भारतले पुनः आफ्नो मुलुकमा कोरोना भाइरसको संक्रमण सामुदायिक स्तरमा सरेको प्रमाण नभेटिएको दाबी गरेको छ।
उसले शुक्रबार यस्तो दाबी गरेको हो।
बिहीबार त्यहाँ १६ हजार २ जनाको कोभिड-१९को परीक्षण गरिएकोमा मात्र २ प्रतिशतमा संक्रमण भेटिएको छ।
भारतले कोरोना भाइरसको महामारी तेश्रो चरणमा प्रवेश गरे सोको जानकारी दिने विश्वास दिलाएको छ।
इन्डियन काउन्सिल फर मेडिकल रिसर्च(आईसिएमआर)ले गरेको अनियमित नमुना परीक्षणले कोरोनाको संक्रमण सामुदायिक रुपमा फैलिएको भन्ने मिडिया रिपोर्टमा प्रतिक्रिया जनाउँदै भारत सरकारले संक्रमण त्यसरी नफैलिएको दाबी गरेको हो।
भारतको स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले आईसिएमआरले गरेको अध्ययन नयाँ ठाउँको नभई पहिला नै संक्रमण देखिएको क्षेत्रमा भएको बताएका छन्।
उनले सो अध्ययनले संक्रमणदर १.८ प्रतिशत देखाएको पनि बताएका छन्।
अग्रवालले भारतमा कोरोना भाइरसको संक्रमण उच्च नभएपनि गतिशिल अवस्थामा रहेको बताए।
पछिल्लो विवरण अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार नाघेको छ। त्यहाँ हाल सम्म ७ हजार ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको टाइम्स अफ इण्डियाले जनाएको छ।
यसगरी त्यहाँ २३९ जनाको संक्रमणबाट ज्यान गएको छ।