सबभन्दा पहिला विद्यार्थी मानसिक रूपमा तयार हुनुपर्छ। विद्यार्थी आफैले आफैलाई प्रश्न सोध्नुपर्छ। के म साँच्चै विदेश पढ्न जान लागेको हो त? अनि, साँच्चै अस्ट्रेलिया पढ्न जान लागेको हो त भनेर समेत प्रश्न गर्नुपर्ने हुन्छ।
आफू साथीभाइ अनि आफन्त भएकाले जान लागेको हो कि अथवा अध्ययनको लागि हो या अस्ट्रेलियामै बसोबास गर्ने गरी जान लागेको हो, त्यसमा ख्याल गर्नुपर्छ।त्यसैले पहिला आफूले आफैलाई प्रश्न सोध्नुपर्छ। त्यो प्रश्नको उत्तर पाएपछि अस्ट्रेलियाको तयारी सुरू गर्न सकिन्छ।
माइग्रेसनमा भएको मेरो अनुभवका आधारमा मैले पाँच बुँदालाई महत्व दिने गरेको छु। त्यो मध्येको पहिलो बुँदा 'फेम' हो। यो कसैले बनाएको सिद्धान्तभन्दा पनि मैले गर्ने गरेको काउन्सिलिङको आधारमा भनेको हो। त्यसको आधारमा मैले फेम भन्ने गरेको छु। अंग्रेजी अक्षरहरू ‘एफ’, ‘ए’, ‘एम’ ‘ई’ लाई जोड दिने गरेको छु।
‘एफ’ अर्थात् फाइनान्सियल फिटनेस सबभन्दा महत्वपूर्ण छ। विदेश जाने भन्नसाथ सबभन्दा पहिला आफ्नो आर्थिक अवस्थामा ध्यान दिनुपर्छ। अस्ट्रेलिया जान कति खर्च लाग्छ पहिला त्यसमा ध्यान दिनुपर्छ। यदि तपाईंमा त्यो खर्च बेहोर्न सक्ने क्षमता छैन भने अस्ट्रेलियाको कुरा नसोच्नुस्।
अर्को ‘एकेडेमिक’ पाटो हो। तपाईंको पढाइ राम्रो हुनुपर्छ। यदि तपाईंको पढाइ राम्रो छैन भने अस्ट्रेलियाका कलेजमा भर्ना नपाउने मात्रै होइन भोलिका दिनमा अन्य सफलता पाउन समेत गाह्रो हुन्छ।
‘मेच्युअर मेन्टालिटी’ अर्थात् परिपक्व मानसिकता हुनुपर्छ। तपाईं घर छोडेर नयाँ समाज, नयाँ संस्कृति, नयाँ भाषा अनि नयाँ ठाउँमा जाँदै हुनुहुन्छ। त्यस्तै, कलेज नयाँ अनि यहाँको पाठ्यक्रम समेत नयाँ लाग्छ। अर्थात् सबै कुरा नयाँ हुने भएकाले त्यसका लागि परिपक्व मानसिकता जरूरी छ।
अर्को भनेको ‘एक्सिलेन्ट इङ्गलिस’ हो। भाषा सबभन्दा आधारभूत कुरा हो। त्यसैले राम्रो अंग्रेजी जरूरी छ। बोल्ने, लेख्ने, सुन्ने र पढ्ने क्षमता भएन भने हामीलाई धेरै संघर्ष गर्नुपर्छ। त्यसैले यो पक्षलाई पनि हामीले ध्यान दिन जरूरी छ।
अस्ट्रेलिया आउन चाहनेले गर्नुपर्ने दोस्रो तयारी पर्याप्त अनुसन्धान हो।
अरूको कुरा मात्रै सुन्ने अनि अर्काको भर पर्दा धेरैले दुःख पाउँछन्। त्यसैले पहिला आफैले बुझ्नुस्, अध्ययन गर्नुस्। आफैले बुझ्दा जुन तिर्खा लाग्छ त्यसपछि मात्र उचित संस्थासँग सल्लाह लिनुहोला। उचित संस्था भन्नाले उनीहरूको योग्यता, क्षमता अनि विगतलाई ध्यान दिनुपर्छ। तपाईंले खोजेको कोर्ष, तपाईंले खोजेको लोकेसन, तपाईंले पढ्न चाहेको कोर्षको खर्च लगायतले गर्दा म अगाडि बढ्न नसक्ने रहेछु भन्ने पनि हुनसक्छ। त्यसैले दोस्रो चरण भनेको अनुसन्धान गर्ने हो अनि उचित सल्लाह लिने हो। सँगै आफूले अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफयर्सको वेबसाइटबाट पनि सूचना लिन सकिन्छ। विश्वविद्यालयका वेबसाइट अनि अस्ट्रेलियामै रहेका आफन्त तथा साथीभाइसँग समेत सुझाव लिन सकिन्छ। सबैतिर बुझ्ने र अध्ययन गर्ने गरेपछि तपाईंको गन्तव्य के हो भनेर बुझ्नुहुन्छ।
तेस्रो महत्वपूर्ण बुँदा भनेको अब सर्ट लिष्ट तयार गर्ने हो।
