अप्रिल ३ मा बोर बजार प्रहरी चौकीका सईले ४० वर्षका एक माग्नेलाई कोलकाताको केन्द्र मानिने जोगेन्द्र कविराज रोको फुटपाथमा ज्वरो आइरहेको र सास फेर्न कठिन भइरहेको अवस्थामा भेट्टाए।
ती व्यक्तिलाई तुरुन्तै एनआरएस मेडिकल कलेजको अस्पतालमा लगियो। स्वाब परीक्षण गरियो।
परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनलाई कोभिड-१९को अस्पतालमा स्थानान्तरण गरियो।
कोलकाताको टुक्रापट्टी क्षेत्रमा त्यस्तै किसिकमका अर्का एक बिरामी भेटिए।
त्यहाँका स्थानीयहरूले घरविहिन एक ६० वर्षीय पुरूषलाई अप्रिल १ मा कोरोना भाइरसको लक्षणसहित भेटिएको रिपोर्ट गरेपछि उनलाई स्थानीय अस्पतालमा लगियो। उनलाई अप्रिल ६ मा सरुवा रोग अस्पताल पुर्याइयो। त्यहाँका वरिष्ठ चिकित्सकले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरे।
कुनै यात्रा इतिहास नभएका र संक्रमितसँग सम्पर्कमा आएको पनि थाहा नभएका यी दुई जनामा कोरोनाको संक्रमण देखिएपछि भारतमा कोरोनाको संक्रमण तेस्रो चरणमा प्रवेश गरेको आशंका गरिएको छ।
'सडकमा बस्ने मगन्तेहरूको सम्पर्क रेखा पछ्याउन गाह्रो पर्छ। ती मगन्तेहरूलाई बितेका केही दिनहरूमा कयौं मानिसहरू (जसमा निजी स्वयंसेवीहरू पनि पर्छन्)ले खाना दिइरहेका छन्', कोभिड-१९ टोलीमा रहेका एक विशेषज्ञले भने।
कोलकोतामा रहेको बालबालिकासम्बन्धी स्वास्थ्य इन्सिच्यूटका एसोसियट प्रोफेसर डा. सुमन पोद्दारले भने-मिडिया रिपोर्टहरूलाई आधार मान्ने हो भने हामी सम्भवतः संक्रमणको तेश्रो चरणमा प्रवेश गरिरहेका छौं। यद्यपी आधिकारिक रूपमा हामी दोश्रो चरणमा नै छौं',
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने रोगको स्रोत थाहा हुन नसकेकाले कोरोनाको सामुदायिक संक्रमण भएको भन्ने कुरालाई खारेज गर्दै आइरहेको छ।
तर थुप्रै विशेषज्ञहरूले सरकारले संक्रमणको स्रोत पछ्याउन असफल भएकोतर्फ औंल्याइरहेका छन्।
पञ्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले आफ्नो राज्यमा कोरोनाको सामुदायिक संक्रमण भएको पुष्टि गरिसकेका छन्। उनले संक्रमणका १५ प्रतिशत केसहरू सामुदायिक संक्रमण भएको दाबी गरेका छन्।
त्यसको एकदिनपछि प्रमाणित भएका सातमध्ये दुई संक्रमितको कुनै यात्रा इतिहास वा सम्पर्क छैन। यी दुई संक्रमितमध्ये एक पञ्जाव निजामती सेवामा रहेका एक कर्मचारीका माली हुन भने अर्का व्यक्ति लक डाउनपछि काममा फर्किएका पठानकोट जिल्लानिवासी ट्रक चालक हुन्।
यसैगरी हरियाणाका अधिकारीहरूले राज्यमा प्रमाणित १६२ संक्रमितमध्ये २ प्रतिशत संक्रमित सामुदायिक संक्रमित भएको हुनसक्ने जनाएका छन्।
त्यसमा आफ्ना दुई बालबच्चासहित संक्रमण भेटिएका ३२ वर्षीय पुरूष पनि रहेका छन्।
अम्बालामा पनि कुनै यात्रा विवरण नभएका एक ६७ वर्षीय पुरूषको अप्रिल १ मा कोभिड-१९ बाट मृत्यु भएको जनाइएको छ।
त्यहाँका अधिकारीहरूले ती सबै केसमा आफूहरूलाई संक्रमितको सम्भावित सम्पर्कको रेखा थाहा भएको बताएका छन्।
यस्तै नेपालको सीमा जोडिएको बिहार राज्यका अधिकारीहरूले राज्यमा भेटिएका ६० संक्रमितमध्ये १० प्रतिशतको पनि सम्पर्क रेखा पूरा गरेका छैनन्। यसमा ४ जना संक्रमित बेङ्गुसरायबाट रहेका छन् भने बाँकी दुई जना नवादा र पटनाबाट रहेका छन्।
'हामी उनीहरूको यात्रा विवरण पत्ता लगाइरहेका छौं' बिहारका प्रमुख स्वास्थ्य सचिव संजय चौधरीले भने।
उनले सामुदायिक संक्रमणको सम्भावनालाई भने अस्वीकार गरेका छन्।
यस्तै झारखण्ड राज्यमा पनि एक संक्रमितको यात्रा विवरण पत्ता लगाउन सकिएको छैन्। उत्तराखण्डमा पनि ३५ संक्रमितमध्ये ७ जनाको सम्पर्क विवरण पत्ता लगाउन अझै सकिएको छैन्।
(हिन्दुस्तान टाइम्सबाट)