पछिल्लो समय सुधारोन्मुख रहेको दुई कोरियाबीचको सम्बन्धले स्थायित्व पाउने भएको छ।
आगामी बुधबार उच्चस्तरीय वार्ताको निम्ति दुई कोरिया तयार भएका छन्।
गत महिना दुवै कोरियाली नेताहरूले ऐतिहासिक रुपमा राखेको स्थायी शान्तिको प्रस्तावलाई निरन्तरता दिँदै उच्चस्तरीय शिखर वार्ताको लागि मिति तय भएको दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ।
वार्ता दुई कोरियाली सीमा क्षेत्र पानमुनमुन्जोम गाउँमा हुने बताइएको छ।
शिखर वार्ताको निम्ति उत्तर कोरियाले शान्ति तथा एकता विभागका अध्यक्ष रि सोन वनको नेतृत्वमा २९ जनाको टोली पठाउने निर्णय गरेको छ।
वार्ताले गत अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन तथा उत्तर कोरियाली नेता किम जोङ् उनबीच प्रत्यक्ष्य भेटमा राखेको प्रस्तावलाई निरन्तरता दिने छ। यस पटकको शिखर वार्तापछि कोरियाली प्रायद्विपमा स्थायी शान्ति कायम हुने अपेक्षा गरिएको छ।