अष्ट्रेलियाको सिड्नीस्थित वेस्टफिल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार भएको घटनामा त्यहाँ रहेका सबेै नपालीहरू सुरक्षित रहेको बताइएको छ।
अष्ट्रेलियास्थित एनआरएन अध्यक्ष अनिल पोखरेलले अहिलेसम्म नेपालीहरू असुरक्षित रहेको भन्ने कुनैपनि जानकारी नआएको बताए।
उनका अनुसार उक्त सपिङ मलमा ५० भन्दा बढी नेपाली विद्यार्थीहरू कार्यरत छन्।
‘हामी फलोअप गरिरहेका छौ, अहिलेसम्म त्यस्तो जानकारी आएको छैन,’ उनले सेतोपाटीसँग भने।
छुरा प्रहारबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि एक व्यक्ति मलमा प्रवेश गरी अन्धाधुन्ध छुरा चलाउँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।
८ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको न्यु साउथ वेल्स प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
साथै एक ९ महिने शिशुको अवस्था पनि गम्भीर रहेको बताइएको छ।
मृतक र घाइतेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
मलभित्रै छुराधारीलाई अघि बढ्न नदिन एक युवकले प्रयास गरिरहेको भिडिओ बिबिसीले सार्वजनिक गरेको छ। हट्टाकट्टा देखिएका ती छुराधारीसँग मलमा उपस्थित एक युवकले एलिभेटरमा रोक्ने प्रयास गरेका थिए।।
अन्धाधुन्ध छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी मारेको छ।
न्यु साउथ वेल्सका सहायक कमिश्नर एन्थोनी कुकले ती व्यक्ति ४० वर्षीय पुरूष रहेको बताएका छन्। उनका बारेमा अन्य विवरण अझै नभेटिएको बताइएको छ।
उनीमाथि एक महिला प्रहरी इन्स्पेक्टरले गोली प्रहार गरेका थिए। गोली लागेर ढलेपछि ती महिला प्रहरीले संदिग्धलाई सिपिआर समेत दिएकी थिइन्, तर घटनास्थलमै उनको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ती प्रहरीलाई नायकको संज्ञा दिएका छन्।
अष्ट्रेलिया सामूहिक हत्याका घटनाहरू अत्यन्त दुर्लभ मानिन्छ। सन् २०१९ मा उत्तर अष्ट्रेलियाको डार्बिन सहरमा भएको गोलीकाण्डमा ४ जना मारिएका थिए भने एक जना गम्भीर घाइते भएका थिए।
त्यसयता मानिहरूको ज्यान लिने गरी कुनैपनि घटना नभएको सिएनएनले उल्लेख गरेको छ।