गोरखा समाज अस्ट्रेलियाले परोपकारी अभियानको थालनी गरेको छ।
समाजले मानवता प्रवर्द्धन अभियान अन्तर्गत सडक आश्रित मानवमुक्त अभियानमा जोडिएको नेपालको मानव सेवा आश्रमको सहयोगमा अस्ट्रेलियाव्यापी अभियानको थालनी गरेको हो।
समाजले यसै साता सिड्नीमा सहयोगार्थ गाला डिनर र एक दिने आमा सेमिनार सम्पन्न गरेको छ। कार्यक्रममा करिब तीन सय सिड्नीबासी नेपालीहरूको सहभागिता थियो।
'जसका कोही हुँदैनन्, जसको केही हुँदैन, उसैका लागि समर्पित भन्ने नाराका साथ नेपालभर लागि परेको मानव सेवा आश्रमको पवित्र उद्देश्यलाई सहयोग गर्न यस पटक हामीले मानव सेवा आश्रमलाई सहयोग गर्ने योजना बनाएका हौं,' समाजका अध्यक्ष आनन्द श्रेष्ठले भने।
मानवमुक्त नेपाल अभियानमा जुटेका मानव सेवा आश्रमले गरेका कामबाट प्रभावित भएर यस पटक अस्ट्रेलियामा यो अभियानलाई अगाडि बढाउन समाजले पहल गरेको समाजका सचिव ईश्वर दाहालले बताए।
समाजका उपाध्यक्ष योगेन्द्रराज जोशीले बेसहारा, अशक्त, असहाय, अनाथ र खुला आकाशमुनि बस्न बाध्य मानिसहरूको लागि खाना, नाना र छानाको व्यवस्थापन गर्दै आएको आश्रमले गरेको कामबाट प्रभावित भएर यस पटक समाजले सहयोगका लागि हात बढाएको बताए।
गोरखा समाज अस्ट्रेलियाका सल्लाहकार डिल्ली ढकाल परोपकारी तथा मानवताप्रेमी मनहरूबाट सञ्चालित मानव सेवा आश्रमको सहयोगार्थ आयोजित कार्यक्रम सबै नेपालीको साझा अभियानका रूपमा रहेको बताउँछन्।
मानव सेवा आश्रमको आमा सेमिनार कार्यक्रम अस्ट्रेलियाको न्युक्यासल,एडिलेड, मेलवर्न,तास्मानिया, ब्रिसबेन, क्यानबेरा र पर्थमा आयोजना हुने कार्यक्रम छ।