दाइ, कोरियामा त पढाइ सकिएपछि पिआर पाउन सजिलो भए छ नि?
दाइ, पार्टटायमको ग्यारेन्टीसहित ४-५ लाख बुझाएर आउँदा कस्तो हुन्छ?
दाइ, कन्सल्ट्यान्सीबाट अध्ययन भिसामा आउन लागेको, काम पाउन कतिको गारो छ? भाषा कत्तिको चहिन्छ?
* * *
पछिल्लो समय मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को मेसज बक्समा यी र यस्तै प्रश्न दोहरिइरहन्छन्। मात्र पात्रहरू फेरिइरहन्छन्!
दक्षिण कोरिया उच्च शिक्षा अध्ययनका लागि धेरै नेपाली विद्यार्थीको पहिलो रोजाइमा नपर्ने भए पनि विशेषत: स्वास्थ्य, विज्ञान, प्रविधि र इन्जिनियरिङ अध्ययनका लागि कोरिया आफैँमा एक ठूलो अवसर हो। छात्रवृत्तिको अवसर, नवीनतम प्रविधिसँगको साक्षात्कार, नवीनतम विषयमा हुने शोधकार्य आफैँमा हाम्रा लागि ठूलो अवसर हो।
कोरिया, संसारका थोरै मुलुकमध्ये एक हो, जहाँ नेपाली विद्यार्थीहरूले प्राय: सबै राम्रा जर्नलहरूमा आफ्ना सोधकार्य प्रकाशित गरेका छन्। तसर्थ समग्रमा पढ्ने मात्र उद्देश्य राख्ने विद्यार्थीहरूका लागि कोरिया बिस्तारै एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुन पुगेको छ।
नेपालमा हाल इपिएस प्रणालीमार्फत कोरिया आउने साथीहरूको बदलिँदो जीवनशैली, कोरियन फेसन, संगीत र ड्रामाको प्रभाव, विभिन्न पक्षहरूद्वारा कोरियाली अध्यागमनको परिमार्जित नियमको अल्पव्याख्या गरी कोरियाको धरातलीय यथार्थभन्दा फरक किसिमले गरिएको प्रचार र विभिन्न कृत्रिम छात्रवृति र जागिरको आश्वासन कारण सुनौलो भविष्य र ठूलो अर्थोपार्जनको उद्देश्यसाथ नेपाली विद्यार्थीहरूको कोरियामा अध्ययन भिसाको आकर्षण तीव्र रूपमा बढेको छ!
पिआर सम्बन्धमा
कोरियामा पिआर पाउन सजिलोभन्दा पनि यसअघि रहेको दयारालाई केही फराकिलो पारिएको हो। तर, यो अहिले चर्चा भएजस्तो सहज भने छैन। अध्यागमन नियमको पछिल्लो संशोधनले पिआरका लागि इन्जिनियरिङ वा हाइटेक विधामा स्नातक तह अध्ययन गरी अध्ययनसँग सम्बन्धित काममा ती वर्ष रोजगार गरेमा वा कुनै पनि विषयमा स्नातकोत्तर गरी तीन वर्ष रोजगार गरेमा (पढाइको विषयसँग सम्बन्धित नभए पनि हुने) र वार्षिक तलब कोरियाको GNI (हालको २७००० डलर) भएमा मात्र पिआर प्राप्त गर्न सकिने भएको हो ।
पार्टटाइम जागिर
कोरियामा कसैले जागिरको ग्यारन्टी गर्न सक्दैन। आफैँले मिहिनेत गर्नुपर्छ र छात्रवृत्तिबिना कोरियामा अध्ययन अत्यन्त कठिन छ। पढाइसँगै अर्थोपार्जन गर्ने हाम्रो नेपाली मानसिकताभन्दा दक्षिण कोरियाको यथार्थ फरक छ। यहाँ पढाइ वा काम एकलाई मात्र अघि बढाउन सम्भव छ। न्यूनतम, ८०% प्रतिशत कक्षागत उपस्थिति हुनै पर्ने भएकाले दुवैलाई सँगसँगै लग्न असम्भवप्राय: छ। तर यदि भाषामा निपूर्ण भएको र आवश्यक सीप र दक्षता छ भने त्यति धेरै गाह्रो पनि छैन। पार्टटाइमको हकमा अध्यागमन विभागले तोकेको प्रक्रिया पूरा गरी सेमेस्टर चलेको समयमा साताको २० घन्टा तथा जाडो र गर्मी विदाको अवधिमा असीमित काम गर्न पाउने व्यवस्था छ। तथापि विदेशीहरूले गर्ने काम सीमित रहेको हुँदा कोरियन भाषा र सीप अनिवार्य रहन्छ।
छात्रवृत्ति
कोरियाको शिक्षा धेरै महँगो भएकाले छात्रवृत्ति नपाएका विद्यार्थीहरूले आर्थिक रूपमा पनि विभिन्न कठिनाइ भोग्नु परिरहेको अवस्था छ भने विश्वविद्यालयस्तरबाट उचित स्वास्थ्य उपचार बिमाको व्यवस्थान भएकाले बिमारी परेर जटिल खालको उपचार गर्नु परेमा पनि केही कठिनाइ छन्। साथै विभिन्न कन्सल्ट्यान्सीलाई लाखौँ रुपयाँ बुझाएर आएका वा पूर्ण छात्रवृत्ति नभएका विद्यार्थीलाई भिसा नवीकरण गर्न न्यूनतम १२ हजार डलर खातामा रहेको देखाउनु पर्ने र भनेको समयमा काम नपाइने जस्ता समस्याले विद्यार्थीलाई कतिपय अवस्थामा अवैधानिक हुनुपर्ने बाध्यता पनि सिर्जना भएको छ।
भाषा
कोरियामा विशेषगरी अन्डरग्र्याजुएट पढ्न आएका विद्यार्थीहरूलाई सबै विषयको पढाई कोरियन भाषामा हुने भएकाले उनीहरूलाई न्यूनतम लेबल तीन स्तरको भाषा अनिवार्य छ। तथापि मास्टर तथा विद्यावारिधिका विद्यार्थीका लागि यो अनिवार्य रहँदैन। भाषाकै कारण विश्वविद्यालयले प्रदान गर्ने विभिन्न सुविधा तथा कोरियाको रहनसहनमा घुलमिल हुनबाट बन्चित गराइरहेको हुन्छ। कोरियन भाषा कमजोर भएका कारण संवानहीनताको अवस्था सिर्जना भई प्राध्यापक र विद्यार्थीबीच हुने असमझदारी, छात्रवृत्तिमा समस्या, समयमा दीक्षान्त नहुने समस्या सिर्जना हुने गर्दछन्।
तपाईंले आज गर्ने निर्णयमा भविष्य र परिचय निर्भर रहने हुँदा चौतर्फी मार्गनिर्देश र सचेतनाको आवश्यकता रहन्छ। तसर्थ, दक्षिण कोरिया तपाईंको उच्च शिक्षाको अघिल्लो गन्तव्य भएमा लहैलहैमा नलागी आफूले अप्लाई गरेको विषय, छात्रवृत्ति, कलेज र प्रोफेसरबारे राम्रो जानकारी लिएर मात्र आउनु होला।
(लेखक दक्षिण कोरियाको कोरिया एरोस्पेस युनिभर्सिटीमा एरोस्पेस इन्जिनियरिङमा विद्यावारधिका विद्यार्थी तथा नेपाली विद्यार्थी सामाज दक्षिण कोरियाका सभापति हुन्।)