नेपाली रेस्टुरेन्ट ८८४८ को सिड्नी उपशाखाको उद्घाटन महानायक राजेश हमालले गरेका छन्।
अस्ट्रेलियाको ब्रिसबेनलाई केन्द्र बनाएर सञ्चालन गरिएको ८८४८ रेस्टुरेन्टको फ्रेन्चाइजका रूपमा सिड्नीको पारामाटा सहरमा खोलिएको हो।
उक्त रेस्टुरेन्टको उद्घाटन गर्दै महानायक राजेश हमालले नेपाली परिकारको माध्यमले मुलुक चिनाउने यस्ता खाले व्यवसायहरूको प्रवर्द्धन गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।
ब्रिजबेनमा रहेका युवा व्यवसायी होम प्यासीले सञ्चालनमा ल्याएको यो ८८४८ रेस्टुरेन्ट अहिले ब्रिजबेन र सिड्नीमा गरी कुल १० वटा फ्रेन्चाइज रेस्टुरेन्ट सन्चालनमा छन्। सिड्नीको पारामाटाको फ्रेन्चाइज भने सिड्नीका युवाहरू अशोक तिमल्सिना र महेश दाहालले सञ्चालनमा ल्याएका हुन्।
‘संसारको शिरका रूपमा रहेको सगरमाथा र यसको उचाइलाई नामाकरण गरिएको यो रेस्टुरेन्ट आफैमा मुलुक चिनाउने महत्वपूर्ण माध्यम भएकोले यसलाई सिड्नीमा प्रारम्भ गर्नुपर्छ भनेर हामीले महानायकद्वारा उद्घाटन गराएर सुरू गरेका हौं,’ सिड्नीका सञ्चालक अशोक तिमल्सिनाले भने।
उनले अगाडि भने, ‘मुलुक चिनाउने अनेकन माध्यम हुन्छन् र खाना पनि त्यसमध्ये एक हो, ८८४८ ले म:मदेखि सबै खाले नेपाली परिकार पस्केर व्यावसायिक माध्यमले नेपालीत्व जगाउने प्रयास गरेका हौं।’
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्ता खाले व्यवसायले मुलुकको प्रवर्द्धनमा टेवा पुग्ने बताए।
रेस्टुरेन्टका अर्का सञ्चालक महेश दाहालले नामैले मुलुक चिनाउने व्यवसाय आरम्भ गर्दा आफूलाई पनि गौरव लागेको बताए।
कार्यक्रममा बार्डिया नेपाली समाजका अध्यक्ष रन्जितराज वन्त लगायतको उपस्थिति थियो।