विदेशमा बस्ने नेपालीको लगानीबाट बनेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लगानी गरेको २७ मेगावाटको दोर्दीखोला आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आयोजनामा गैरआवासीय नेपाली कम्पनीको ३५ दशमलव ७ प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलव ३० प्रतिशत र १० प्रतिशत स्थानीयको र २० प्रतिशत सर्वसाधारणको शेयर रहेको छ।
आयोजना ३ महिनाअघि निर्माण सम्पन्न भइसके पनि विभिन्न कारणले राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन।
आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको उपलक्ष्यमा गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष जिवा लामिछानेले ढिलाई भए पनि आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएकोमा खुशी ब्यक्त गर्दै गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक रहेको बताए।
सोहि अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघसँग मिलेर आफूले यो प्रोजेक्टलाई पाइलट प्रोजेक्टको रूपमा अघि बढाएको भन्दै नेपालको जलविद्युत, पर्यटन, पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे।
२०७१ फागुनबाट निर्माण सुरू भएको योजना पानीको बहावमा आधारित (रन अफ रिभर) प्रकृतिको आयोजना हो। २०७४ असार मसान्तसम्म निर्माण सकिसक्नुपर्ने आयोजना उक्त समयमा नसक्दा यसका सञ्चालकले विदेशस्थित आयोजनाका लगानीकर्ताबाट चर्को दबाब खेपिरहेका थिए।
निर्माण सक्न आयोजनालाई तेब्बर समय लागेको छ। प्रबर्द्धक हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले भुकम्प, नाकाबन्दी, वर्षा, आयोजना निर्माणका क्रममा आन्तरिक समस्या, प्रसारण लाइन अभाव लगायतले निर्माणकार्य ढिला भएको बताए ।
यसैबीच आयोजना सम्पन्न भएकोमा गर्व गर्दै गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष हेम राज शर्माले सर्वसाधारण गैरआवासीय नेपालीले लगानी गरेको यस्तो पहिलो प्रोजेक्ट समयमै सम्पन्न भएर सहि सन्देश जानुपर्नेमा नेपालको अवस्थाले गर्दा केही ढिला हुन गए पनि अब समस्या नहुने बताए।
यो प्रोजेक्टमा काम गर्दा भएका गल्ति कमजोरीलाई सुधार्दै, गैर आवासीय नेपालीले पूर्वाधारका क्षेत्रमा लगानी गर्दै जाने बताए।
४ अर्ब २३ करोड ३५ लाख रूपैयाँमा निर्माण पूरा गर्ने भनिएको उक्त आयोजनाको लागत बढेर ४ अर्ब ६४ करोड पुग्ने अनुमान आयोजनाले गरेको छ। तर निर्देशक ढकालले यसको लागत करिब ५ अर्ब पुग्न सक्ने बताए।
आयोजनासँग नेपाल विद्युत् प्राधिकरणले सुख्खायाममा प्रतियुनिट ८ रूपैयाँ ४० पैसा र वर्षायाममा ४ रूपैयाँ ८० पैसामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेको छ।
आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ। राष्ट्रिय प्रसारण लाइनमा जडान भएको दिनदेखि १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क प्रदान गरिनेछ। त्यसपछि व्यवसायीक उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।
निकै तामझाम गर्दै १० अर्बको योजना भन्दै विदेशमा बस्ने नेपालीबाट १ वर्ष अघिदेखि पहिलो किस्ता समेत बुझेको एनआरएनको नेतृत्व त्यसपछि मौन छ। ३ महिनापछि नै दोस्रो किस्ता माग गर्ने र काम सुरू गरिहाल्ने भने नि अझै अन्यौल छ।
डेनमार्कबाट एनआरएनको विभिन्न प्रोजेक्टमा लगानी गरेका उदय राज गौतमले यसलाई नियतबस गरिएको ढिलाई बताउँछन्। ‘म यस्तो प्रक्रियाबाट दिक्क भइसकेँ। यिनीहरुको नियत के हो? भनेको समयमा केही पनि नहुने किन होला?’, उनले प्रश्न गरे।
१० अर्बको योजनामा ठूलै लगानी गरेका डेनमार्कका बिष्णु भट्टराई समेत सञ्चालकहरू यस मामिलामा मौन बसेकोमा आफूलाई शंका उत्पन्न भएको बताए। ‘के भइराखेको छ पहिले पहिले त इमेल आउँथ्यो आजकल सब ठप्प छ, सरकारी काम जस्तै यसैगरि ढिलाई गर्दै जाने हो भने लगानीकर्ता बिच्किनसक्छन्।’