विभिन्न कार्यक्रम, मेला र सांगीतिक महोत्सवको नाममा गैरकलाकारको प्रवेश बढेसँगै अस्ट्रेलिया सरकारले नेपाली कलाकारको भिसामा कडाइ गरेको छ।
अस्ट्रेलियाका हरेकजसो सहरमा आयोजना हुने मेला, महोत्सव र कार्यक्रमका नाममा कलाकारसँगै गैरकलाकार भित्र्याएर मानव तस्करी भइरहेको केही घटना सार्वजनिक भएसँगै अस्ट्रेलियाले नेपाली कलाकारको प्रवेशाज्ञामा कडाइ गर्न थालेको हो।
यसै हप्ता मात्र तीजको कार्यक्रममा अस्ट्रेलिया आउन लागेकी चर्चित गायिका समीक्षा अधिकारीलगायत केही चर्चित कलाकारको पनि भिसा रद्द भएको छ। उनी यसअघि पनि अस्ट्रेलिया आइसकेकी थिइन्।
शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका तर अस्ट्रेलिया आउन चाहने व्यक्तिसँग लाखौं असुलेर कलाकार भिसामा छिराउने गिरोह सक्रिय भएपछि केही चर्चित नेपाली कलाकारको समेत भिसा अस्वीकृत भएको हो।
कलाकार भिसामा पछिल्लो ८ महिनामा भित्रिएका चार सय पचासमध्ये आधाउधि नक्कली कलाकार नेपाल फर्किएनन्। कोही विद्यार्थी भिसामा यतै हानिए, कति कृषि फारामतिर।
पटक पटक अस्ट्रेलिया आएर चर्चा कमाइसकेको स्याडोज ब्यान्डका मुख्य भोकलिष्ट स्वप्नील शर्माले आफ्नो फेसबुक पेजमा कलाकारको नाममा मानव तस्करी गर्ने इभेन्ट आयोजकहरूलाई कलाकारहरूले नै तिरस्कार गर्नुपर्ने उल्लेख गरेका छन्।
स्वप्नीलले अस्ट्रेलियामा हप्तैपिच्छे हुने दुई चार कार्यक्रमहरू यसको उदाहरण भएको समेत जिकिर गरेका छन्।
उनले कलाकारको नाममा गैरकलाकार भित्र्याएर लाखौंको लेनदेनमा हुने कारोबार रोक्न र कलाकारहरूको असलियत चेकजाँच गर्न समेत अस्ट्रेलियन हाइकमिसनलाई आग्रह गरेका छन्।
कलाकारको नाममा (आर्टिष्ट भिसा) हालेर गैरकलाकार ल्याउनु आफैंमा अनैतिक कार्य हो।
अस्ट्रेलियन सरकारले दिएको सहुलियत बमोजिमयता आएर अध्ययन/अध्यापनमा सहभागी हुने पाउने प्रावधान आफैंमा नियमकानुन संगत भए पनि आर्थिक प्रलोभन अर्थात् पैसा लिएर मानिस भित्र्याउनु भने गैरकानुनी रहेको एनआरएन एनएसडब्लुका सचिव तथा वकिल कल्याण खड्का बताउँछन्।
पछिल्ला केही सांगीतिक कार्यक्रममा यस्तै आर्थिक प्रलोभनमा पारेर मानिस अस्ट्रेलिया भित्राउने गिरोह संलग्न रहेको छ। जसले वास्तविक कलाकारसँगै नक्कली व्यवस्थापक, मेकअप आर्टिस्ट तथा डान्सर, म्युजिसियनका नाममा मानिस अस्ट्रेलिया भित्राइरहेका छन्। यो कुराको खुलासा बकाइदा कलाकारले नै गर्न थालेका छन्।
यस्तै, आफ्नो समूहको नाममा गैरकलाकार अस्ट्रेलिया ल्याएको आफूहरूले केहीपछि थाहा पाउँदा छाँगाबाट खसेकोजस्तै भएको कुरा बी एट नामका सांगीतिक समूहले जनाएको छ।
आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गर्दै बी एटले डर्मर, गितारिष्ट अनि किबोर्डिस्ट र व्यवस्थापक आफ्नो नभएको जिकिर गर्दै सबैलाई सर्तक हुन आग्रह गरेका छन्।
आफ्नो ब्यान्डको नाममा अस्ट्रेलिया पुगेका यी नक्कली कलाकारहरू आफूहरूसँग सम्बन्धित नरहेको सो ब्यान्डले सार्वजनिक गरेको छ।
यसरी कलाकारको नाममा गैरकलाकार भित्र्याएर मानव तस्करी हुन थालेपछि यसले बदनामीका स्वर गुन्जिन थालेका छन्। जसको परिणामस्वरूप नेपाली कलाकारलाई अस्ट्रेलियाको भिसा पाउन निकै गाह्रो हुन थालेको छ, यसको पछिल्लो शिकार बनेकी छन् समीक्षा अधिकारी।
यसरी कलाकारको नाम भजाएर हुने गरेको यस्ता लुकीछिपी मानव तस्करीले कालान्तरमा असली कलाकारलाई बदनाम मात्र होइन यस क्षेत्रलाई समेत नकारात्मक असर पार्ने स्याडोजका स्वप्नील बताउँछन्।
यस्तो कार्यले कला क्षेत्रको बदनामी मात्र होइन कलाकारको प्रवासी नेपालीसँग जोडिएको माया र सद्भावमाथि पनि प्रहार भएको उनको तर्क थियो।
‘पछिल्लो समय कलाकारको इमानदारिताभित्र आयोजकको बेइमानीको पाटो फेला पर्न थालेको छ। यसले कालान्तरमा नेपाली कला क्षेत्रको बदनामी मात्र होइन, कलाकारको प्रवासी नेपालीसँग जोडिएको माया र सदभाव समेत टुट्न सक्छ,’ उनले भने।
आयोजकले विदेशी कार्यक्रममा निमन्त्रण गर्दैगर्दा भिसा प्रक्रिया र अन्य विषयमा कलाकारलाई थाहा नहुने भएकाले यस्ता बेइमानी धन्धा मौलाइरहेका छन्, कलाकारले पनि विदेशमा कसैले कार्यक्रममा बोलाउँदै गर्दा केही कुरा भने बुझ्न जरूरी छ।
आयोजकका बारेमा र आफूसँग को को जाँदैछन् भन्ने सामान्य विषयमा मात्र सोधपुछ गर्दा यस्ता विकृति कम हुनसक्छ।
विदेश भनेपछि केही विचार नगरी लर्को लाग्ने केही व्यक्ति र कलाकारका कारण यस्ता जाल बिच्छाएर गैरकलाकार भित्र्याउने गिरोह सक्रिय रहेको स्वयं कलाकार स्वीकार्छन्।
कलाकारलाई आफ्नै प्रस्तुति र दर्शकको चिन्ता हुन्छ। तर त्यस्ता बेइमानी गर्नेहरूको हजार बाटाहरू हुन्छन्, जुन कुरा अरूलाई पत्तो हुँदैन, भिसा कसले गर्छ र कार्यक्रममा कोको सहभागी हुँदैछन् भनेर कलाकारलाई थाहै हुँदैन। तर कम्तीमा विदेशको कार्यक्रममा जाँदा आयोजक र आफूसँगै जाने व्यक्तिको बारेमा जानकार हुनुपर्ने देखिन्छ।
विदेशमा मेला र महोत्सवका नाममा यसरी आर्थिक प्रलोभनमा पारी मानव तस्करी हुन थालेपछि प्रवासमा यसको चर्चा चुलिएको छ।
पछिल्लो हप्ता नेपालका केही चर्चित कलाकारले भिसा नपाएको र केहीको रद्द भएको समाचारले पनि अहिले अस्ट्रेलिया कठिन बन्दै आएको देखिन्छ ।