ग्लोबल नेपाली
कास्कीका तीर्थ धमलाले सन् २००४ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरे। त्यसपछि काठमाडौंको गैरीधारामा 'रूपाकोट ट्राभल एजेन्सी' खोले।
केही समयपछि उनी बेल्जियम गए। युरोपका पर्यटक नेपाल ल्याउने र ट्राभल एजेन्सी राम्ररी चलाउने उनको सोच थियो।
चाँडै आउने सोचले गएका तीर्थ फर्किएनन्।
'युरोपेली पर्यटक ल्याउँछु भनेर बजार बुझ्न गएको थिएँ। विदेश गएको मान्छे उतै मासिन्छ भने जस्तै भयो म पनि उतै भासिएँ,' उनले भने, 'बेल्जियममै बसेर काम सुरू गरेँ।'
तीर्थले नेपाल छाडेको २० वर्ष भयो।
उनको पढाइले बेल्जियममा काम गर्नेवाला थिएन, न त्यहाँ ट्राभल एजेन्सी चलाउने क्षमता थियो। उनले एउटा रेस्टुरेन्टमा काम पाए। अर्को उपयुक्त विकल्प नभएकाले किचनबाट काम सुरू गरे। दिन बित्दै जाँदा कुक, सुपरभाइजर हुँदै म्यानेजर भए।
त्यतिन्जेलमा करिब १० वर्ष बित्यो। केही पैसा पनि जम्मा भयो। उनको आत्मबल बढ्यो।
सन् २०१४ मा तीर्थले बेल्जियममा आफ्नै रेस्टुरेन्ट खोले। त्यसयताको दस वर्षमा उनी सफल नेपाली व्यवसायी बनेका छन्। हाल उनीसँग तीन वटा रेस्टुरेन्ट छन्।
तीमध्ये दुइवटा 'सुसी' रेस्टुरेन्ट हुन्। अनि एउटा नेपाली मौलिक परिकार खुवाउने 'नेपाल डिलाइट' रेस्टुरेन्ट। यसमा नेपाली परिकारका पारखीहरू र नेपाल भ्रमण गरेर फर्केका युरोपेलीहरू आउँछन्।
नेपाल डिलाइटबाट तीर्थ निकै सन्तुष्ट छन्।
'यो सन्तुष्टि पैसाको भन्दा बढी आत्माको हो,' उनले भने, 'नेपाली परिकारको रेस्टुरेन्ट मार्फत युरोपेलीहरूलाई केही हदसम्म नेपालसँग जोड्ने काम गरेको छु भन्ने लाग्छ।'
बेल्जियम सरकारले व्यवसायीहरूलाई निकै समर्थन गर्ने उनले बताए। यो कुरा उनले कोरोना महामारीताका थाहा पाएका हुन्।
सन् २०२० को सुरूदेखि नै कोरोनाले नराम्ररी असर पार्यो। झन्डै दुई वर्ष त रेस्टुरेन्ट बन्द बराबर भयो। तर त्यहाँको सरकारले व्यवसायीहरूलाई निरूत्साहित हुन नदिएको उनले बताए।
'कुनै पनि व्यवसायीले कोभिडका कारण घाटा भयो भन्नु परेन,' उनले भने, 'दुई वर्ष रेस्टुरेन्ट चलाउन नपाउँदा पनि हामीलाई घाटा भएन। व्यवसायीको सुरक्षा भनेको के रहेछ भन्ने बेल्जियममै थाहा पाएँ।'
उनका अनुसार कोरोनाको प्रभाव सकिएर अहिले युरोपको बजारले लय समातिसकेको छ। बेल्जियम व्यवसायको पूर्ववत् अवस्था पुगेको छ।
'कोरोनाले करिब तीन वर्ष विश्वलाई नै असर पुर्यायो तर युरोपको बजार ठाउँमा फर्किसकेको छ,' उनले भने, 'यता नेपालमा मेरा साथीहरू कोरानापछि अझै पनि स्थिति सुधार भएको छैन भन्छन्।'


तीर्थ अब नेपालमा पनि व्यवसाय गर्ने तयारीमा छन्। आफूले सुरू गरेको रूपाकोट ट्राभल एजेन्सी छँदैछ जुन उनका भाइहरूले चलाइरहेका छन्।
कास्कीमा एउटा रिसोर्ट चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। यही सिलसिलामा यति बेला उनी नेपालमा छन्।
धेरै गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्न इच्छुक रहे पनि वातावरण अनुकूल बन्न नसकेको उनको बुझाइ छ।
'विशेष गरी गैरआवासीय नेपाली नागरिकताको कारणले हामीलाई खिन्न बनाएको छ। संविधानअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता चाहिन्छ,' उनले भने, 'हाम्रा साथीहरू संविधान अनुसारको नागरिकता कुरेर बसेका छन्। संसदको हिउँदे अधिवेशनबाट यसको नियमावली पारित हुन्छ भन्ने आशा छ। त्यसपछि लगानी बढ्ला।'
विदेशी भूमिमा आफूलाई स्थापित गराउनु निकै चुनौतीपूर्ण हुने अनुभव तीर्थको छ। त्यहाँको समाज बुझ्नु सबैभन्दा ठुलो चुनौती हुन्छ। स्थानीय समाज राम्ररी नबुझी व्यवसायमा अघि बढ्न सकिँदैन।
'तपाईंले रेस्टुरेन्ट खोल्ने सोच बनाउनुभयो भने पैसा भएर मात्र हुँदैन। त्योभन्दा ठूलो कुरा तपाईंको आइडिया र अनुभव हो,' उनले भने, 'किचनबाट सुरू गरेको कामले मलाई रेस्टुरेन्ट खोल्न सक्ने बनायो। मेरो व्यवसायको आधार नै २० वर्षअघि मैले काम गरेको किचन हो।'
उनका अनुसार बेल्जियममा नेपालीका दुई सय वटाभन्दा बढी सुसी रेस्टुरेन्ट छन्। सबै खालका गरी नेपालीका मात्र कम्तीमा ३५० वटा रेस्टुरेन्ट छन्।
युरोपको व्यवसायमा नेपालीको उपस्थिति बलियो हुँदै गएको उनको भनाइ छ। नेपालीहरू त्यहाँको राजनीतिमा पनि बिस्तारै अघि बढ्दै छन्। केही स्थानीय सरकारमा नेपाली पनि पुगेका छन्।
बेल्जियममा १५ हजारभन्दा धेरै नेपाली छन्। नेपाली समुदायले दसैं र तिहारजस्ता चाडमा नेपाली बालबालिकालाई बिदा दिनुपर्छ भन्ने लबिङ सुरू गरेका छन्। यसमा त्यहाँको सरकार सकारात्मक देखिएको तीर्थको भनाइ छ। त्यहाँको नेपाली समुदायले हरेक वर्ष नेपाल महोत्सव पनि मनाउने गरेको छ।
तीर्थ एनआरएनए (गैरआवासीय नेपाली संघ) अभियानमा पनि सक्रिय छन्।
'गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने अनुकूल वातावरण निर्माणका लागि म सक्रिय छु,' उनले भने।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]