अस्ट्रेलियाका केही सहरमा वाणिज्य दूतावासहरू करिब तीन महिनादेखि रिक्त छन्।
सबभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नी अर्थात् न्यु साउथवेल्स राज्यमा महावाणिज्यदूत दीपक खड्काले राजीनामा दिएको करिब तीन महिना बित्न लागिसकेको छ।
करिब एक लाख नेपालीलाई सेवा प्रदान गर्ने महावाणिज्य दूतावास एक्कासि बन्द हुँदा यहाँका हजारौं नेपाली विद्यार्थीदेखि स्थानीयहरूलाई समेत मर्का पर्न थालेको छ।
प्रवेशाज्ञा लगायतका विविध सेवा प्रदान गर्दै आएको महावाणिज्य दूतावास बन्द हुँदा पनि नेपाल सरकार र सम्बन्धित निकायले यसमा ध्यान पुर्याउन नसकेको गुनासो आउन थालेको छ।
‘अस्ट्रेलियाको राजधानी क्यानबेरा पासपोर्टको समस्याले रूमल्लिरहेको बेला सिड्नीजस्तो महत्वपूर्ण स्थानको वाणिज्यदूतमा निर्णय हुन नसक्नु दु:खद् विषय हो’, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भने।
पर्यटकको भिसा तथा हजारौं विद्यार्थीहरू यसबाट प्रभावित भएका छन्।
‘राज्यले चाँडोभन्दा चाँडो उपयुक्त र सामाजिक क्षेत्रमा उच्च छवि बनाएका नेपालीलाई यस्तो महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ। यो अवैतानिक पद भएकोले यसमा तेरो र मेरा भन्दा पनि विवादमा नमुछिएका र विशुद्ध सामाजिक छवि बनाएका व्यक्तित्व रोजिनु पर्छ भन्ने हाम्रो मान्यता हो’, अध्यक्ष अनिल पोखरेल भन्छन्।
करिब चार कार्यकाल न्यु साउथ वेल्सका महावाणिज्यदूत रहेका दीपक खड्का यो पद हेर्दा सम्मानजनक भएता पनि महत्वपूर्ण जिम्मेवारी तथा आर्थिक हिसाबमा निकै चुनौतीपूर्ण भएको स्वीकार्छन्।
‘कार्यालय कर्मचारी र समयका हिसाबले यसको लेखाजोखा हुँदैन। त्यसमाथि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी भएकोले सरकारी निकायसँगको आपसी सम्बन्ध प्रगाढ बनाउने र समन्वयकारी भूमिका निभाउन निकै कठिन हुन्छ। यसैले यस्ता जिम्मेवारीमा कसैलाई नियुक्ति गर्दैगर्दा राज्यले मुलुकको पहिचानको ख्याल राख्नुपर्ने हुन्छ’, खड्का भन्छन्।