अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जितेका अर्थशास्त्री अभिजित बिनायक बेनर्जीले जारी लकडाउनबाट सबैभन्दा धेरै प्रभावित भएका लाखौं भारतीयप्रति भारत अझै बढी उदार हुनुपर्ने बताएका छन्।
उनीहरूलाई भारतले अझै राहत दिनुपर्ने उनको भनाइ छ।
'हामीले नजिकबाट हेर्ने हो भने पर्याप्त केही गरेका छैनौं', बेनर्जीले भने।
मार्च २४ देखि भारतीय सरकारले लकडाउन गरेपछि सरकारले २३ बिलियन अमेरिकी डलरको राहत प्याकेज घोषणा गरेको छ।
यसको अधिकांश हिस्सा गरिबहरुलाई नगद दिन र खाद्यन्नको व्यवस्थामा गएको छ।
'हामी कोही पनि भोकै रहेको हेर्न चाहन्नौ र हामी उनीहरूको हातमा पैसा नभएको पनि हेर्न चाहन्नौं', राहत प्याकेज घोषणा गरेपछि अर्थमन्त्री निर्मला सितारमणले भनेकी थिइन्।
अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका प्राध्यापक बेनर्जीका अनुसार भारतीय सरकारले अपनाएका प्रणालीहरु केही समयका लागि र केही हदसम्म उचित छन्।
'तर लकडाउन कथाको अन्त्य होइन। कोरोना भाइरसको भ्याक्सिन नआउन्जेलसम्म यो लामो समयसम्म हामीसँगै रहिरहन्छ।' मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अर्थशास्त्रीले भने, 'भारतले अब के गर्ने भन्नेबारे स्पष्ट योजना सोच्न आवश्यक छ। कोरोना भाइरस थप सक्रिय भएको छ र थुप्रैले रोजगार समेत गुमाएका छन्।'
प्राध्यापक बेनर्जीले भारतीय सरकारले राहत खर्चमा ध्यान दिनु जरुरी रहेको र लकडाउनका कारण गरिबीको मारमा परेका मानिसहरूका लागि बढि खर्च गर्नुपर्ने बताएका छन्।
ती व्यक्तिहरुलाई राहत स्वरुप पैसा नै दिएमा उनीहरुलाई थप हौसला मिल्ने उनको भनाइ छ।
उनले यतिबेला जनतालाई आश्वासनको आवश्यकता रहेकाले सरकारले जनतालाई विश्वास दिलाउन सक्रिय हुनुपर्ने बताएका छन्।
भारतले यस प्रकारको सुविधाहरुका लागि पैसा छाप्न डराउन नहुने जनाए।
'अमेरिकाले उसले पैसा छाप्न र खर्च गर्न सक्ने दृष्टिकोण लिएको छ। भारतले त्यसै गर्न किन नहुने?', उनले भने।
'सामान र सेवाको धेरै वितरण नभएकाले मुद्रास्फीति आउँला भन्ने डर होला। तर आयमा रहेको खाडललाई कम गर्ने भारतले केही त गर्नुपर्छ। सरकार पैसा खर्च गर्ने कुरामा आक्रामक हुनुपर्छ', उनले थपे।
नयाँ संक्रमण र मृत्यु नहुनेगरी तथा पुनः लकडाउन गर्नु नपर्नेगरी वितरण प्रणाली कसरी खोल्न सकिन्छ भन्ने कुरा भारतका लागि चुनौती भएको बेनर्जीको बुझाइ छ।
विश्व बैंकले २०२०-२१ मा भारतको अर्थतन्त्र १.५ देखि २.८ प्रतिशतको बीचमा मात्र बढ्ने अनुमान गरेको छ।
एक स्वतन्त्र अध्ययनले बेरोजगारी तीव्र रूपमा वृद्धि भइरहेको जनाएको छ।