ग्लोबल नेपाली
'डाक्टर, तपाईं कुन देशबाट हो?'
कतारस्थित एक अन्तर्राष्ट्रिय चेन अस्पतालमा कार्यरत रेडियोलोजिस्ट डा. आवेश कोइरालाका लागि यो प्रश्न नौलो होइन।
उनी मुस्कुराउँदै जबाफ दिन्छन्— म नेपालबाट।
त्यसपछि कतिपय बिरामीको प्रतिक्रियाले उनी छक्क पर्छन्। उनको मुस्कान एकाएक हराउँछ।
'कतिपय बिरामी के भन्छन्, तपाईं सुन्नुहुन्छ?' डा. आवेशले तिनको भनाइ उद्धृत गरे, 'नेपालमा पनि डाक्टर हुन्छन् र! हामीलाई त नेपालबाट मजदुर मात्र आउँछन् भन्ने लाग्थ्यो।'
उनका अनुसार यो एउटा प्रतिनिधि भनाइ हो जसले कतिपय देशमा नेपालीप्रति त्यहाँका बासिन्दाको धारणा प्रस्ट पार्छ।
यस्तो कुराले डा. आवेशको मन चिमोटिन्छ। भित्र कतै घोचेजस्तो हुन्छ।
कतारमा नेपाली मजदुरको संख्या निकै ठूलो छ। त्यहाँ दक्ष जनशक्तिका रूपमा पनि नेपालीहरू कार्यरत छन्। तर नेपाली जति आउँछन् ती सबै अदक्ष मजदुर नै हुन् भन्ने धारणा व्याप्त छ।
'कतारमा दक्ष जनशक्तिमा नेपालीको संख्या निकै छ तर हाम्रो पहिचान अदक्ष श्रमिकका रूपमा सीमित देखिन्छ। यस्तो धारणा बदल्न हामीले आफ्नो दक्षता बढाउनुपर्छ,' उनले भने, 'नेपालीमा पनि उच्च दक्षता छ भनेर थाहा पाउने दिन पनि आउनेछ। कुनै दिन यहाँका सबै अस्पतालमा नेपाली डाक्टर भेटिन सक्छन्।'
डा. आवेश अन्तर्राष्ट्रिय अस्पताल 'किम्स हेल्थ' मा काम गर्छन्। किम्स हेल्थ भारतीय चेन अस्पताल हो; भारत, साउदी अरब, बहराइन, ओमान र कतारमा फैलिएको छ।
उनले यो अस्पतालमा काम गरेको डेढ वर्ष भयो। अस्पतालमा आउने सेवाग्राही कतारी, फिलिपिनी र भारतीय बढी हुन्छन्। नेपालीहरू पनि हुन्छन्। अस्पतालमा नेपाली भेट्दा उनी निकै खुसी हुन्छन्।
'नेपालीहरू भेट्दा मलाई खुसी लाग्छ, माया पनि लाग्छ। यहाँ आउने नेपालीहरू पनि खुसी हुन्छन्,' उनले भने, 'नेपाली बिरामीहरू मसँग नेपाली भाषामा कुरा गर्छन्, सोध्न मन लागेका कुरा सोध्छन्।'
उनले किम्स हेल्थमा आउने बिरामीहरूको स्वास्थ्य बीमामा विभेद देखेका छन्। भारतीय, फिलिपिनी र अन्य अधिकांश आप्रवासी श्रमिकको स्वास्थ्य बीमा भएको हुन्छ, तर नेपालीको देखेका छैनन्।
'खै किन हो, यहाँका रोजगारदाताले नेपाली मजदुरको स्वास्थ्य बीमा गरिदिएको हुँदो रहेनछ। नेपालीबाहेक अरू देशका श्रमिकको बीमा भएको देख्छु। उनीहरूको तलब पनि नेपालीको भन्दा धेरै छ,' उनले भने।
कतारमा कम्तीमा साढे तीन लाख नेपाली कार्यरत रहेको अनुमान छ।
