संसारभर छरिएका नेपाली मनलाई एउटै तनमा जोड्ने उद्देश्य लिएको गैरआवासीय नेपाली संघ (एनआरएन) पछिल्लो केही वर्षदेखि अस्तव्यस्त देखिन्छ। अस्तव्यस्तको संस्थालाई तन्दुरूस्त बनाउन यो नेतृत्व नयाँ निर्वाचनको माध्यमबाट पुरानै लयमा फर्काउने कोसिसमा देखिन्छ।
आगामी महाधिवेशनले संस्थालाई पुरानै विरासतमा फर्काउने एनआरएनए अभियन्ताहरूको दाबी छ। बितेका २ वर्षमा एनआरएन विभाजित भयो, एउटा चोक्टिएर गयो। दुई संस्था बने अनि ४ अध्यक्ष भए अरू पदाधिकारी त हिसाब किताबै भएन।
अन्तर्राष्ट्रिय जगतमा विश्वासिलो साझेदारका रूपमा चिनिएको एनआरएन लथालिंग बन्दै गर्दा पनि यसको पहिचान भने गुमेन। अहिले आएर पनि संस्थाप्रतिको लगाव र झुकावमा कमी आएको छैन। आगामी निर्वाचनमा देखिएको प्रतिस्पर्धा र होडबाजीले त्यस्तै संकेत गरेको छ।
यसभन्दा पनि आउँदो असोज ३० देखि कात्तिक २ गतेसम्म काठमाडौंमा एनआरएनएको ११ औं महाधिवेशन हुने घोषणाले सबैलाई तानेको छ र हजारौं उम्मेदवारलाई मैदानमा झारेको छ। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। महाधिवेशन आउन झण्डै १ महिना बाँकी रहँदा चुनावी सरगर्मी ह्वातै बढेको छ।
महाधिवेशनको लागि करिब ४२ सय प्रतिनिधि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसपालि अनलाइन मतदान हुने भनिएता पनि नेपालमा पनि यसको चुनावी रन्कोले छोपेको छ। आधाउधि उम्मेदवार तथा मतदाता काठमाडौं पुग्ने अनुमान गरिएको छ।
नेतृत्वदेखि लिएर पदाधिकारीमा पाँच दर्जनभन्दा बढी उम्मेदवार मैदानमा उत्रिसकेका छन्। आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्दै नेपालका राजनीतिक दलका कलर र आफ्नो टिमको ब्यानर बनाइसकेको अवस्था छ।
पार्टीका नेतालाई भेटेर आशीर्वाद लिनेदेखि लिएर सामाजिक सञ्जालमा रंगाउने सम्मका कामले व्यापकता पाएको छ। नेतृत्वको होडबाजी र आशीर्वादको दौड जारी छ, यसले केहीदिनमै नयाँ मोड लिने पक्का छ।
एनआरएनएको अध्यक्ष पदमा यतिबेला तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन्। आगामी कार्यकाल (२०२३–२५) को लागि वर्तमान अध्यक्ष डा.बद्री केसी उपाध्यक्षद्वय महेश कुमार श्रेष्ठ ,राजेन्द्रकुमार (आरके) शर्माले अध्यक्षको घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन्।
अन्य केही अनुहारहरू मैदानमा देखिए पनि रसियाका बद्री केसी, कतारका आरके शर्मा, जापानका महेश श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
राजनीतिक रूपमा पनि तीनै जना फरक विचारधारा बोक्ने व्यक्तित्वको रूपमा चिनिन्छन्। केसी एमाले, महेश कांग्रेस र आरके माओवादीसँग नजिक रहेको मानिन्छन्। तर यी तिनैको टिम हेर्ने हो भने फरक र अलगधारका रूपमा एनआरएनलाई विश्लेषण गर्नुपर्ने हुन्छ।
यसपटक महासचिव पद निकै रोमाञ्चक हुने देखिन्छ। अमेरिकाकै दुई डेमोक्रयाटहरू फरक-फरक कित्ताबाट एनआरएनको महासचिवमा उम्मेदवार बन्ने दौडमा छन्। कांग्रेसको महेश टिमबाट बुद्धि सुवेदी र कांग्रेसमा नअटाएपछि टिम बद्रीमा गएका गौरी जोशीबीच प्रतिस्पर्धा हुने देखिन्छ।
अमेरिकी भिडन्तमा वर्तमान महासचिव गौरीको सम्भावना बलियो देखिएको छ। उपाध्यक्षमा अमेरिकाका केशव पौडेल ,जापानका रोविन शेरचन, अस्ट्रेलियाका दिनेश जोशी,गणेश केसी लगायतको नाम चर्चामा रहेको छ।
एनआरएनएको अध्यक्षसहित ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, आधा दर्जन सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, युवा, महिला संयोजक तथा विभिन्न महादेशका संयोजक तथा उपसंयोजक गरी झण्डै २ दर्जन बढी पदमा प्रतिस्पर्धा हुँदैछ।