लगभग एक लाख नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सिड्नी र वरपरका क्षेत्रका बासिन्दाहरूको सामूहिक प्रयास र एनआरएन अस्ट्रेलियाको संयोजनमा सिड्नीमा नेपाली सामुदायिक भवन निमार्णको पहल सुरू गरिएको छ।
विभिन्न समुदाय र समाजले केही वर्षदेखि फरक ढंगबाट नेपाली सामुदायिक भवनको प्रयासको थालनी गरेता पनि त्यसले गति लिन नसक्दा एनआरएन अस्ट्रेलियाको एकता अभियानमार्फत् सबै समुदायहरूको सहमतिमा विष्णु हमालको संयोजनमा नेपाली मल्टिकल्चर सेन्टर नाममा एउटा साझा अभियानको थालनी गर्न लागिएको हो।
यसअघि हिन्दु सोसाइटी र साउथवेस्ट नेपाली समाजले फरक ढंगबाट नेपाली समुदायलाई अति आवश्यक रहेको सामुदायिक भवनका लागि केही काम अगाडि बढाइसकेका थिए।
‘फरक र अलग ढंगबाट अगाडि बढ्दा नेपाली समुदाय बाँडिएको देखिने हुनाले एनआरएनमार्फत् सबै संघसंस्थालाई एकैथलोमा राखेर सहमतिमा एउटा समिति बनाउन सफल भएका छौं, अब यसले आफ्नो अभियानलाई अगाडि बढाउने छ,’ एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भने।
एनआरएनको आयोजनामा आह्वान गरिएको संघसंस्था भेलाबाट विष्णु हमालको अध्यक्ष, सूर्य खनाल उपाध्यक्ष, प्रमाश पौडेल महासचिव, प्रकाश बस्ताकोटी कोषध्यक्ष, मिना शर्मा सचिव, पब्लिक रिलेसन अफिसरमा महेन्द्र लम्साल र प्रवक्तामा शिब बन्जारालाई मनोनीत गरिएको छ।
यस्तै, समितिको सदस्यहरूमा एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुँवर, नारी निकुन्जकी अध्यक्ष संगीता चापागाईं, चितवन समाजका अध्यक्ष पुरू षडौला, प्रकृति श्रेष्ठ, कल्याणी बर्तौला, अमृत शर्मा, अरूण गौतम, तीर्थ खतिवडा, महेश प्रसाईं, लक्ष्मी बस्ताकोटी छन्।
यी बोर्ड अफ डाइरेक्टर रहने गरी कार्यसमितिमा अन्य सदस्यहरू पनि थप गरिएको छ।
कार्यक्रममा बोल्दै एनआरएनका अभियन्ता समेत रहेका विष्णु हमालले यो नेपाली समाजको लागि अति नै आवश्यक भैसकेको परिस्थितिमा अब यो अभियानलाई सबैको सहयोगमा तीव्र गतिमा अगाडि बढाइने बताए।