उत्तर कोरियाले आइतबार गरेको शक्तिशाली क्षेप्यास्त्र परीक्षणमा प्रतिक्रिया जनाउँदै दक्षिण कोरियाले सोमबार जवाफी परीक्षण गरेको छ।
सोमबार बिहान गरेको क्षेप्यास्त्र परीक्षणको भिडियो दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेका छन्। भिडियोमा देखिएअनुसार दक्षिणले छोटो दूरीको ‘हाइम्बु’ ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो। एफ १५ लडाकू विमानले आकाशमा हानेको क्षेप्यास्त्र जमिनमै फर्किएको छ।
क्षेप्यास्त्र तोकिएको गन्तव्यमा पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेना प्रमुखले जनाएका छन्।
आइतबार उत्तर कोरियाले आणविक क्षेप्यास्त्र परीक्षण गरेको थियो जुन हाइड्रोजन बम भएको उसले दावी गरेको छ। यो परीक्षण हुँदा छिमेकी देशले कम्पन महशुस गरेका बताएका थिए।
अमेरिका, जापान, दक्षिण कोरियासहित अन्य देशले यो गतिविधिको भर्त्सना गरेका थिए। अमेरिकाले यो कार्य तत्काल रोक्ने चेतावनी दिएको थियो भने जापानले उत्तरविरुद्ध उजुरी नै गरेको छ।
दक्षिण कोरियाले भने यसको प्रतिक्रिया क्षेप्यास्त्र परीक्षण गरेरै दिएको हो।
यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो देशले ‘कडाभन्दा कडा सजाय दिनसक्ने’ बताएका छन्। उनको भनाइ उत्तर कोरियाप्रति लक्षित छ।
केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उत्तरले गर्दै आएका आणविक परीक्षणका जवाफ दक्षिणले किन फर्काउन नसकेको होला’ भनेका थिए।
उत्तर कोरियाको आइतबारको परीक्षण लगत्तै पनि ट्रम्पले ट्वीट गरेका थिए। उनले ट्वीटमा भनेका थिएः ‘दक्षिणले उत्तरसँग शान्तिपूर्ण वार्ता गर्न सम्भव छैन। तिमीहरु (दक्षिण कोरिया) ले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो।’
यसपछि सोमबार बिहानै दक्षिण कोरियाको तर्फबाट यो जवाफी क्षेत्रप्यास्त्र परीक्षण भएको हो।
यसअघि उत्तरका यस्ता परीक्षण सधैं विरोध गर्दै आएको दक्षिण आफैंले जवाफी परीक्षण गर्नु अनौठो मानिएको छ।
संयुक्त राष्ट्र संघसहित अन्तर्राष्ट्रिय समुदायको बारम्बर आग्रह र चेतावनी बेवास्ता गर्दै उत्तर कोरियाले आठ वर्षदेखि आणविक परीक्षण गर्दै आएको छ।
उसले गत साता मात्रै हकाइदो टापूको आकाशमार्ग हुँदै प्रशान्त महासागरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। उसले त्यो प्रहारलाई अमेरिकी भूभाग गुआममा आफ्नो सैन्य कारवाहीको ‘पहिलो कदम’ भनेको थियो।
कोरियाको हर्कत एकदमै गलत भएको भन्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्र संघलाई आव्हान गरेका थिए।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकले कोरियालाई थप क्षेप्यास्त्र प्रहार नगर्न र आणविक हतियार कार्यक्रम रोक्न भनेको थियो।
क्षेप्यास्त्र परीक्षणको प्रतिक्रिया दिदैं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अब उत्तर कोरियाविरूद्ध सबै विकल्प खुल्ला’ रहेको बताएका थिए। यसैपछि उत्तरले जापानी भूभागमा गरिएको परीक्षण गुआम कारवाहीको पहिलो कदम भएको प्रतिक्रिया दिएको थियो।
अमेरिकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाएपछि दुई देशबीच तनाव चर्किएको हो।
अमेरिकासँगको तनावका कारण उसको क्षेत्र गुआम हमला गर्ने चेतावनी बारम्बार दिदैं आएको छ।
अमेरिकाबाट ११ हजार किलोमिटर टाढा गुआम फिलिपिन्स र अमेरिकी राज्य हवाइको बीचमा पर्छ। उत्तर कोरियाबाट भने यो टापू ३ हजार ४ सय ३० किलोमिटरको दूरीमा छ।
अमेरिकी सेनाको हवाई अड्डा रहेको गुआमको सामरीक महत्व छ। यी अड्डाको पहुँच साउथ चाईना सी, कोरिया र ताइवानसम्म छ।