नेपाली चिकित्सकको संख्या भने निकै कम छ। डा.आवेशले चिनेका करिब ६ जना नेपाली चिकित्सक कतारमा कार्यरत छन्। उनी काम गर्ने अस्पतालमा धेरै चिकित्सक भारतीय छन्। सिरियाली र सुडानी पनि छन्। नेपाली उनी एक्ला हुन्।
'अस्पतालमा सफाइको काममा भने धेरै जना नेपाली छन्,' डा. आवेश भने।
आवेश जनकपुरमा जन्मेका हुन्। काठमाडौंमा हुर्के, यहीँ पढे। सन् २०१७ मा चीनबाट रेडियोलोजी विषयको पढाइ पूरा गरे।
उनी आफ्नै देशमा काम गर्न चाहन्थे। त्यसै अनुसार केही समय झापाको बिर्तामोडस्थित एक अस्पतालमा काम गरे। त्यसपछि काठमाडौं आए, मेडिकल कलेज र अस्पतालहरूमा काम गरे।
चीनमा पढेका कारण डा. आवेशले केही तितो अनुभव गर्नुपर्यो।
'चीनमा पढेको डाक्टरप्रति फरक दृष्टिकोण पाएँ। दोस्रो दर्जाको डाक्टरजस्तो व्यवहार हुन्थ्यो,' उनले भने, 'चीनमा पढ्न जानेले पढाइ पूरा नगरी, राम्ररी नपढी पनि सर्टिफिकेट ल्याउँछन् भन्ने धारणा रहेछ। केही वर्षअघि त्यस्तो आरोप लागेको थियो। त्यति बेलाको धारणा अझै बाँकी रहेछ।'
पढाइ र दक्षताबारे विचार नै नगरी चीनमा पढेको भनेर सहकर्मी र सिनियरहरूले नाक खुम्च्याएको उनले थाहा पाए। उनले पनि त्यो अपमान झेले।
'धेरै मेहनत गरेर डिग्री लिएँ। ९० प्रतिशत हाजिरी नभई परीक्षा दिन पाइँदैन थियो। बिदामा धेरै समय बाहिर बसेको छ कि भनेर पासपोर्ट पनि हेर्थ्यो,' उनले भने, 'आफूले त्यसरी पढेको, तर चीनमा पढेको भन्नेबित्तिकै अपमान गरिँदो रहेछ।'
त्यस्तो प्रवृत्तिले उनी दुःखी भए, हेपिएको अनुभव भयो। मन बिथोलियो, काम गर्न उत्साह भएन।
काम अनुसार चित्तबुझ्दो तलब थिएन। तैपनि आफ्नै देशमा काम गर्ने अठोट थियो। तर अपमानले उनलाई विकल्पतिर डोहोर्यायो।
उनका अनुसार मेडिकल कलेजको तलबभत्ताले काठमाडौंमा बस्नखान पनि पुग्दैन थियो। अनेकतिर काम गरेर, दिनरात खटेर ठिकै कमाइ गर्दै थिए तर परिवारिक समय थिएन, सधैं काममा व्यस्त। उनले मेहनत, पारिश्रमिक र आत्मसम्मानमा असन्तुलन देखे।
यस्तै कारण डा. आवेशले वैदेशिक रोजगारी राजे।
कोभिडको समयमा अरू चिकित्सकको तुलनामा रेडियोलोजिस्टलाई केही बढी फुर्सद भयो। त्यही बेला उनले वैदेशिक रोजगारीको सोच बनाए, त्यसै अनुसार प्रयास गरे।
पाएका अवसरमध्ये मध्यपूर्वी मुलुकहरू उपयुक्त देखे र कतार रोजे। कतारले चीनमा लिएको डिग्रीलाई मान्यता दिएको थियो तर नेपालको डिग्रीलाई थिएन। चीनमा पढेकाले आफूले अवसर पाएको उनी बताउँछन्।
कतारमा काम गर्न त्यहीँको चिकित्सा लाइसेन्स पनि लिएको हुनुपर्छ। केही ठाउँको काम छाडेर लाइसेन्स परीक्षाको तयारी सुरू गरे। तर नेपालमा काम गर्दै तयारी पूरा गर्न कठिन हुने ठाने।
