माथिको तस्बिरमा देखिने यी ब्यक्तिको नाम हो एलेक्सजेन्डर बेनाला हो। गत जुलाई १७ देखि हालसम्म फ्रान्सका राष्ट्रिय मिडिया यिनैका समाचारले भरिएका छन्।
अदालतमा बहस जारि छ, प्रहरीको सोधपुछ जारि छ। यिनै ब्यक्तिको कारण संसदमा संविधान संशोधन सम्बन्धी बहश पटक पटक स्थगित भएको छ। बिपक्षीहरूले संसद अवरुद्द गरिरहेका छन्। सामाजिक सञ्जाल यी ब्यक्तिकै फोटाहरु र समाचारले भरिएका छन्।
गृहमन्त्रीलगायत उच्चस्तरका सबैजसो सुरक्षा प्रमुखले संसदीय समितिमा जवाफ दिइसकेका छन्। गृहमन्त्रीको राजीनामा माग भइरहेको छ। सबैजसो पार्टीका उच्च नेताहरुले यसबारेमा आफ्नो धारणा दिइसकेका छन्। तर यो चर्चा सेलाउन अझै केही दिन लाग्ने देखिन्छ।
कारण: हरेक वर्ष जस्तै मे १ तारिकमा पेरिसमा भएको प्रदर्शनमा दंगा मच्चाउन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रण लिने प्रयास गर्दै थिए। सो दिन पर्यवेक्षकको रुपमा सुरक्षाकर्मीसँगै खटिएका राष्ट्रपतिका अंगरक्षक बेनालाले ती दुई आन्दोलनकारीमाथि भौतिक आकर्मण गरे र नियन्त्रणमा लिए।
यसरी नियन्त्रणमा लिने क्रममा हातपात गरिएको भिडिओ जुलाई १७ मा सार्वजनिक भयो। यो भिडिओको कारणनै अहिले फ्रान्समा ठूलो हङ्गामा भइरहेको छ।
गत दुई वर्षदेखि हालका राष्ट्रपतिको प्रमुख अंगरक्षकको रूपमा काम गर्दै आएका उनले त्यसअघि समाजवादी पार्टीका उच्चस्तरका नेताहरुको अंगरक्षकको रुपमा काम गरिसकेका थिए।
फ्रान्समा एक ब्यक्तिले अर्को ब्याक्तिलाई पिट्नु अपराध मानिन्छ। अझ त्यसमा पनि सुरक्षा निकायमा रहेको ब्यक्तिले प्रतिरक्षाको अवस्थामाबाहेक अन्य अवस्थामा हातपात गर्नुलाई अझ ठूलो अपराध मानिन्छ।
यही मान्यताका (कानुन) आधारमा यो विषयले यति धेरै चर्चा पाएको हो। घटनाको अर्को दिन (दुई मे) मा नै बेनालालाई विभागीय कारवाही गरिएको थियो। तर, बिपक्षीका अनुसार सरकारले घटनालाई ढाकछोप गर्न खोजेको र यस्तो गम्भीर प्रकृतिको घटनामा विभागीय कारवाही गर्न नहुने तर्क राखे। फलस्वरूप अदालतमा यो मुद्दा चलिरहेको छ।
यहाँ स्कुलमा शिक्षकले विद्यार्थी पिट्दैन्, घरमा बुवा आमाले छोरा छोरी पिट्दैनन्, पुलिसले अभियुक्तहरू पिट्दैन, एक आपसमा झगडा गर्दा मानिसहरु यति सचेत हुन्छन् कि पहिलो पटक आफूले नपिटियोस्, झगडा गर्ने क्रममा प्राय जसो मानिसहहरुले आफ्ना हात पछाडि राखेका हुन्छन्।
यसो भइरहँदा मानिसहरू अरुलाई पिट्ने कुरा एउटा ठूलै घटनाको रुपमा लिन्छन् चाहे त्यो आफ्नै छोराछोरीको हकमा किन नहोस्।
हाम्रो समाजमा एकले अर्कोलाई पिट्ने कुरालाई सहजै लिने चलन छ। गृहकार्य गरेन, बुवा आमाले भनेको मानेन, पुलिसले सोचे अनुसारको जवाफ अभियुक्तले दिएन, कसैले चोरी गर्यो, गाडीले कसैलाई किच्यो, अलि दरो बादबिबाद भयो आदि घटनामा मिल्ने सजाय भनेको पिटाइ नै हो। अझ श्रीमानले श्रीमतीलाई पिट्ने कुरा त कानुनी सजाय दिने निकायले नै आपसी मिलोमतोको नाममा वैधानिक बनाइदिन्छ।
यी सबै घटनाहरु सानै उमेरदेखि दैनिक जसो देखेकै कारण बलियोले निर्दोलाई पिट्नु वा आफ्नो संरक्षण प्राप्त ब्यक्तिलाई पिट्नु हामीले सहजै लिने गरिन्छ।