फ्रान्सले कोरोना भाइरसबाट हुने दैनिक मृत्युमा कमी आएको जनाएको छ।
शनिबार उसले देशमा कोरोना भाइरस संक्रमणदर स्थिर हुने क्रममा रहेपनि अझै उच्च रहेको बताएको छ।
फ्रान्सका स्वास्थ्य अधिकारीले जारी गरेको एक विज्ञप्तिमा बितेको २४ घण्टामा संक्रमणबाट अस्पतालमा ३ सय ४५ जनाको र नर्सिङ होममा २ सय ९० जना गरी बितेको २४ घण्टामा ६३५ जनाको ज्यान गएको जानकारी दिएको छ।
फ्रान्समा कोरोनाका कारण हालसम्म १३ हजार ८ सय ३२ जनाको मृत्यु भइसकेको छ।
अघिल्लो दिन त्यहाँ कुल ९ सय ८७ जनाको कोरोनाबाट मृत्यु भएको थियो।
फ्रान्स मार्च १७ देखि लकडाउनमा रहँदै आएको छ।
यसैगरी त्यहाँ लगातार तेश्रो दिन सघन उपचार कक्षमा आउने विरामीको संख्या घटेको छ। ६ हजार ८ सय ८३ संघन उपचार युनिट रहेकोमा हाल १ सय २१ जनाले संघन कक्षमा उपचार गराइरहेका छन्।
फ्रान्समा हालसम्म ९० हजार ६ सय ७६ जनामा कोरोना भाइरस कोभिड-१९को संक्रमण पुष्टि भएको छ। यध्यपी परीक्षण अभाव रहेकाले वास्तविक संख्या अझै बढी हुनसक्ने अनुमान गरिदैं आइएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने र देशमा १५ अप्रिलसम्मलाई तोकिएको लकडाउनलाई बढाउने बताइएको छ।