त्यहीबीच उनले माल्दिभ्सको 'इन्दिरा गान्धी अस्पताल' मा अवसर पाए। त्यहाँ कम काममा पनि सन्तोषजनक तलब पाउने र कतारको लाइसेन्स परीक्षा तयारीका लागि समय पुग्ने पक्का भएपछि उनी माल्दिभ्स गए।
उनका लागि ओपिडीमा तीन घण्टाको ड्युटी तोकियो। ड्युटी कहिलकाहीँ राति पनि पर्थ्यो तर लाइसेन्स परीक्षा तयारीका लागि पर्याप्त समय पाए। करिब एक वर्षपछि उनी माल्दिभ्सबाट कतार गए। लाइसेन्स परीक्षामा सहभागी भए, उत्तीर्ण भए। किम्स हेल्थमा नियुक्ति पाए।
'कतारको आम्दानी र जीवनशैली उच्च छ। कतारले हेल्थ केयरमा धेरै लगानी गरेको छ,' उनले भने।
उनका अनुसार कतारका सबैजसो अस्पतालमा अत्याधुनिक उपकरण राखिएका छन्। उनी दैनिक २०–२५ जना बिरामी हेर्छन्। सामान्यतया दिनमा आठ घन्टा काम गर्नुपर्छ। दौडधूप हुँदैन। हप्तामा एक दिन बिदा हुन्छ। पारिवारिक समय पनि पर्याप्त हुन्छ।
फुर्सदको समय परिवारसँग बिताउँछन्। छोराछोरी सानै छन्, उनीहरूलाई पढाउँछन्।
कतारमा चिकित्सकले अनुभवका आधारमा मासिक ८ देखि १० हजार अमेरिकी डलर कमाउन सक्ने उनले बताए। केही वर्ष काम गरेर आफ्नै देश फर्किने सोच हो भने खाडी राम्रो गन्तव्य हुने उनी बताउँछन्।
'नेपालबाट टाढा पनि छैन। आपत पर्दा तीन–चार घन्टामै नेपाल पुग्न सकिन्छ। अनि यहाँ धेरै नेपाली भएर होला, मोबाइलमा नेपाली भाषामै मेसेज आउँछ। बैंकमा पनि नेपालीमा सेवा हुन्छ। नेपालमै बसेजस्तो छ। नेपालीहरू मेहनती र इमानदार हुन्छन् भन्ने विश्वास पनि छ,' उनले भने।
अहिले नेपालमा एमबिबिएस र एमडी गरेकालाई पनि कतारले लिइरहेको छ। तर कतिपय कलेजलाई मान्यता दिएको छैन। कतारले मान्यता दिएको कलेजमा पढेको हो भने लाइसेन्स परीक्षामा सहभागी हुन पाइन्छ।
कतारबाट श्रमस्वीकृति पाएपछि नेपालबाट पनि श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ। तर नेपालमा श्रमस्वीकृति लिन झन्झट बेहोर्नु परेको उनको गुनासो छ।
'नेपालको सरकारले अदक्ष कामदार मात्रै विदेश पठाउन जानेको छ। दक्ष युवालाई श्रमस्वीकृति दिन जानेको रहेनछ,' उनले भने, 'मेलै साह्रै दुःख पाएँ। अनलाइनबाट आवेदन दिँदा रद्द हुन्छ। कर्मचारीलाई सोध्दा केही बताउँदैनन्। फाइल यता र उता फाल्छन्। श्रम स्वीकृतिको झन्झटले मलाई फेरि नेपाल फर्किन डर लागिरहेको छ।'
उनी कतारमा केही वर्ष काम गरेर स्वदेश फर्किने योजनामा छन्।
'स्वदेश फर्केर विकट क्षेत्रमा सेवा गर्न चाहन्छु,' उनले भने।