
उनी महिनामा मुस्किलले १५ सय रिंगेट कमाउँछन्।
'जति मरिहत्ते गरेर काम गर्दा पनि न्यूनतम तलब समेत पुग्दैन,' उनले भने, 'तैपनि महिनामा ४० हजार रूपैयाँ जति बचाउँछु।'
उनलाई बस्ने सुविधा कम्पनीले दिएको छ तर सजिलो छैन। एउटा साँघुरो कोठामा आठ जना बस्नुपरेको छ। खानको खर्च आफै गर्नुपर्छ। यसमा मासिक सरदर ३५० रिंगेट खर्च हुने उनले बताए।
उनी काम गर्ने बगैंचामा २० जना नेपाली र १५ जना इन्डोनिसियाली भएको उनको अनुमान छ।
सुनिललाई अब भने विदेशमा घोटिन मन छैन। आफ्नै देश फर्केर कृषि गर्ने मन छ।
'अब आठ महिनामा नेपाल फर्किन्छु। योजना त बनाएको छैन तर आफ्नै जमिनमा फलफूल खेती र बाख्रापालन गर्ने सोच छ,' उनले भने।


(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]