केही समयअगाडि निर्वाध रूपमा मनी ट्रान्सफरका नाममा कार्यालय खोलेर अस्ट्रेलियाबाट गरिने हुन्डी कारोबारको स्वरूप पछिल्लो दिनमा फेरिएको छ।
अहिले हुन्डी भाइबर र ह्वाट्स एपमा सरेको छ भने क्रिप्टो लगायतबाट निर्वाध कारोबार भइरहेको छ।
अहिले विविध नामका एप्समार्फत् रेमिटेन्सको नाम दिएर दिनहुँ करोडौंको कारोबार हुन थालेको छ।
अस्ट्रेलियाबाट पैसा उठाएर सिंगापुर, हङकङ तथा चीन पठाएर वा यतैका कारोबारीलाई दिएर दर्जन बढी संघसंस्थाले निर्वाध रूपमा हुन्डी कारोबार गरिरहेको पाइएको छ। यसका लागि स–सना पसलमा पैसा उठाउनेको बिगबिगी नै छ। अहिले सबै कारोबार भाइबर र ह्वाट्स एपमा जोडिएका छन् भने पैसाको कारोबार क्रिप्टो करेन्सीबाट गरिने गर्दछ।
सिड्नीका ४/५ जना व्यवसायीको नेतृत्वमा सक्रिय गिरोहले अस्ट्रेलियाभर पोष्टर र रेमिटेन्सका एप्स बनाएर उपहार योजनासहित आकर्षक रेट दिने होडबाजी चलेको छ।
हरेक दिन सिड्नीमा हुने बैठकले डलरको कमिसनका आधारमा मूल्य निर्धारण गरेर त्यसै अनुरूप दिनभर कारोबार हुने गरेको छ।
अहिले अस्ट्रेलियाबाट करिब दस करोड रूपैयाँ दैनिक नेपाल पठाउने गरिन्छ तर त्यो पैसाको केही अंशबाहेक अधिकांश रकम अन्य मुलुकका कारोबारीसमक्ष पुग्ने गर्छ।
नेपाल सरकारको तथ्यांक अनुसार अस्ट्रेलियाबाट नेपाल जाने डलरको अवस्था एक प्रतिशतभन्दा कम देखिन्छ। त्यसैले नेपाल र अस्ट्रेलिया बीचको व्यापार घाटा ठूलो देखिएको छ।
उच्च शिक्षा अध्ययनका लागि बर्सेनि हजारौंको संख्यामा आउने नेपाली विद्यार्थीले अर्बौं रुपैयाँ अस्ट्रेलिया भित्र्याएका छन्। तर उनीहरूले यताबाट कमाएर नेपाल पठाएको रकम अवैध बाटोबाट जाने भएकाले सरकारी तथ्यांकमा देखिँदैन।
अस्ट्रेलियाबाट नेपाल पैसा पठाउनेमा सबभन्दा बढी नेपाली विद्यार्थी छन्। उनीहरूको संख्या अहिले करिब ८० हजार हाराहारी छ। त्यसबाहेक अन्य पिआर र नागरिकहरूले पनि कारोबार गर्ने गर्छन्।
पहिले खुलेआम हुँदै आएको हुन्डी कारोबारको आवरण यतिखेर बदलिएको छ। हुन्डी कारोबार गलत भएको आवाज उठेपछि उनीहरू एप्स बनाएर विभिन्न रेमिटेन्सको नाममा कारोबारलाई निरन्तरता दिएका छन्।
नेपालको कुनै निजी बैंकमा आबद्धता भन्दै विभिन्न नाम दिएर रेमिटेन्स कम्पनी खोलेर फेसबुक र भाइबरमार्फत् पैसा उठाउनेको ताँती छ। यता पैसा बुझाएको एक–दुई घन्टामै नेपालको बैंक खातामा पैसा हालिदिने गर्छन्।
कुनै कुनैले त ‘एक घन्टामै पैसा खातामा’ भन्ने नारा सहितको प्रचार गरेका छन्।
बैंकर अनिल शाहले विदेशमा कमाउन आएका नेपालीले केही बढी पैसाको लोभमा वैधानिक बाटो छोडेर हुन्डीमार्फत् पैसा पठाउने गरेको बताएका थिए।
केही समय अगाडि सिड्नीमा आयोजित कार्यक्रममा बोल्दै भनेका थिए, ‘चाँडै पुग्ने, चार रूपैयाँ फाइदा हुने बाटो सबैले अपनाउँछन्। तर यो पैसा हङकङ र ग्वान्जाउ पुग्छ, नेपाल पुग्दैन भन्ने कुरो बुझाउनु जरूरी छ।’
उनले सबै कुरा बुझेर जिम्मेवार नागरिक भए मात्र हुण्डीको कारोबार रोकिने दाबी गरेका थिए।
‘सबै कुरा बुझेर नागरिक जिम्मेवार भए मात्र हुन्डीको अन्त्य हुने र आधिकारिक च्यानलमार्फत् पैसा नेपाल भित्रिनेछ।’
बैंकर शाहले राज्यको कमजोर नीतिको फाइदा उठाउँदै केही बढी पैसाको लोभमा नेपाली मूलका नागरिकबाटै अस्ट्रेलियामा हुण्डी व्यवसाय फस्टाएको आरोप समेत लगाएका छन्।
यसैबीच नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अस्ट्रेलियामा मान्यताप्राप्त रेमिटेन्स कम्पनी रहे पनि उनीहरूले आधिकारिक च्यानलबाट काम गरे–नगरेको उनीहरूकै व्यवहारबाट स्पष्ट हुने बताए।
‘यदि उनीहरूले पठाएको पैसा बैंकिङ च्यानलमार्फत् आयो भने त्यो आधिकारिक हो नत्र होइन,’ उनले सेतोपाटीसँग भने, ‘तर एक घन्टा वा दुई घन्टामा नेपालमै पैसा पुग्ने र अन्य निजी बैंकको सहकार्यमा भने जस्ता विषय आधिकारिक नहुन सक्छन्।’
कसैले हुण्डीमार्फत् पैसा पठाएको भए त्यसको सुरक्षाको जिम्मेवार बैंकले नलिने प्रवक्ता भट्टले बताए।
प्रवक्ता भट्टले राष्ट्र बैंकसँग आबद्धता प्राप्त केही अन्तर्राष्ट्रिय रेमिटेन्स अस्ट्रेलियामा भए पनि त्यसबाट कति रकम नेपाललाई प्राप्त भयो भन्ने विषयमा यकिन जानकारी नभएको बताए।
पछिल्लो पटक मेलवर्नमा एक हुण्डीवालाले नेपाल पैसा पठाउने बहानामा करिब तीन करोड रूपैयाँ ठगी गरेको र कारबाहीमा समेत परेका थिए।
यस्तै एक महिनाअगाडि एक नेपाली विद्यार्थीले घर पठाएको ८ हजार डलर गायब बनाएर ग्रानभिल (सिड्नी) का एक हुण्डीवाला बेपत्ता भएका थिए। त्यसपछि केही सुस्ताएको हुण्डी कारोबार अहिले फेरि अस्ट्रेलियाका व्याप्त छ।