दोस्रो चरणको कोभिड–१९ ले नेपाल आक्रान्त। बन्दाबन्दीले देश ठप्प। संक्रमण दर तिव्र गतिमा फैलदो। दैनिक एक सय जनाभन्दा बढीको मृत्यु। दिनकै आठ हजारभन्दा बढी कोभिड संक्रमित। अक्सिजन लगायत अति आवश्यक स्वास्थ्य सामग्रीहरुको चरम अभाव।
यस्ता खबरले नेपाल बाहिरका नेपाली चिन्तित भए। धेरै परदेशीले आ-आफ्नो ठाउँबाट सकेको सघाए। आफ्नो समुदाय, संघसंस्था वा कुनै माध्यमबाट किन नहोस् सक्दो आर्थिक सहयोग गरे/गर्दैछन्। यसैबीच डा. रवि क्षेत्रीलाई औधी उकुसमुकुस भइरहेको थियो।
डेनमार्कको चर्चित विश्वविद्यालय ‘डेनमार्क टेक्निकल विश्वविद्यालय (डिटियू)’ मा अनुसन्धानधाता रविले परोपकारी संस्थाबाट सहयोग जुटाउने उपाय फुराए। र, १ दर्जन भन्दा बढी इमेल लेखे। तीमध्ये धेरै इमेलको परिणाम निरास बनाउने खाले रह्यो। एक इमेल भने अर्थपूर्ण भइदिइदिएको छ। र, उनको त्यही इमेल पत्राचारका कारण नेपालका निम्ति २ करोड रुपैयाँको सहयोग जुटेको छ।
कुरा, महिना दिनअघिको हो। उनी कार्यरत डेनमार्क टेक्निकल विश्वविद्यालय (डिटियू)मा भारतका सहकर्मीसँग हरेक दिन हरेक विषयमा कुराकानी हुन्थ्यो। भारतमा तिव्र रुपमा कोभिड–१९ फैलिँदा ताका डेनमार्कको सरकारी र निजी क्षेत्रबाट ठूलो मात्रामा सहयोग गएको केही दिनमात्रै भएको थियो।
मानवीयताको हिसाबले स्वास्थ्य सामग्रीहरु नेपाललाई पनि सहयोग जाला भन्ने सोचे। तर, सकारात्मक सूचना केही पाएनन्। आर्थिक रुपमा बलियो रहेको कर्मभूमि डेनमार्कले जन्मभूमि नेपाललाई केही सहयोग गरोस् भन्ने उनको मनको चाहना थियो।
केही प्रगति भयो कि भनेर नेपाली राजदूताबास तथा अन्य सरोकारवाला निकायमा पनि बुझे। तर, प्रगति शून्य। ‘नेपाल र डेनमार्कको राम्रो रिलेसन छ, त्यस्तो महामारीमा केही भए पनि सहयोग देलान् भन्ने आशा थियो,’ क्षेत्रीले सेतोपाटीसँग भने, ‘तर, केही नभएपछि आफ्नो ठाउँबाट केही गर्न सकिन्छ कि भनेर लागें।’
आफ्नै तरिकाले डेनमार्कमा रहेका महत्वपूर्ण परोपकारी केही संस्थाहरुमा कोभिड–१९ विरुद्ध नेपाललाई सहयोगको अनुरोध गर्दै इमेल गरे। क्षेत्रीले इमेल पठाएकाहरुमा डेनमार्ककै ठूलो औषधी उत्पादक कम्पनी नोभो नर्डिक्स फाउन्डेसनदेखि अन्य परोपकारी संस्थाहरुसम्म छन्। १० भन्दा धेरैलाई नेपाललाई सहयोगका लागि अनुरोध गरेर इमेल गरेका छन्।
नोभो नर्डिस्क फाउन्डेसन (एनएनएफ), पौल ड्यू जेनसेन फाउन्डेसन (पीडीजेएफ), डन्स्क इन्डस्ट्री, रामबोल, निरस, सीओडब्ल्यूआई, अल्फा लावल, डानफोस र अन्य उद्योगहरू तथा फाउन्डेसनमा सहयोग माग्दै इमेल गरे।
केहीले आधिकारिक माध्यमबाट आउनुपर्ने बताए। केहीले प्रतिक्रिया पनि दिएनन्। आधिकारिक खोजेपछि उनले पनि राजदूताबासमा अनुरोध गरे। त्यताबाट खास पहल भए नभएको उनलाई जानकारी छैन। जतिलाई इमेल गरेका थिए खासै प्रगति भने थिएन। केही गर्न सकिन्छ की भनेर अघि बढेका उनका पाइला खासै प्रगति नभएपछि धर्मराउँदै थिए।
