केही वर्ष अघिदेखि विदेशमा बस्ने फ्रेन्च नागरिकलाई मतदानमा सहभागी गराउनुपर्ने आवाज उठ्यो। परिणाम स्वरुप सन् सा २००८ मा त्यस सम्बन्धि कानुन बन्यो।
सन् २०१२ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पहिलो पटक फ्रेन्च नागरिहरू बसोबास गर्ने विश्वका सबै देशहरुलाई ११ भाग (निर्वाचन क्षेत्र) मा विभाजन गरियो। विभाजनको आधार थियो : हरेक देशमा बस्ने मतदाता संख्या। विश्वभरमा जम्मा करिब १५ लाख फ्रेन्च मतदाता रहेकोमा यही १५ लाख मतदातालाई ११ भागमा बाँढियो। यी ११ वटा क्षेत्रलाई फ्रान्स बाहिरका निर्वाचन क्षेत्र भनिन्छ। अर्थात ५७७ सदस्य रहेको फ्रान्सको प्रतिनिधिसभामा ११ जना प्रतिनिधि सभाका सदस्यहरू गैर आवासीय फ्रेन्च नागरिकहरुको मतद्वारा निर्वाचित हुन्छन्।
एउटा निर्वाचन क्षेत्र २ वा २ भन्दा बढी देश मिलेर बनेको हुन्छ। फ्रान्स बाहिरको निर्वाचन क्षेत्र नम्बर १ मा अमेरिका र क्यानडा पर्छन् भने फ्रान्स बाहिरको निर्वाचन क्षेत्र नम्बर ११ मा नेपाललगायत एसियाका ४९ देश समेटिएका छन्। यस्ता हरेक निर्वाचन क्षेत्रबाट १/ १ जना सांसद निर्वाचित हुन्छन्।
सम्बन्धित देश वा छिमेकी देशमा भएका फ्रेन्च राजदूतावास वा कल्सुलरमा मतदान केन्द्र राखिएका हुन्छन्। तोकिएका मतदान केन्द्र अन्तर्गतका मतदाताहरुले आफैं उपस्थित भएर वा अधिकार प्रत्यायोजनद्वारा मतदान गर्छन्।
गत साल भएको फ्रासको प्रतिनिधिसभाको निर्वाचनमा दोस्रो पटक फ्रान्स बाहिरका ११ निर्वाचन क्षेत्रबाट ११ सांसद निर्वाचित भए। नेपाल, भारतलगाएत एसियाका ४९ देश मिलेर बनेको निर्वाचन क्षेत्र नम्बर ११ बाट अन्ने जेनेटेट निर्वाचित भइन्। यसरी निर्वाचित सांसदले आफ्ना क्षेत्र अन्तर्गत पर्ने देशमा बस्ने फ्रेन्चको आवाजलाई संसदमा उठाउने गर्छन्।
बिदेशमा काम गर्ने नेपालीलाई पनि निर्वाचनमा सहभागी गराउने कुरा उठिरहेको सदर्भमा फ्रान्सको यो मोडेललाई एउटा विकल्पको रुपमा छलफलमा ल्याउन सकिन्छ।