डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच फुटबल लिग सुरू भएको छ।
करिब १ महिना चल्ने उक्त लिगमा डेनमार्कका नेपाली फुटबल टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
भेट्रान्स प्रिमियर लिग नाम दिएको उक्त प्रतियोगितामा कार्यबाहक राजदूत तिर्थ अर्यालले गेस्ट प्लेयरको रूपमा खेल खेलेर खेलको शुभारम्भ गरेका थिए। गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले रेफ्रीलाई बल दिएर लिग खेल सुरू गरेका हुन्।
यसैगरि गैर आवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष राधाकृष्ण सापकोटाले डेनमार्कका नेपालीबीच यस्तो लिग फुटबलको हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई प्रत्येक वर्ष निरन्तरता दिन आयोजकलाई आग्रह गरे।
लिगको सुरूआतमा दुई खेल खेलाइएको थियो। पहिलो खेलमा अन्नपूर्णले बागमतीलाई १-० गोल अन्तरमा हरायो।
अन्त्यन्त प्रतिस्पर्धात्मक खेलमा अन्नपूर्णका कप्तान सुमित खडकाले निर्णायक गोल गरे।
त्यस्तै दोस्रो खेलमा चन्द्रागिरि र धौलागिरिले २-२ को बराबरी खेल्दै अंक बाडेका छन्।
धौलागिरीका बिष्णु श्रेष्ठले दुई गोल गर्दा चन्द्रगिरिका शैलेन्द्र र निराजनले एक-एक गोल गरेका थिए।
स्थानीय बेलाहोए क्लासिक क्लबले सहकार्यमा हुने लिगको समापन आगामी फुलपातीमा गर्ने आयोजकले तयारी गरेको छ।