मगर समाज फ्रान्सले मगरहरूको मुख्य चाड माघे संक्रान्ति पर्ब विशेष समारोहको आयोजना गरी मनाएको छ।
राजधानी पेरिसमा बस्ने आम नेपाली दाजुभाई तथा दीदीबहिनीका साथ सामूहिक रूपमा २० जनवरीमा भव्यताका साथ माघी मनाएको हो।
समारोह समाजका अध्यक्ष रमेश थापा र मुख्य अतिथि फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लूईँटेल मानन्धरले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको सुरूवात गरेका थिए।
समाजका उपाध्यक्ष बिष्णु सारू मगरले स्वागत मन्तब्य दिँदै मगर जाति र माघे संक्रान्तिको बारेमा प्रकाश पारेका थिए।
माघे संक्रान्तिमा खाईने परिकारहरु तरूल, तिलको लड्डू, चाकु, सेल रोटी अचारसहित स्वादिस्ट भोजन गराइएको थियो।
समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बहीनीलाई संयोजन गरी तयार पारेको मौलिक नृत्य कला प्रस्तुत गरिरँहदा आम दर्शकले आफू स्वदेश मैं भएको अनुभूति गरेका थिए।
कार्यक्रममा मगर समाज फ्रान्सले बिगत लामो समयदेखि फ्रान्सलाई कर्मभूमी बनाउँदै आएका हरिहर अर्याललाई सम्मान गरेको थियो।
उनले फ्रेन्च नेपाली भाषामा पुस्तक लेखेर समाजलाई लेखनका माध्यमबाट नेपाली साहित्य र संस्कृतिको संरक्षण गरेको भन्दै समाज विशेष नागरिक सम्मान गरिएको आयोजकले जनाएको छ।
उनलाई राजदूत अम्बिकादेवीले सम्मानपत्र दिएकी थिइन् भने संस्थाका अध्यक्षले दोसल्ला ओढाएका थिए।
सम्मानपछि बोल्दै अर्यालले जीवनको यो मोडमा आइपुग्दा आफूले गरेको योगदानको कदर भएकोमा मगर समाज फ्रान्सलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो। बिश्व मगर संघ बेल्जीयम संयोजक नेत्र थापा मगर र बेल्जीयम मगर संघकी सचिव सुशीला रोका मगरको पनि उपस्थिति थियो।
राजदूत अम्बिकाले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यही जन्मिएर हुर्कँदो पूस्ताले आफ्नो मौलिक कला संस्कृतिको मूल्य मान्यताबारे जानकारी पाउने बताइन्।
समारोहमा नेपालका कलाकारद्वय जुना श्रीस मगर र बीलन थापा मगरको प्रस्तुति थियो।