ग्लोबल नेपाली
धादिङका कृष्णप्रसाद तिमल्सेनाले भारतको नयाँ दिल्लीमा तीन वर्ष होटल म्यानेजमेन्ट विषय पढे। त्यसपछिको पाँच वर्ष कुवेतमा काम गरे।
पाँच वर्षको अनुभव लिएर उनी कामदार भिसामा सन् २००१ मा बेलायत पुगे। त्यसको चार वर्षमा बेलायतको स्थायी आवास अनुमति (पिआर) पाए।
पिआर पाएको विदेशी नागरिकले पनि बेलायतीसरह सुविधा पाउने भएकाले उनलाई आफ्नै तरिकाले काम गर्न सजिलो भयो।
उनले एक जना भारतीय साथीसँग मिलेर सन् २००६ मा रेस्टुरेन्ट सुरू गरे। कोभिडपछि भने व्यापार केही घटेको छ तर पनि उनले व्यवसाय छाडेका छैनन्।
कोभिडअघि उनी रेस्टुरेन्ट व्यवसायमा आवश्यक सामानको व्यापार पनि गर्थे। कोभिडपछि यो व्यापारमा पनि असर परेको छ।
कृष्णप्रसाद आफू मात्र बेलायत पुगेनन्। आफूले व्यवसाय सुरू गरेपछि परिवारका अन्य सदस्य र निकट नातेदार भाइ–भाइबुहारी, बहिनी–बहिनीज्वाइँ र भान्जाभान्जीलाई पनि उतै पुर्याए।
'म रोजगारीको सिलसिलामा बेलायत पुगेँ। उतै व्यवसाय सुरू गरेँ। नेपालका आफन्तले उता जाने चाहना राख्नुभयो, उहाँहरूलाई पनि लगेँ,' उनले भने, 'मेरो चाहना हामी जहाँ बसे पनि नजिक–नजिकै बस्नुपर्छ भन्ने थियो। लन्डनमा हामी १० मिनेटको ड्राइभमा एकअर्काको घरमा पुग्छौं। हाम्रो परिवारका १९ जनामध्ये १६ जना उतै छौं।'
परिवारको एक जना कुनै राम्रो ठाउँमा स्थापित भयो भने उसले आफन्तलाई पनि त्यतै लैजानु मानवीय स्वभाव रहेको उनको तर्क छ। आफ्नो परिवारका सदस्यलाई व्यवसायको बाटोमा हिँडाउने जिम्मेवारी हुने पनि उनको भनाइ छ।
उनको परिवार बेलायत बसाइँ सरिसकेको छ। धादिङमा बुबाआमा र काका मात्रै छन्। उनी नेपाल आउजाउ गरिरहन्छन्।
कृष्णप्रसाद करिब १५ वर्ष बेलायतमा रेस्टुरेन्ट व्यवसायमा सक्रिय र व्यस्त भए। त्यसपछि भने उनले नेपालमा पनि सक्रियता बढाएका छन्। नेपालमा केही व्यवसायमा साझेदारी गरेका छन्। यसकारण पनि नेपाल आइरहन्छ।
आफू भविष्यमा नेपाल आएर बस्न र व्यवसाय गर्न पनि सक्छु भन्ने उनलाई लागेको छ तर आफूपछिको पुस्ताबारे ढुक्क छैनन्।
भन्छन्, 'म त जहिले पनि नेपाल आएर बस्न सक्छु। उतै हुर्किएको पुस्ता के गर्छ भन्न सक्दिनँ। म उनीहरूलाई नेपाल बुझाउन प्रयास गरिरहेको छु।'
उनलाई आफू बेलायत गएर ठिकै गरेँ भन्ने लागेको छ। आफ्नो व्यवसायबाट सन्तुष्ट देखिन्छन्।
'जे गरेँ ठिक गरेँ भन्ने लाग्छ। २०४९ सालमा एउटा नागरिकता (प्रमाणपत्र), आमाले दिएका सयका तीन वटा नोट र भारतीय रुपैयाँ पाँच सयको एउटा नोट बोकेर हिँडेको हुँ,' उनले भने, 'अहिलेसम्म हाँसेरै हिँडेको छु। यो तीन दशकमा कोभिडको दुई वर्षबाहेक हरेक वर्ष नेपाल आएको छु। कोभिडपछि त आधा यता (नेपाल) र आधा बेलायत जस्तो भएको छ।'
उनी एनआरएनए (गैरआवासीय नेपाली संघ) मा पनि सक्रिय छन्। सन् २००७ मा साधारण सदस्यता लिएका थिए। हाल सहकोषाध्यक्ष पदको दोस्रो कार्यकालमा छन्।
एनआरएनएमा चलेको विवादले उनी चिन्तित छन्। निर्वाचनको हारजितलाई सहज रूपमा लिन नसक्दा विवाद बढ्दै गएको हो भन्ने उनलाई लागेको छ।
'संसारभर छरिएका नेपालीलाई एक ठाउँमा ल्याउन एनआरएनएको भूमिका महत्त्वपूर्ण छ तर चुनावमा एउटाले जित्ने र अर्कोले हार्ने हुँदा नराम्रो भएको छ,' उनी भन्छन्, 'हारजितलाई नकारात्मक तरिकाले सोच्न हुन्न। अब अक्टोबरमा हुने अधिवेशनमा सबै एकजुट भएर अघि बढ्नुपर्छ।'
चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्न र हारजितलाई स्वाभाविक रूपमा लिन सक्दा मात्र संगठन बलियो हुने उनको धारणा छ।
'कसैका केही असन्तुष्टि भए अधिवेशनमै छलफल गरेर सहमतिमा पग्नुपर्छ। अलगअलग भएर कसैको पनि हित हुँदैन,' उनी भन्छन्, 'सर्वोच्च अदालतको फैसलालाई आआफ्नो तरिकाले बुझ्नुभन्दा पनि एक ठाउँमा बसेर छलफलबाट अघि बढ्नु उपयुक्त हुन्छ।'
अब हुने अधिवेशनमा विवाद समाधान हुने र एनआएरएनए बलियो भन्ने उनको विश्वास छ।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]