विश्वविद्यालयको, कोर्षको सर्ट लिस्ट हुन सक्छ। योसँगै प्लान ‘ए’ र प्लान ‘बि’ बनाउन पनि हामी सुझाव दिन्छौं। हामीले यो भएन भने त्यो अनि त्यो भएन भने अर्को विकल्प सोच्नुपर्छ। यो भएन भने म अर्को के गर्छु भन्ने चरण हो।
चौथो चरण भनेको विद्यार्थीहरूले आफ्नो प्रक्रियागत तयारीमा ध्यान दिने हो।
आफ्ना लागि चाहिने सबै खालका डकुमेन्ट मिलाउनु पर्छ। विश्वविद्यालय अनि डिपार्टमेन्टसँगको अन्तर्वार्ता लगायतको तयारी गर्नुपर्छ। त्यस्तै तोकिएको समयमा आफ्नो डकुमेन्ट बुझाउनेतर्फ समेत ध्यान दिनुपर्छ। यो चरणमा विश्वविद्यालय र डिपार्टमेन्टको मापदण्ड पूरा गर्ने विषयमा ध्यान दिनुपर्छ।
अब पाँचौं चरण सुरू हुन्छ। नतिजाको लागि तयार हुनुपर्छ।
यो चरणमा हामीले गर्नुपर्ने धेरै हुँदैन। हामीले जस्तोसुकै नतिजा आए पनि स्वीकार्नुपर्छ भनेर मानसिक रूपमा आफूलाई तयार पार्ने हो। तपाईंको आफ्नो तर्फबाट हुने सबै काम भइसकेको छ। मागेजति सबै डकुमेन्ट बुझाइएको छ, भिसा आवेदन पनि भइसकेको छ। अब आफूले नतिजा कुर्ने मात्र हो। भिसा लागेन भने पनि आकाश खस्यो भनेर सोच्नु हुँदैन। किनकि यसअघि प्लान बि तयार भइसकेको छ। यो अन्तर्गत केही समयपछि अस्ट्रेलियाकै तयारी हुनसक्छ, अन्य देश हुनसक्छ या नेपालमै बस्ने हुनसक्छ। त्यसैले आफूले सोचेजस्तो नतिजा आएन भने पनि आफूलाई बलियो बनाएर अर्को बाटो रोज्न तयार हुनुपर्छ।
तपाईंको भिसा स्वीकृत भयो भने अस्ट्रेलियामा रहेका साथीभाइ र आफन्तलाई सम्पर्क गर्ने अनि अन्य तयारी गर्ने गर्नुपर्छ। बेलैमा टिकट लिने,आफ्नो कोर्ष कहिलेबाट सुरू हुन्छ त्यसको समयलाई बेलैमा ख्याल गर्नुपर्छ।
एकपटक अस्ट्रेलियाको भिसा लागेन भने कति समयमा फेरि प्रयास गर्ने भनेर धेरै जिज्ञासा आएको हुन्छ। यसको लागि अस्ट्रेलिया सरकारले केही भनेको छैन। सामान्यत कुन कारणले भिसा नलागेको हो त्यसलाई पूरा गरेर भिसा आवेदन दिन सकिन्छ। यदि त्यो कारणलाई समाधान गर्न सकिएको छैन भने प्रयास नगरेकै राम्रो हो।
जस्तो तपाईंलाई अस्ट्रेलियाकै लागि तयारी गर्नुछ भने १२ पास गरेपछि प्रयास गर्दा भिसा अस्वीकृत भएको हो भने स्नातक पास गरेर भिसा आवेदन दिन सकिन्छ। अथवा कुनै अंग्रेजीको नम्बर नपुगेर भिसा अस्वीकृत भएको हो भने त्यसलाई सुधारेर पनि भिसा आवेदन दिन सकिन्छ। तर हिजोआज धेरै भिसा अस्वीकृत हुनुको कारण नेपाल फर्किने आधार देखिएन भन्ने भएकाले अप्ठ्यारो परेको छ।
भिसा लागेर आउनेहरूले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा छ। पढ्न जान लागेको भएर कम्तीमा एक वर्ष कमाउन सकिनँ भने पनि अप्ठ्यराो पर्दैन भन्ने तयारी गर्नु पर्छ। विद्यार्थी भिसामा आउनसाथ काम गरेर विश्वविद्यालयको शुल्क अनि लोन सबै बुझाउँछु भन्ने सोच्नुभएको छ भने त्यो गलत सावित हुनसक्छ। तत्कालै काम नपाउन सकिन्छ। त्यसैले काम गरेर तिर्छु भन्ने ठानेर आउँदा यहाँ काम पाइएन भने एकातिर कलेजको शुल्क तिर्न नसक्ने अनि अर्कोतिर आफू मानसिक समस्या पर्ने हुनसक्छ।त्यसैले कमाइएछ भने राम्रो हो तर एक वर्षसम्म मेरो कुनै कमाइ नहुन पनि सक्छ भन्ने सोच राख्नुपर्छ।
(रजिस्ट्रार माइग्रेसन एजेण्ट बसन्त पोखरेल अस्ट्रेलियाको मेलबर्नस्थित एक्सपर्ट एजुकेसनका निर्देशकसँग सेतोपाटीका लागि सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)