डेनमार्क सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाइएका सबै प्रतिबन्ध आज फेब्रुअरी १ देखि हटाएको छ। यो सँगै डेनमार्फ कोरोना कालअघिको समयमा फर्कने भएको छ।
‘अब हामी कोरोनाको छायाँबाट बाहिर निस्कने छौं। हामी मुलुकलाई नयाँ समयमा लैजाने छौ,’ प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सबै प्रतिवन्ध फुकुवा गर्दै भनेकी छन्।
जनतालाई सामान्य जनजीवनमा फर्काउने सरकारको योजना रहेको भन्दै उनले क्रिटिकल फेजबाट गुज्रिरहेको मुलुक अब कोरोनाअघिको दैनिकीमा फर्किएको दाबी गरिन्।
यो सँगै डेनमार्कमा आजदेखि कोभिड–१९ लाई सामाजिक रूपमा गम्भीर रोगको रूपमा वर्गीकृत गरिने छैन। होटल, रेस्टुरेन्ट, बारलगायत मनोरञ्जनका क्षेत्रहरु तथा खेलकुदका गतिविधिलगायत घरेलु कार्य पूर्ण रुपमा खुल्ने छन्। मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छैन। सामाजिक दुरी पनि अनिवार्य छैन। यात्रा पनि खुकुलो पारिएको छ।
स्वास्थ्यमन्त्री म्याग्नस ह्युनिकले केही समयअघि सांसदहरूलाई पत्र लेख्दै पछिल्लो अवस्थाको जानकारी दिँदै प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए।
त्यसपछि सरकारले सबै संसदीय दलसँगको बैठक बसेर कोरोनालाई सामाजिक रुपमा गम्भीर रोगको वर्गीकरणबाट हटाउँदै प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
डेनमार्कको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्याले कोरोनाविरूद्धको तेस्रो मात्रा खोप लगाइसकेका छन्।
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त ९ खोपमध्ये जुनसुकै खोप लगाएका मानिसहरू अब संसारभरबाट डेनमार्कमा प्रवेश गर्न सक्नेछन्।
कोरोना संक्रमणदर जनवरी मध्यतिर ह्वातै बढेको थियो भने महिनाको अन्त्यतिर घट्दै गएको छ।