भारतमा मगंलबारसम्म कोरोना भाइरसबाट ३० हजार बढि मानिस संक्रमित पुष्टि भएको छ।
विश्वव्यापी यो महामारीमा हालसम्म भारतमा मात्र एक हजार बढीको ज्यान गइसकेको छ।
राज्यका स्वास्थ्य विभागहरुको तथ्यांक अनुसार भारतभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ३२९ पुगेको छ भने १ हजार ७ जनाको मृत्यु भएको छ।
मंगलबार मात्रै ७४ जनाको ज्यान गएको छ। यो संख्या दैनिकी ज्यान गुमाउने संख्यामा हालसम्मकै उच्च हो।
सोमबार मात्र संक्रमणका कारण ५४ जनाको मृत्यु भएको थियो।
३० हजार बढी संक्रमित मध्ये १० हजार संक्रमित पछिल्लो ७ दिनमा थपिएका हुन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र र गुजरात राज्य प्रभावित छन्। यी क्षेत्रमा लकडाउनकाबिच जारी नै संक्रमितको संख्या बढिरहेको छ।
भारतका प्रमुख स्वास्थ्य अधिकारीहरूले आगामी दिनहरूमा भारतले कस्ता निर्णयहरु पछ्याउदा संक्रमण नियन्त्रण गर्न प्रभावकारी हुन्छ छलफल हुने बताएका छन्।
भारतले संक्रमण कम देखिएका र नियन्त्रणमा रहेका केही क्षेत्रहरुमा लकडाउनका प्रतिबन्धहरु सहज बनाएको छ।
'अहिलेको समयमा हामी हाम्रो ध्यान कुन क्षेत्रमा संक्रमण बढ्न सक्ने जोखिम कतिको छ बुझ्नमा केन्द्रित गर्नुपर्छ। उच्च जोखिम भएका क्षेत्रलाई हामी रेड जोन भन्छौं', अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)का निर्देशक डाक्टर रणदीप गुलेरियाले भने, 'यी क्षेत्रमा थप कडाइपूर्व संक्रमण नियन्त्रण योजनाहरू बनाउँनु जरुरी हुन्छन्। यी क्षेत्रबाट संक्रमण जोखिम नभएका क्षेत्रमा संक्रमण नपुगोस् भन्नका लागि थप कडाइ आवश्यक छ। जोखिम नभएका क्षेत्रलाई हामी हरियो क्षेत्र भन्छौं।'
'हामीले यी क्षेत्रहरूलाई सफलतापूर्वक छुट्याउनका लागि व्यवस्थापन गर्नु जरुरी छ, तब मात्र हामी संक्रमण संख्याको वास्तविक अवस्था बुझ्न सक्नेछौ।' उनले हिन्दुस्तान टाइम्ससँग भने।