पछिल्लो समय अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा पर्न थालेको छ।
अहिले पनि दिनहुँ २ देखि ३ सयसम्म विद्यार्थीहरू अस्ट्रेलिया पुग्ने गरेका छन्। अस्ट्रेलिया विद्यार्थी भिसामा गएकाहरूलाई काम गर्नका लागि निश्चित समय छुट्याइएको छ।
अस्ट्रेलियामा पुगेका विद्यार्थीहरूले सातामा २४ घण्टामात्र काम गर्न पाउँछन्। पढ्न गएका विद्यार्थीहरूलाई काम पाउन सोचेजस्तो सहज छैन। पढ्न गएका विद्यार्थीहरू काम नगरी बस्ने अवस्था अस्ट्रेलियामा निकै कम छ। विद्यार्थीहरूलाई पढाइका साथै कामको निकै चिन्ता छ। विद्यार्थीहरू पढाइसँगै हुने कामको चिन्ता कम गर्न ३ जना नेपाली युवाहरूले नयाँ अभियान सुरू गरेका छन्।
मिल्टन पौडेल, आइटी विज्ञ सुनिल सिग्देल र ओम राउतले 'क्लिक कसल्टेन्ट' सुरू गरेर विद्यार्थीहरूलाई काम खोजिदिने गरेका छन्।
नयाँ पुस्तालाई सही बाटो देखाउने उद्देश्यले उनीहरूले सिड्नीको पारामाटामा कार्यालय खोलेका हुन्। अस्ट्रेलियामा लेबर सरकारको शैक्षिक नीतिले अब पढाइ सकेर टेम्पोरोरी ग्राजुयट भिसापछि पुन: अध्ययनलाई अगाडि बढाउन कठिन हुने भएकोले यस बीचमा कसरी व्यावसायिक नोकरी प्राप्त गर्ने र स्थायित्व प्राप्त गर्ने भन्ने विषयमा क्लिकले आवश्यक सहयोग गर्दै आएको छ।
'एकाउन्टिङ र आइटीमा अध्ययन पूरा गरेर जागिरको खोजीमा भौंतारिरहेका युवा जमातलाई बाटो देखाइदिने कुरामा हामी एक कदम अगाडि बढेका छौं,' सिपिएको अनुभव सम्हालेका मिल्टन पौडेलले भने।
सन् २०१५ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आइपुगेका मिल्टनले विभिन्न कर्पोरेट संस्थामा अनुभव सम्हाल्दै हाल सिपिएसम्मको यात्रा तय गरिसकेका छन्।
'हामीले यहाँ जागिर खान र स्थायित्व प्राप्त गर्न निकै ठूलो संघर्ष पूरा गर्नुपर्यो अब नयाँ पिँढीले त्यो दु:ख नपाऊन् र केही सीप र अनुभवले लिएर काममा जाऊन् भन्ने हाम्रो उद्देश्य हो,' पौडेलले भने।
कफीदेखि क्लाउडसम्मको यात्राले खरिएका आइटी इन्जिनियर सुनिल सिग्देल शैक्षिक क्षेत्र अन्तर्गत आइटी र एकाउन्टको क्षेत्रमा नेपाली विद्यार्थीहरूको बाक्लो उपस्थिति भएकोले अबका दिनमा यसैलाई पेशा बनाउने कुरामा विद्यार्थीहरू दृढ हुनुपर्ने बताउँछन्।
क्लिक कन्सल्टेन्टका निर्देशक सन्तोष श्रेष्ठ अस्ट्रेलियामा व्यावसायिक काममा कामदारको आवश्यकता अझै टडकारो रूपमा रहेको बताउँछन्।
हालसम्म क्लिकले करिब एक सय विद्यार्थीहरूलाई जागिर खोज्ने काममा साथीको भूमिका निर्वाह गरेको कम्पनीको दाबी छ।