उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन ‘युद्ध गर्न लालायित छन्’। यो भनाइ संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत निक्की हालेको हो।
पछिल्लो पटक गरेको शक्तिशाली आणविक परीक्षणपछि किम जोङ युद्धका लागि ललकारेको प्रतिक्रिया निक्कीले दिएकी हुन्।
सोमबार न्योयोर्कमा भएको राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक वैठकमा निक्कीले भनिन्, ‘अमेरिका कहिल्यै युद्ध चाहँदैन। तर, यसको धैर्यको सीमा छ।’
योसँगै अमेरिकाले उत्तर कोरिया प्रतिबन्धमा अझै कडाइ गर्न राष्ट्र संघमा नयाँ प्रस्ताव पेश गर्ने भएको छ।
वैठकमा चीनले अमेरिका र उत्तर कोरियाले पुनः वार्ता गर्नुपर्ने सुझाएको छ भने स्वीट्जरल्याण्डले मध्यस्थताकर्ताको भूमिका खेल्ने बताएको छ।
यता दक्षिण कोरिया पनि क्षेप्यास्त्र परीक्षणमा लागेको छ। सोमबारको परीक्षणपछि उसले युद्धाभ्यास सुरु गरेको छ। ‘उत्तरले निहुँ खोज्यो भने हामी तुरुन्त प्रतिकार गर्नेछौं र, समुन्द्रमै खतम गरिदिनेछौं’ भन्ने चेतावनी दिएको स्थानीय योन्हाप न्यूज एजेन्सीले उल्लेख गरेको छ। उत्तर कोरियाले आइतबार गरेको परीक्षणमा प्रतिक्रिया जनाउँदै दक्षिण कोरियाले सोमबार जवाफी परीक्षण गरेको हो।
खबरका अनुसार उत्तर कोरिया नयाँ क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको छ। यी सबै तनाव कम गर्न उत्तरमाथिको प्रतिबन्धमा अत्यन्त कडाइ गर्नुपर्ने राष्ट्र संघको वैठकमा निक्कीले बताएकी हुन्।
अमेरिकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाएपछि दुई देशबीच तनाव चर्किएको हो।
अमेरिकासँगको तनावका कारण उसको क्षेत्र गुआम हमला गर्ने चेतावनी बारम्बार दिदैं आएको छ। यसैक्रममा उसले जापानी आकाश हुँदै क्षेप्यास्त्र प्रहार गरेपछि विवाद झनै चर्किएको हो।