आगामी जुलाई २९ मा हुने गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनएए) को महासचिवमा युवा व्यवसायी सन्तोस कुँवरले दाबी पेश गरेका छन्।
अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहबाट महासचिवका उम्मेदवारी घोषणा गरेका कुँवर विगत १४ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन्।
यसअघि पनि एनआरएनएको विभिन्न पद तथा भूमिकामा रहेर काम गरिसकेका कुँवर सन् २०१५-२०१७ मा एनआरएन क्यूएलडीका प्रदेश सचिव भए। यस्तै सन् २०१७-२०१९ मा एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष समेत बनेका उनी २०१९-२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य र २०२१ देखि हालसम्म आईसीसीका डेपुटी रिजनल को-अर्डिनेटर छन्।
विभिन्न क्षेत्रमा नेतृत्वको अनुभव संगालिसकेका कुँवरले यसपटक पोखरेलको प्यानलबाट महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन्।
विद्यार्थी भिसामा सन् २००९ मा अस्ट्रेलिया आएका उनले २०१० मा मास्टर्स गरेपछि व्यवसायमा हात हालेका थिए। अस्ट्रेलियाको ‘माइग्रेसन ल एन्ड प्राक्टिस’मा स्नातक गरेका उनले सन् २०१८ देखि ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।
साथ साथै इटालियन रेस्टुरेन्टसमेत सञ्चालन गर्दै आइरहेका उनी नेपाली समुदायमा परिचित अनुहार हुन्।
समुदायका हरेक गतिविधिमा सहमागी हुन पूर अष्ट्रेलियाभर पुग्ने उनी संस्थाको पदमा रहेर काम गर्न पाए आफूले गर्न चाहेका सबै कुराहरू पूरा हुने बताउँछन्।
अहिलेसम्म मेरो एनआरएनए यात्राका क्रममा भोगेका र देखेका केही अपुरा कामहरूट्ठ पूरा गर्नका लागि यसपालि महासचिवमा उम्मेदवार दिएको हुँ', उनले भने, 'अष्ट्रेलियावासी नेपाली सामाजमा एनआरएएको भूमिका र भविश्य हेरेर उत्साही भएको छु। धेरै काम गर्न बाँकी छन्, मौका पाएमा पूरा हुनेछन्।'
आफूले हुर्काएको संस्थामा नेपाली समुदायको हकहितको लागि काम गर्ने क्रममा आउने गाली ताली आलोचना माया सबै कुराले यो संस्थामा बसेर काम गर्ने जाँगर अझै बढेको भन्दै उनले बिगतको कार्यकालमा सँगालेको ज्ञान र अनुभबलाई अझै खारिन दिन र बचेको समयलाई समाजसेवामा समर्पित गर्न यो पदमा रहेर काम गर्ने ईच्छा भएको जिकिर गरे।
'मेरो मुल्याङ्कन सहित मलाई राम्रा राम्रा प्रस्ताव र योजना तर्जुमा गरी प्रवासी नेपाली समाजलाई अझ गतिशील बनाउन सक्ने गरी काम गर्न दिनुहुनेछ भन्ने भरपर्दो आशा गरेको छु', उनले भने, 'मलाई विश्वास छ, मैले लिएको निर्णयमा सम्पूर्ण अष्ट्रेलियाबासी नेपालीको समर्थन रहनेछ।'
पोखरेलको समूहबाट महासचिवमा कुँवर, स्टेट कोअर्डिनेटरमा विनोद बहादुर कुँवर, स्टेट डेपुटी कोअर्डिनेटरमा अमर रसाइली, स्टेट युथ मेम्बरमा विज्ञान कँडेलले उम्मेदवारी छ। एनसीसी मेम्बरमा बद्रिकुमार बरुवाल, तेज कवाय, सन्तोष श्रेष्ठ, प्रकाश पाण्डे, रोशन भट्टराई र विमल कँडेलले उम्मेदवारी घोषणा गरेका छन्। सचिवमा थिर बहादुर गुरूङले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै सहकोषाध्यक्षका लागि रोजी पन्त र युथ कोअर्डिनेटरमा अर्जुन गौतमले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार पोखरेलले अनुभवी एवम् विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सारथिहरू लिएर चुनावमा होमिएका हुन्।