पछिल्लो डेढ महिनादेखि सिड्नीमा सञ्चालित नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज नेप्लिज क्लबले जितेको छ।
नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटीको आयोजनामा हरेक आइतबार सञ्चालित केओआई नवाज कप फुटबलको फाइनलमा सेन्ट जर्जले सगरमाथा फुटबल क्लबलाई ५-३ गोलको अन्तरले पराजित गर्दै उपाधिसँगै नगद तथा ट्रफी हात पारेको हो।
फाइनल भिडन्तमा सेन्ट जर्जका रूपक लामाले ह्याट्रिक पूरा गरेका थिए भने सरोज दाहाल र सुशान्त कुँवरले एक-एक गोल गरेका थिए।
नेपालका चर्चित स्ट्राइकर जुमानु राई प्रशिक्षक रहेको सगरमाथाले प्रारम्भमा भने निकै राम्रो खेल खेले पनि खेलको अन्ततिर लय गुमाउँदा हार व्यहोर्नु परेको थियो।
यस्तै, प्रतियोगिताको तेस्रो स्थान भने फेवा फुटबल क्लबले आफ्नो नाममा लेखाएको छ।
फेवाले तेस्रो स्थानको भिडन्तमा टिआरजीलाई ३-२ गोलले परास्त गरेको थियो। सिड्नीमा हुने फुटबल प्रतियोगिताहरूमा फरक र अलग पहिचान बोकेको नवाज कप फुटबललाई यस पटक केओआई कलेजले प्रयोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन लगायतका संस्थाले सहयोग गरेका थिए।
यस्तै, प्रतियोगिताको भेट्रान स्पर्धामा भने माछापुच्छ्रेले सेन्ट जर्जलाई ४-१ ले हराउँदै उपाधि हात पारेको थियो।
भेट्रानतर्फ माछापुच्छ्रेका छिरिङ डिमडुङले फाइनलमा ह्याट्रिक पूरा गरेका थिए। प्रतियोगिताको अन्य उपाधिहरूमा सर्वाधिक गोलकर्तामा सेन्ट जर्जका शुसान्त कुवर, प्लेयर अफ टुर्नामेन्टमा सगरमाथाका सुजन राई, उत्कृष्ट गोलरक्षकमा मिलन गिरी,फेयर प्ले टिममा होमबुस राइनोले हात पारेका छन्।
विजेता टिमका खेलाडीहरूलाई न्यू साउथवेल्सका वाणिज्यदूत सन्जिव शर्मा,एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएन आइसिसी सदस्य डिल्ली ढकाल, प्रतियोगिता आयोजक समितिका संयोजक बैकुण्ठ डंगोल,संस्थाका अध्यक्ष चिरन तिवारी, बिष्णु हमाल, एन्फाका अध्यक्ष बिजेन बटाजु लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्यदूत सञ्जीव शर्माले खेलकुदले समाजलाई जोड्नुका साथै अनुशासित समेत बनाउने हुनाले नेपाली समाजका लागि यो महत्वपूर्ण अवसरका रूपमा रहेको बताए।
शर्माले अस्ट्रेलियाका रहेका नेपाली नयाँ पुस्तालाई खेलुकदको माध्यमबाट मुलुकसँग जोड्न सके यसले थप उचाइ पुग्ने समेत बताए।
कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुँवर, सचिव कल्याण खड्का लगायतको उपस्थिति रहेको थियो।