एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारको दाबेदारी पनि ह्वात्तै बढेको छ।
एनआरएन अस्ट्रेलियाको मुटु मानिने एनएसडब्लु राज्य अर्थात् सिडनीको संयोजक पदका लागि युवा अभियन्ता इन्जिनियर बिनोद कुँवरले आफ्नो टिमको घोषणा गरेका छन्।
कुँवरले केन्द्रीय तहमा अध्यक्षका प्रवल दाबेदार अनिल पोखरेलको सारथीका रूपमा आफूलाई उभ्याउँदै व्यवसायिक युवाहरूको टिम आजको एनआरएनको आवश्यकता भएको औलाउँदै उम्मेदवारी घोषणा गरेका हुन्।
एनआरएनको केन्द्रबिन्दु रहेको सिडनी अर्थात् एनएसडब्लु राज्यको संयोजकमा बिनोदले उम्मेदवारी दिँदै गर्दा उपसंयोजकमा पर्यटकीय नगरी न्युक्यासलबाट अमर रसाइलीलाई अगाडि बढाएका छन्।
यस्तै, एनइएसडब्लुको सचिव पदमा भने युवा अभियन्ता कल्याण खड्का, सह सचिवमा सुवास मैनाली, कोषाध्यक्षमा राज पाख्रीन तथा महिला संयोजकमा सुजना श्रेष्ठलाई अगाडि बढाएका छन्।
यस्तै, राज्य समितlले घर जग्गा व्यवसायी तेज कवें, बद्री बरुवाल , सन्तोष श्रेष्ठ,बिमल कँडेल, रोशन भट्टराई, प्रकाश पाण्डेलाई एनसिसी सदस्यका लागि उम्मेदावर बनाउने भएको छ।
यस्तै, वीरेन्द्र क्षेत्री, प्रमोद न्यौपाने, विशाल वन, केपी सेढाइँ, ब्रसीस सुवाल, बाबुराज कडारिया, पुजा प्रधान लगायतलाई एससिसी उम्मेदवारका रूपमा अगाडि सार्ने निधो गरेको छ।
कार्यक्रममा अनिल पोखरेलको सारथीका रूपमा विनोदको टिमबाट एनआरएन अस्ट्रेलियाका आगामी निर्वाचनका लागि महासचिवमा सन्तोष कुँवर, कोषाध्यक्षमा अर्जुन गौतम , सह कोषाध्यक्षमा रोजी पन्त तथा युवा संयोजकमा सुमन बोहोराको नाम सार्वजनिक गरिएको थियो।
आइसिसी अध्यक्षमा भने पुराना सञ्चारकर्मी डिल्ली ढकाल, युवा समाजसेवी रमेश अधिकारीले आइसिसी सदस्यको पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा एनआरएनमा युवाको सहभागिता आजको आवश्यकता भन्ने नारासहित अधिकांश उम्मेदवारहरूले परिवर्तन र परिमार्जन आवश्यकता भएको औंलाएका थिए।
एनआरएन एनएसडब्लुका सचिव बिनोद कुँवरले आफूले राज्य संयोजकको उम्मेदवारी दिँदै गर्दा आफ्ना फरक उद्धेश्यहरू रहेको प्रष्ट पारे।
उनले भने, ‘जसले समाज सेवामार्फत् देशको गर्छ सम्मान उसैले समाउनु पर्छ एनआरएको कमान्ड। अर्थात् समाज सेवाका नाममा राजनीति र आशन ग्रहण गर्ने दिन अब गए, जसले परोपकारी कार्य गर्छ अनि मुलुकको सम्मान गर्छं त्यसले यसको कमान्ड सम्हाल्नु पर्छ।’
उम्मेदवार घोषणा कार्यक्रममा एनआरएनका अध्यक्षका प्रत्यासी अनिल पोखरलले व्यवसायिक युवा उम्मेदवारहरूको जोश र जागरलाई परोपकारी कार्यमार्फत् प्रवास र मुलुकसँग जोड्ने अभियानमा आफू लागि परेको बताए।