मे २४ तारिखका दिनमा भने क्षेत्रीलाई खुसी तुल्याउने इमेल पोउल ड्यु यानसेन फाउन्डेसनबाट आयो। कोभिड–१९ विरुद्ध नेपाललाई केही सहयोग गर्न चाहन्छौ भनेर। तत्कालै उनले डेनमार्कका लागि नेपाली राजदूतासमा आधिकारिक पत्र पठाउन अनुरोध गरे।
क्षेत्रीले सोचे दूतावासबाट पहल भयो होला भन्ने। तर, फाउन्डेसनले आधिकारिक निकाय नपाएको भन्दै २ जुनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम मार्फत १२ लाख ५० हजार डेनिस क्रोनर (झण्डै २ करोड नेपाली रुपैयाँ) कोरोना विरुद्ध नेपाललाई दिने भन्ने इमेल प्राप्त गरे।
‘करिब २ करोड रुपैयाँ भए पनि पाइयो यसले खुसी नै दिएको छ,’ क्षेत्रीले भने, ‘दूतावासबाटै अलि राम्रो पहल भएको भए अझै धेरै सहयोग पाउने र सिधै नेपाल सरकारलाई जाने थियो।’
अक्सफामलाई फाउन्डेशनले रकम प्रदान गरि सकेको छ। नेपालमा अब सो रकमबाट कोभिड–१९ विरुद्ध अक्सफामले काम गर्ने बताइएको छ। क्षेत्रीको १ इमेलको आधारमा त्यत्रो रकम सहयोग गर्ने फाउन्डेसन पम्प उत्पादन गर्ने डेनमार्कको प्रतिष्ठित ग्रुल्ड फस्ट कम्पनीले स्थापना गरेको हो।
फाउन्डेसन पानी र वातावरण क्षेत्रमा खोज अनुसन्धान गर्दछ। संसारका विभिन्न देशमा मानवीयताको हिसावले सहयोग गर्दै पनि आएको छ। क्षेत्री अरु केहीबाट पनि नेपाललाई सहयोग भनेर पहल गरिरहेको बताउँछन्।
प्रतिष्ठित नोभो नर्डिस्क फाउन्डेसन (एनएनएफ) लाई पठाएको १० मिलियन डेनिस रुपैयाँको प्रस्तावको उत्तरको पर्खाइमा रहेको बताए। अन्य परोपकारी संस्था र उद्योगसँग पनि स्वास्थ्य सामग्रीको माग गरेका छन्।
राज्यको आधिकारिक निकाय राजदूतावास, तथा एनआरएनए सक्रिय हुनु पर्ने समयमा नेपाली युवा यसरी जागेर देशका लागि केही भएपनि सहयोग जुट्नु अत्यन्तै सह्रानीय कार्य हो।
आरहुस विश्वविद्यालयकी प्राध्यापक करीन भ्याल्टिनको पहलमा नेपाललाई सघाउन अनुरोध गर्दै एक अपील सार्वजनिक भएको थियो। जसमा क्षेत्रीको समेत भूमिका थियो।
नेपाल र नेपालीलाई नजिकबाट चिन्ने डेनिस लब्ध प्रतिष्ठित नागरिकले नेपाललाई सहयोग गर्न अनुरोध गरेका थिए। अपील आएपछि संसदको अन्तर्राष्ट्रीय समितिमा नेपालबारे छलफल समेत भएको थियो।
डेनमार्क सरकारले कोभिड-१९ विरुद्ध नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने केहि दिनअघि घोषणा गरेको छ।
क्षेत्री डेनमार्कमा रहेका नेपाली विज्ञ÷वैज्ञानिकहरुको संस्था नेपाली साइन्टिफित प्यानेलका संयोजक समेत हुन्। यो संस्थाले परदेशमा सिकेको ज्ञान सिप नेपालमा भित्र्याउन अनुरोध गर्दै आएको छ।
सन् २००६ मा डेनमार्क आएका क्षेत्रीको घर काठमाडौं हो।