शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगेका थिए।
उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषदमा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गर्ने निर्णय पनि भयो ।
सोही बमोजिम दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगेका हुन् । उनको यो स्वागत कार्यक्रमको सबैजसो सञ्चारमाध्यमहरुले समाचार दिए र यहाँका टिभीहरुले त्यसको फुटेज पनि देखाए।
शुक्रबार उद्घाटन भएको शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाको तर्फबाट किम योङ नाम पुगेका थिए। उनी उत्तर कोरियाको संसदका प्रमुख हुन्।
उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि थिइन्। उनी उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुन्।
यस उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट गरेको छ । यस भेटलाई दुवै देशका मिडियाले प्रचार गरेका छन् ।
यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।
यस भेटका बारेमा उत्तर कोरियाले पहिले नै कुनै समाचार दिएको थिएन । तर उसले अमेरिकासँग हुने भनेको भेटको बारेमा भने पहिले नै अस्वीकार गरेको थियो।
यो भेट सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट भएको यो स्तरका पहिलो भेट हो । यसले उनीहरुबीचको भेटका क्रममा भएको कुनै कुराकानी भन्दा पनि पहिलो महत्वपूर्ण काम भन्ने भएको छ।
त्यस भेटका क्रममा दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरियाली राष्ट्रपतिका तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा दिइएको थियो ।
उत्तर कोरियाली नेता किमका तर्फबाट उनकी बहिनीले सो निमन्त्रणा दिएकी हुन्। दक्षिणका राष्ट्रपति इनले उत्तरको भ्रमण गर्ने, नगर्ने वा कहिले गर्ने भन्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
तर पनि आजसम्म शत्रुतापूर्णजस्तै अवस्था रहेका यी दुई देशका बीचमा राष्ट्रपतिस्तरमा नै भ्रमणका लागि यो आमन्त्रण गर्नुले सम्बन्ध सुधारमा आशा जगाएको भने धेरैले बताएका छन्।
आइतबारसम्म दक्षिण कोरियामै रहने उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेससँग पनि गत शुक्रबारै संक्षिप्त भेट गरेका थिए।
संयुक्त राष्टसंघका उपप्रवक्ता फराहन हकले उक्त भेटवार्तामा कुनै कुराकानी नभएको भए पनि यो भेटलाई महत्वपूर्ण रहेको बताए।
विगत लामो समयपछि भएको यस भेटघाटबाट दुई कोरियाबीचमा सम्बन्ध सुधार हुने अपेक्षा गरिएका कोरिया र अन्य विदेशी मिडियाले पनि विश्लेषण गरेका छन् ।