नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना भएकोले विदेशमा रहेका नेपालीले यसमा अलमलिनु नपर्ने कुरा बताएका छन्।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्नीमा आयोजना गरेको नेपालमा लगानीको सम्भावना, आर्थिक परिदृष्य र बैंकिङ सेवा विषयका एकदिने छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
अध्यक्ष ढकालले परम्परागत कानुनी प्रक्रिया र केही सानातिना अप्ठयारा हुन सक्लान् तर साँच्चिकै लगानी गर्न आउनेका लागि नेपालमा कुनै रोकतोक नरहेको आफ्नो अनुभव रहेको उनले सुनाए।
सम्भावनै सम्भावनाको देशका रूपमा नेपाल रहेको तर लगानीका क्षेत्रको भने पहिचान गर्न सक्नुपर्ने उनको धारणा थियो।
‘चन्द्रागिरी केबलकार सञ्चालनमा सबैले के गरेको अब डुब्नु हुन्छ भन्थे, अहिले वाह कस्तो राम्रो गर्नुभयो भन्छन्, यस्तै हो व्यवसाय र लगानी भनेको,’ उनले भने।
ढकालले आफूहरूले सातै प्रदेशमा केबलकारको योजना बुनेको र केही आयोजनाहरू पूरा समेत भैसकेको अवस्थामा रहेको बताउँदै नेपालको बैंकमै पैसा राख्दा पनि अस्ट्रेलियाका नेपालीहरूलाई यताको हिसाबमा धेरै फाइदा हुने अहिलेको परिस्थिति रहेको बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले केही वर्ष अगाडि भारतमा गैरआवासीय भारतीयहरूले लगानी गरेर देशको अर्थतन्त्रमा पारेको प्रभावको अनुभव सुनाउँदै नेपालमा पनि लगानी गर्ने समय आएको बताए।
डेपुटी गभर्नर मिश्रले विदेशबाट लगानी गर्दा नेपालबाट कमाइ विदेश फर्काउन नसकिने र यसको झन्झट रहेको गुनासा आएता पनि अहिले नयाँ नीति अनुरूप एफडीआइमार्फत् पस्न देऊ, बस्न देऊ र निक्लन देऊ भन्ने नीतिले यस समस्यालाई केही हदसम्म सम्बोधन गरेको बताए।
राष्ट्र र राष्ट्रियता भन्ने विषय मुलुकमा बस्ने नेपालीसँगै विदेशमा बस्ने नेपालीसँग पनि अझ बढी हुने आफ्नो अनुभव मिश्रले सुनाए।
‘हामी विदेशमा जाँदै गर्दा घरघरमा नेपाली झन्डा भेट्छौं, मुलुक भन्ने बित्तिकै जुरूक्क उठ्ने समाज देख्छौं, त्यसैले पनि अब मुलुक बनाउने कुरामा पनि विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बेला आएको छ,’ उनले भने।
अस्ट्रेलियाबाट दिनहुँ करोडौं रुपैयाँ हुन्डीबाट नेपाल भित्रने विषयमा मिश्रले भने हुन्डी केही हदसम्म व्यापारसँग जोडिएको छ र यसलाई नियन्त्रण गर्न व्यावसायिक घरानाहरू समेत लाग्नुपर्ने उनले बताए।
नेपाल राष्ट्र बैंकसँग अनुमति पाएका अस्ट्रेलियामा तीन चार वटा मनी ट्रान्सफर सेवा भए पनि यसबाट नगन्य रूपमा रेमिटेन्स भित्रिएको मिश्रले बताए।
उनले अस्ट्रेलियाबाट दिनहुँ १०/१२ करोड रुपैयाँ नेपाल जाने कुराले आफूलाई कसरी यसलाई राज्यको दायरामा समेट्ने भन्ने सोचमग्न बताएको समेत बताए।
‘हुन्डी रोक्नु अहिलेको आवश्यकता हो तर यसको रोकथाममा सबै लाग्नुपर्ने हुन्छ,’ उनले भने।
बैंक टु बैंक प्रक्रिया झन्झटिलो, कम पैसा र लामो समय लाग्ने तर हुन्डीबाट एक घन्टामै पुग्ने, बढी पैसा पाउने र नेपालका बैंकहरूको सिधा संलग्नताका विषयमा सोधिएका प्रश्नमा भने यसमा आफूले बुझ्नुपर्ने कुरा मिश्रले बताए।
एनआरएन अस्ट्रेलियाका महासचिव सन्तोष कुँवरले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष अनिल पोखरेलले लगानीको सम्भावना र यसका क्षेत्र अनि बैंकिङ प्रक्रियाका बारेमा अस्ट्रेलियामा बस्ने नेपालीले आवश्यक जानकारी पाऊन् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए।