दक्षिण कोरियामा अवैधानिक च्यानल हुण्डी कारोबारीबाट नेपालीहरू ठगिने क्रम बढेको छ।
कठिन काम र व्यस्त समयको फाइदा लुट्दै हुण्डी कारोबारीले सोझा नेपाली मजदुरलाई ठगी गर्दै आएका छन्।
कम शुल्कको प्रलोभन र विश्वासमा पारी नेपालमा पैसा पठाइदिन्छु भनेर हुण्डी कारोबारीले पैसा लिएर १ वर्ष पुरा हुँदा पनि पैसा नदिएको पीडित नेपालीले गुनासो गरेका छन्।
‘रेमिट्यान्स कम्पनीहरु सर्वसुलब हुँदा हुँदै एक दुई हजारको प्रलोभनमा परेर हुण्डीवालाको विश्वासमा परियो। तर, एक वर्ष बित्दा पनि दिएको पैसाको कुनै अत्तो पत्तो छैन,’ पीडित बिनोद सुवेदीले सेतोपाटीसँग भने,‘नेपालमा घर निर्माण गर्ने क्रममा तुरून्त पैसा चाहिएकोले साथीभाइसँग सरसापटी गरेर ७ लाख नेपाली रूपैयाँ पठाएँ। तर हुण्डीवालाले आज हुन्छ, भोलि हुन्छ भन्दा भन्दै एक वर्ष बितासके न नेपालमा पैसा पुग्यो नत कोरियामै फिर्ता दियो। आजकल त फोनसमेत उठ्न छाडेको छ।
‘कोरियाको नाम चलेको संस्थाकै ब्यक्तिबाट ठगिन पुगियो। बाहिर देख्दा संस्थामा अबद्व समाजसेवी जस्तै लागेर विश्वास गरियो। तर, अहिले आएर नराम्रोसँग पैसा डुवाइयो,’ गुल्मीका चन्द्र गौतमले सेतोपाटीसँग आफ्नो गुनासो पोखे।
आफूले २०१७ को डिसेम्बर १३ र १४ तारिखमा नेपाल पैसा पठाउन हुण्डीवालाको खातामा हाल्दिएको रकम मध्ये ३ लाख ५० हजार रूपैयाँ यतिका समय बितिसक्दा पनि नपाएको गुनासो गरे।
उनले आफूसँग पैसा पठाएको प्रमाणसमेत सुरक्षित रहेको भन्दै केही हुन नसकेकोमा दुखेको पोखे।
स्याङ्जाका राजु नौपानेको पीडा पनि उस्तै छ। उनी पनि कोरियाकै नाम चलेको संस्थामा अवद्व ब्यक्तिबाटै ठगिएका छन्। ‘पैसा उठ्छकी भन्ने आशाले कहिँ कतै नभनी चुप बसेँ। तर, एक वर्ष पुग्दा पनि कुनै अत्तोपत्तो छैन। प्रलोभनमा पर्दा नराम्रोसँग ठगियो,’ उनले भने।
गुल्मीका श्याम पुनुवारको पनि कथा उस्तै छ। कोरियाको भिसा सकेर हाल नेपालमा रहेका उनी भन्छ,‘हुण्डीबाट पठाएको ५ लाख रूपैयाँ मध्ये २ लाख १ बर्ष पुग्दा पाइयो, अब बाँकि ३ लाख कहिले पाइने हो अत्तोपत्तो छैन। एक महिना, दुई महिना भन्दाभन्दै नराम्रोसँग डुबियो।’
यद्यपी पैसा तिर्छु भन्ने कागज बनाएको प्रमाण भने आफूसँग सुरक्षित रहेको उनले बताए।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। कोरियामा बिभिन्न प्रलोभनमा परि ठगिने नेपाली प्रसस्तै छन्। यसरि नेपाली ठग्नेहरु प्रायजसो बिभिन्न संघ संथामा आवद्व र बाहिर हेर्दा समाजसेवी ब्याक्तिनै भएको पीडितको गुनासो छ।
उजुरी आए कारवाही हुन्छ - नेपाली दूतावास
पीडितको गुनासोबारे सोलस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा यसरी ठगिएकोबारे आफूहरू अनविज्ञ रहेको प्रतिक्रिया दिए। ‘केही मौखिक जानकारी आएको भए पनि कुनै लिखित निबेदन आएको छैन,’ उपनियोग प्रमुख किरण शाक्यले सेतोपाटीसँग भने, ‘हुण्डी कारोबारलाई नेपालको कानुनले बर्जित गरिरहेको अवस्थामा यसरी आफू ठगिएको प्रमाणसहित उजुरी आएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने छौ।’
हाल कोरियामा रेमिट्यान्सहरू सर्बसुलभ भइरहेको अवस्थामा अवैध हुण्डीको माध्यम रोज्नु आफ्नै पनि कमजोरी रहेको भन्दै उपनियोग प्रमुख शाक्यले दुई चार हजारको प्रलोभनमा अवैध बाटो रोज्नुभन्दा विदेशमा मिहनेतले कमाएको पैसा रेमिट्यान्समार्फत पठाएर एउटा जिम्मेवार नागरिक बन्न कोरिया बासी सम्पूर्णलाई अनुरोध समेत गरे।
नेपाली ठग्ने मनसाय बोकेर कुनै पनि संस्थामा नआउनुस्- लक्ष्मी लामा गुरूङ ( अध्यक्ष एन आर एन ए कोरिया )
कोरियामा बिभिन्न बहानामा नेपालीले नेपाली ठग्ने गरेको एनएनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङको भनाइ छ।
एक दुई जना खराब आचरण बोकेको ब्यक्ति सामाजिक संस्थामा आबद्व हुँदा सिंगो संस्थाको प्रतिष्ठामा आँच आउने भएकोले त्यस्तो ब्यक्ति विसुद्व सामाजिक संथाबाट अलग रहनुपर्ने गुरूङको धारणा छ।
आफूलाई पनि बिभिन्न संघ संघसंथामा रहेकै नेपालीले ठगेको गुनासो आउने गरेको बताउँदै गुरुङले त्यस्ता ब्यक्तिबाट सजक रहन पनि अनुरोध गरिन्। उनले कोरियामा अहिले वैधानिक रूपले पैसा पठाउने माध्यम सजिलो भएकोले सकेसम्म हुण्डीको प्रयोग नगर्नसमेत सुझाव दिइन्।
सेतोपाटीसँगको फोन कुराकानीमा गुरूङले प्रवासमा रहेका नेपालीको रगत र पसिनाको कमाइबाट आएको रेमिट्यान्सले धानिएको सरकारले उक्त देशमा रहेका आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिइन्।
कोरियामा कही कतै आपतविपत पर्यो, कोही गम्भीर बिरामी पर्यो भने नेपालीबीच सहयोग उठाएर उपचार गराउनुपर्ने अबस्था छ। कतिपय अवस्थामा मृतकको शव नेपाल पठाउनसमेत चन्दा संकलन गर्नुपर्ने अवस्था रहेकोसमेत बताइन्। ‘यस्तो अवस्थामा सरकाले रेमिट्यान्सको मात्र आशा गरेर हुँदैन। नागरिकको सुरक्षा तर्फ पनि ध्यान पुर्याउन जरूरि छ,’ उनले थपिन्।
कोरियामा पछिल्लो समय रेमिट्यान्स कारोबार गर्ने रेमिट कम्पनीबीच तिब्र प्रतिस्पर्धा छ। तर, अवैधानिक च्यानल हुण्डी कारोबार यथावत छ।
हुण्डी कारोबारी विरूद्ध नियमन निकाय र दूतावासले सुक्ष्म अध्ययन र आक्रमक कदम नचाल्दा अवैधानिक हुण्डी कारोबार हट्न नसकेको हो।