पछिल्लो समय सोलुखुम्बुका राई थरका एक युवाले मध्यान्हको खाना खाइवरी कम्पनीको पाँच तलाबाट हाम फालेर आत्महत्या गरेको घटनाले पुष्टि गरेको छ कि डिप्रेसनको भयावह कुन स्थितिमा पुगेको छ भनेर।
यो साता आत्महत्या, सुतेको अवस्थामा निधन, औद्योगिक दुर्घटनामा क्रमशः राई थरका युवा, लमजुङका होम बहादुर गुरूङ र पाल्पाका २२ वर्षिय छाप बहादुर फाल र म्याग्दीका थम बहादुर थापाको मृत्यु भएको छ। मृतक राईले डिप्रेशनको औषधी सेवन गर्दै आएको बुझिएको छ।
सउलको एक हस्पिटलमा डिप्रेसनमा परेका नेपालीलाई परामर्श दिने गरेका चन्द्र अधिकारीलाई डिप्रेसन रोगीले भनेको ‘मर्ने त मन छैन तर कता कता झुण्डिन डोरी खोजिरहेको हुन्छु’ वाक्याशंले घरको आर्थिक अवस्था उकास्न र भविष्य सुन्दर बनाउन कोरिया आएका नेपाली युवा कसरी डिप्रेसन र त्यसको उत्कर्ष आत्महत्या जस्तो कायरपूर्ण बाटो रोजिरहेका छन् भनेर बुझ्न सकिन्छ।
सन् २००८ मा नेपाल र कोरिया सरकारबीच भाषा परीक्षामार्फत अदक्ष कामदार ल्याउन सम्झौता भएयता विभिन्न खाले दुर्घटना, सुतेको अवस्थामा मृत्यु, डिप्रेसनमा परेका आत्महत्या गर्ने लगायतका कारण १५० भन्दा बढीले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी आत्महत्या गरेर ज्यान फाल्नेको संख्या अधिक नै छ।
एसियाको दोस्रो गरिब देश नेपालमा जन्मेर अभाव र असिमित आवश्थकताले जकडिएको युवा विकासको चरम चुलीमा रहेको कोरिया प्रवेश गर्न पाए जिन्दगी नै स्वर्ग बन्छ होला भने मिठो सपना बुनेका हुन्छन्।
भाषा परीक्षा पास भएको केही महिना या वर्ष भनौ उसको भिसा लागेपछि उसको मनमा आफ्नो महत्वकांक्षा र समस्याका चाङ पार हुने आशा पनि गर्छ।
अफसोच उसका नेपालका केही समस्या त पार लाग्छ भनौ आर्थिक हिसावले उ सम्पन्न बन्छ । तर नेपालबाट रोपिएको डिप्रेसनको घाउ भने केही मत्थर भए पनि समयको अन्तरालमा यहाँका नयाँ खाले समस्याबाट ऊ पीडित हुनथाल्छ।
नेपालको वितृष्णायुक्त राजनीतिक अवस्था, अस्तव्यस्ता, अभाव र सिस्टमबिहिन सरकारी कार्यलयबाट वाक्क भएर डिप्रेसनको भारी लिएर आएको नेपाली युवा यहाँको कठोर काम, भाषा, फरक शैलीको जिवन, संस्कृतिमा घुलमिल हुन नसक्दा डिप्रेसनको भारी फेरी थपिन्छ।
दैनिक आठदेखि चौध घण्टा एकोहोरो कामले मासिक कमाई भुलेर आफ्नो फुर्सदिलो जीवन र साथीसँग विताएका समयमा रुमलिन पुग्छ। सधै एउटै काम त्यही पनि बिहान गएर साँझ अबेरसम्म जसका कारण ऊ काम बाहेक अरू सोच्न फुर्सद पाउँदैन।
त्यसैमा राम्रोसँग काम गरेन भनेर कोरियन साहु, म्यानेजरले छिटो छिटो गर भन्दा ऊ अझ तनाबमा पर्छ। भनौ उसको डिप्रेसनको तह बढ्दै जान्छ। कोरियामा कडा मिहिनेत र लगनशिलका साथै छिटो छिटो काम गर्ने कामदार नै उत्कृष्ट गनिन्छ।
जसले गर्दा पाँच दशक अघि नेपालको हाराहारीमा रहेको मुलुक आज विकसित भएको छ ।
एकोहोरो काम, फरक आचरणका साथीसँगको बसाई अनि घर परिवारबाट आउने विभिन्न खाले समस्यायुक्त फोन र सामाजिक सञ्जालमा पोष्ट हुने नैराश्यताका सन्देशले उसलाई तनावपूर्ण बनाउँछ।
आफ्ना मनका कुरा पोख्न समेत पनि साथी नभेटाउने या उसका कुराप्रति साथीहरुले हाँसो मजाक गर्दा ऊ एक्लो बस्न रुचाउँछ। अनि साथीभाई, परिवार र समाजबाट टाढा हुन थाल्छ। जीवन निरर्थक ठान्दै गएपछि अन्तिम विकल्प आत्महत्या ठान्छ र सोहि गर्छ।
कसैलाई धेरै स्त्री साथीसँगको संगत र उठबसले त्यो स्थानमा पुर्याएको छ भने कोहि जुवा तास र क्यासिनोमा ठूलो राशीमा रकम हारेपछि आत्महत्याको बाटो रोजेका छन्।
त्यस्तै केही गाह्रो काम परिवर्तन गर्न खोज्दा कम्पनीबाट रिलिज लेटर नदिएको र घर जान बिदा नदिएको भन्दै आत्महत्या गर्ने गरेका छन्।
कोरियामा बढ्दो नेपालीको मृत्यु, आत्महत्या र डिप्रेशनप्रति नेपाल सरकार त्यति संवेदनशिल भएको देखिदैन। रेमिट्यान्स घट्यो या बढ्यो भन्नेमा मात्र ध्यान दिने सरोकारवाला निकाय विदेशमा आफ्नो नागरिकको अवस्था कस्तो छ भनेर हेक्का गरेको भेटिदैन।
यहाँसम्म कि सुतेको अवस्थामा हुने अप्रत्यासित निधन र आत्महत्याको कारण खोज्न आएको सरकारी चिकित्सकसहितको टोलीले कोरियाको स्थलगत अवलोकन गरेर गएको ४ महिना हुँदासम्म सत्यतथ्य रिपोर्ट अझै सार्वजनिक गरेको छैन।