५ दिनको अवधिमा भारतमा ११ हजार बढी कोरोनाका नयाँ संक्रमित थपिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यसैगरी यस अवधिमा(मंगलबारसम्म) ५ सय २६ जनाको संक्रमणका कारण ज्यान गएको छ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो बुधबार बिहानसम्मको तथ्यांक अनुसार २ हजार ९ सय ५८ जना नयाँ संक्रमित भेटिएका छन् भने १ सय २६ जनाको मृत्यु भएको छ।
यो सँगै देशभर कुल संक्रमित संख्या ४९ हजार नाघेको छ भने मृतक संख्या १ हजार ६ सय ९४ पुगेको छ।
त्यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार २० जना संक्रमित निको भएको बताएको छ।
देशभर कोरोना निको हुने संख्या १४ हजार १ सय ८२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले मंगलबार प्रेस ब्रिफिङ्मा भारतमा कोरोना निको हुने दर २८.१७ प्रतिशत भएको जानकारी दिएका छन्।
मंगलबार मात्र दिल्लीमा २ सय ६ नयाँ संक्रमित फेला परेका थिए।
देशको १०.३ प्रतिशत संक्रमित दिल्लीमा छन्। यस क्षेत्रमा मात्र ६४ जनाको संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै महाराष्ट्र, गुजरात, तमिलनाडु र पश्चिम बंगालमा समेत नयाँ संक्रमित दर संख्या वृद्धि भइरहेको छ। तुलनात्मक हिसाबमा यी क्षेत्रमा संक्रमण संख्या बढी छ।
देशभरका संक्रमित मध्ये १४.३ प्रतिशत तमिलनाडुमा छन् भने १७.७७ प्रतिशत पन्जाबमा छन्।
महाराष्ट्रमा मात्र मृत्यु हुने संख्या ५ सय ८३ छ। यसलाई पछ्याउदै गुजरात छ जहाँ ३ सय १९ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
यस्तै मध्य प्रदेशमा मृतक संख्या १ सय ७६ पुगेको छ भने पश्चिम बंगालमा १ सय ३३ पुगेको छ।
विज्ञहरूका अनुसार कोरोना भाइरसको प्रकोप अझै आउन बाँकी नै छ। आउँदो ४ देखि ६ हप्तामा हिउँदको मौसममा भारतमा थप संक्रमण संख्या वृद्धि देखिने सम्भावना छ।