गैरआवासीय नेपाली संघको निर्वाचन तामझामका साथ सकिएको दोस्रो दिन बित्न नपाउँदै पुन: विवादमा परेको छ।
अस्ट्रेलियन आइटी कम्पनी भेरो भोटिङद्वारा फेस रिडिङ सिस्टममार्फत् गरिएको निर्वाचनमा बद्री केसी अध्यक्ष र गौरी जोशी महासचिव रहेको टोलीको जित परिणाम आएलगत्तै विवादित बनेको हो।
प्रारम्भमा निर्वाचन परिणाममा भेरो भोटिङले केही तथ्यांकमा गल्ती गरेपछि चुनावमा धाँधली भयो भन्दै माओवादीका आरके शर्मा र कांग्रेसका महेश श्रेष्ठले पुन: निर्वाचन हुनुपर्ने माग राखेका थिए। दोस्रो पटक भेरो भाटिङले मत परिणाम सच्चाएर पठाए पनि यसमा आइटीको चलखेल भएको भन्दै उनीहरूले यो परिणाम स्वीकार गर्न नसकिने बताएका थिए।
अस्ट्रेलियामा मुख्यालय रहेको भेरो भोटिङले आफूले गरेका निर्वाचन सत्य र तथ्य भएको र त्यसको जवाफदेही आफू हुने बताएपछि बद्री केसी समूहले विजयी उम्मेदवारको शपथ ग्रहण समेत गरेर प्रमाणपत्र लिएका थिए। तर सो परिणाम नमान्ने भन्दै दोस्रो स्थानमा आएका आरके शर्मा समूहले पनि आफू अध्यक्ष भएको भन्दै महासचिवमा बुद्धि सुवेदीसहित केही पराजित अनुहार राखेर नयाँ कार्यसमितिको घोषणा गरेका छन्।
यसरी पहिलो पटक एनआरएनले गैरआवासीय नेपाली संघको निर्वाचन गराउनु र प्रारम्भिक परिणाममा केही तथ्य गलत पेश गर्नुले शंका गर्ने ठाउँ जन्मेको हो। जसमा उपाध्यक्षको उम्मेदवार केशव पौडेलको नेपालको उपस्थिति परिणाममा शून्य देखिएपछि होहल्ला र विरोध सुरू भएको थियो।
हुन त मल्टी नेसनल कम्पनीले यस्तो गलत परिणाम दिएको खण्डमा अर्बौं डलरको हर्जानाको सहित मागदाबी गर्ने र सत्यतथ्य सार्वजनिक गर्न अनुरोध गर्ने कानुनी उपचारको बाटो रहन्छ। तर भर्खरै विवादको मुखबाट एकताको सन्देश छर्ने महाधिवेशन नै यसरी विवादित बन्दा एनआरएनको छवि भने अझ गिर्दो अवस्थामा देखिएको छ।
एनआरएनको नेतृत्वदायी संस्थाका रूपमा रहेको परराष्ट्र मन्त्रालयले यो परिणामलाई कसरी हेरेको छ र सत्यतथ्य पत्ता लगाउने प्रयास गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।
यस पटक एनआरएनमा तीन अध्यक्ष र दजर्नौं पदाधिकारीबाट पुन: पुरानै लयमा फर्कने आश गरेका यसका लाखौं सदस्यहरूले निर्वाचन सकिएको दोस्रो दिन नै दुइटा एनआरएन गठन भएका सुन्नुपर्दा नरमाइलो लागेको हुनुपर्छ।
८२ देशमा फैलिएको प्रवासी नेपालीको विश्वासिलो छाता संगठनका रूपमा रहेको एनआरएन फेरि एक पटक विवादको घेरामा फसेको छ। यस्ता अवस्थामा संस्थाको निर्वाचन परिणाम त्रुटीपूर्ण सार्वजनिक गर्न निर्वाचन समिति समेत केही गैरजिम्मेवार देखिएको छ। केही ढिला गरेर भए पनि सबै परिणामको सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा हतारहतार चुनावी परिणाम घोषणा गर्नु पक्कै पनि त्रुटीपूर्ण थियो।
यस पटक भेरो भोटिङको मत परिणाम अनुरूप विजयी अध्यक्षमा बद्री केसी, उपाध्यक्षहरूमा रोबिन शेरचन, हेमराज शर्मा, केशव पौडेल, रामशरण सिंखडा र विनोद श्रेष्ठ विजयी भएका छन्। महासचिवमा गौरी राज जोशी तथा महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका थिए।
यस्तै उपमहासचिवमा प्रवीण गुरूङ र सोम सापकोटा विजयी भएका थिए भने सचिवमा डा ज्ञानेन्द्र रेग्मी, स्वतन्त्र प्रताप शाह, भिम केसी कमल, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा,पारसमणी पोखरेल विजयी भएका थिए। कोषाध्यक्षमा भने जापानका युवा सुदन थापाले जित हात पारेका थिए।
यसरी यो अनलाइन भोटिङमा धाँधली भयो भन्दै माओवादीका आरके शर्माले पत्रकार सम्मेलनमार्फत नयाँ टिमको घोषणा गरेका छन्। जसमा आरके अध्यक्ष ,उपाध्यक्षमा केशव पौडेल, गोविन्द्र श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम,सुनिल शाह, बिजय मोक्तान र गणेश केसीलाई बनाएका छन्। महासचिवमा बुद्धि सुवेदी तथा उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला राखिएको छ।
यस्तै सचिवमा अमेरिकामा राम सी पोखरेल, केपी सिटौला लगायतलाई राखिएको घोषणा पत्रकार सम्मेलनमार्फत आरकेले गरेका छन्।