अष्ट्रेलियामा पर्यटक वा कलाकारका रूपमा भ्रमण भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टिआर) मा रहेका विदेशी नागरिकले पुन: विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएको छ।
यस पहिले नेपाल लगायतका देशबाट कलाकार र भ्रमण भिसामा अष्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो।
यसैगरी निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर लामो समय बस्ने र टिक्ने विद्यार्थीको संख्या समेत व्यापकता थियो।
कोभिडको महामारीपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अष्ट्रेलियाले अझ थप कडाई गर्ने संकेत पनि गरेको छ।
अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन्। ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले समेत अष्ट्रेलियाबाट विद्यार्थी भिसाको आवेदन दिन नपाउने बताएकी हुन्। उनीहरूले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन गर्न भने पाउनेछन्।
यहाँको निर्वाचन नजिकिँदै जाँदा अष्ट्रेलियाको लेबर सरकारले यहाँको विदेशी विद्यार्थीको संख्या कम गर्नका लागि कोभिड पश्चात धेरै नियम परिवर्तन गरेको थियो। लेबर सरकारले पछिल्लो समय प्रवासी विद्यार्थी र समुदायको बढोत्तरीका कारण पीआरमा पनि कडाइ गरेको छ। पछिल्ला केही वर्ष नेपाली विद्यार्थीको संख्यात्मक रुपमा बृद्धि भएपनि पछिल्लो ६ महिनादेखि भिसा प्रतिशत घटेको छ।
राम्रा र मंहगा विश्वविद्यालयहरूमा भिसा लागेपनि अन्य निजी कलेजहरूमा विद्यार्थीहरट्ठको उपस्थिति नगन्य हुन थालेको छ। जसको मारमा शैक्षिक व्यवसायी र परामर्शदाताहरू परेका छन्। नेपालीहरूको स्वामित्वमा मात्र अष्ट्रेलियामा करिव एक सयको हाराहारीमा निजी कलेज तथा प्रशिक्षण केन्द्रहरू सञ्चालनमा रहेका छन्।
अष्ट्रेलियामा कोरोना महामारी पश्चात उच्च शिक्षाका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थी संख्या ह्वात्तै बढेको छ।
यहाँको सरकारी तथ्यांकअनुसार अहिले ७ लाख ४० हजार जना विद्यार्थी भिसामा रहेका छन्। यहाँ अध्ययनरत विदेशी विद्यार्थीमा नेपालीको कुल संख्या ७० हजारको हाराहारी रहेको आधिकारिक तथ्यांक छ। यो अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको महत्वपुर्ण अंशका रुपमा मानिन्छ। सरकारी तथ्यांकअनुसार अहिलेपनि नेपाली विद्यार्थीको संख्या चीन र भारतपछि तेस्रो छ। अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई दुर्गम क्षेत्रमा जानका लागि प्रेरित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिले अधिकांश विद्यार्थी सहरी क्षेत्रमा नै बसोबास गरिरहेका छन्।