असल नेताको आगमनले देशको मुहारमात्र नभई छिमेकीसँगको दशकौं लामो शत्रुता अन्त्य गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेका छन् दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन।
उत्तर कोरियासँगको ६५ वर्ष लामो तिक्तता र तनावपूर्ण सम्बन्ध हटाउँदै प्रायद्वीपमा मात्र नभई विश्वलाई वार्तामार्फत् शान्ति र स्थायित्व कायम गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् मुनले।
सन् २०१७ को मे १० मा मुन सत्तामा आउनुअघि कोरियाली प्रायद्वीपको तनावका समाचार अन्तर्राष्ट्रिय मिडियामा छाउने गर्थे।
उत्तर कोरियाली नेता किम जोङ उनले आणविक परीक्षण र क्षेप्यास्त्र प्रक्षेपण तथा अमेरिका र दक्षिण कोरियालाई दिने आक्रमणको धम्कीले कतै विश्वमा अर्को भयंकर युद्ध त हुने होइन भनेर आशंका उब्जिरहन्थ्यो।
मुनको सत्ता आरोहणपछि ती भय हट्दै गएको छ। किमको आणविक आक्रमणको धक्कीले आक्रान्त अन्तर्राष्ट्रिय समूदायलाई राहत मिलेको छ। एक वर्षअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रकेट मेन भनेर किमलाई व्यंग गर्दै मुलुक ध्वस्त पार्ने चेतावनी दिने गर्थे तर अन्तर-कोरिया वार्तापछि ट्रम्पको सकारात्मक ट्विट आउन थालेको छ । ट्रम्पले ट्वीटरमार्फत् कोरियाली प्रायद्वीपमा भइरहेको बदलावले धेरै उत्साहित तुल्याएको ट्वीट गरेका छन्। बाह्र महिनामा आणविक आक्रमणको चेतावनीबाट रेड कार्पेटमा परिणत भएको छ। यसको सबै देन मुनमा जान्छ।
मुनले राष्ट्रपतिको चुनावी अभियानमा वाचा गरेका थिए- म किमलाई भेट्न प्योङयाङ जान्छु र सम्बन्ध सुधार गर्छु। वाचा अनुरूप अगाडि बढेका मुनले एक पटक होइन तीन पटक किमलाई भेटिसके। एघार वर्षपछि पहिलो पटक दक्षिण कोरियाका राष्ट्रपति प्योङयाङ पुगे। प्योङयाङ पुगेर किमलाई अनआणविकीकरणको प्रतिवद्धता जाहेर गराए।
अन्तर–कोरियाली सम्बन्धलाई नयाँ शिराबाट स्थापित गर्नुका साथै दुबै देशलाई जोड्ने रेल सञ्जाल निर्माण गर्ने दिशामा पनि अगाडि बढिरहेका छन्।
सन् १९५० देखि ०५३ सम्म चलेको कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य, पारिवारिक बिछोडमा परेका नागरिकको पुर्नमिलन, सीमा क्षेत्रमा युद्धको भय हटाउने र संयुक्त परियोजना स्थापना गर्ने विषयमा पनि दुई मुलुक सहमत भएका छन्।
सेप्टेम्बर १८ तारिख देखि २० सम्म तीन दिने प्योङयाङ बसाइँमा मुनले यी सफलता हासिल गरे। प्योङयाङमा एक लाख पचास हजार सहभागी कार्यक्रमलाई सम्बोधन गर्दा मुनले उत्तर कोरियाली नागरिको मन जिते।
उनले पाँच हजार वर्ष एकै परिवार भएर बसेका हामी सत्तरी वर्ष बेग्लाबेग्लै भए पनि अब एक हुनुपर्छ भन्दा गडगडाहट ताली बज्यो।
मुनले अमेरिका र उत्तर कोरियाबीचको दूरी अन्त्य गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको सिंगापुर शिखर वार्ता गराउन मध्यस्थताको भूमिका निर्वाह गरी शान्तिप्रेमी नेताको परिचय विश्वसामू प्रस्तुत गरेका छन्। मुनको प्रयासले अहिले अमेरिका र उत्तर कोरियाबीच अर्को चरणको वार्ता हुने देखिएको छ । किमले केही साताअघि पत्र र अहिले मुनमार्फत ट्रम्पसँग वार्तामा बस्न तयार रहको सन्देश पठाएका छन्। अमेरिकाले पनि किमको बदलिदो व्यवहार र निशस्त्रीकरणका लागि गरेको प्रतिवद्धतालाई सकारात्मक रूपमा लिँदै वार्तामा बस्न इच्छा प्रकट गरेको छ।
नेता केवल व्यक्तिगत स्वार्थमा केन्द्रित नभई देश र विश्वलाइ भलो हुने कदम चाल्न पनि पर्छ भन्ने शिक्षा मुनका प्रयासले दिएको छ।
नेपाल पनि भ्रमण गरेका मुनबाट नेपाली नेताले धेरै कुरा सिक्न सक्छन्।