गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्यको संयोजकमा स्वीकृति भट्टले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्।
विभिन्न प्यानलबाट उम्मेदवारको संख्या बढी भएपछि एनआरएन न्यु साउथवेल्सकी उपसंयोजक रहेकी भट्टले राजनीतिक समूह उपसमूहबाट अलग रहेर आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताइन्।
स्वीकृति भट्टले पैसाले सदस्यता किनेर सामाजिक सेवाभाव नहुने बताएकी छन्।
एनआरएन अभियान र यसको गरिमालाई बचाउन आफ्नो यो प्रयास फरक र अलग रहे पनि महत्वपूर्ण सन्देशको रूपमा रहेको स्वीकृतिको भनाइ थियो।
भट्ट नेपालका पूर्वप्रधान सेनापति सचित शम्सेर जबराकी छोरी समेत हुन्।
यसअघि आफू पनि गुटमै विभाजन भएर चुनाव लडेको र जितेको बताएकी उनले संगठनमा पुगेपछि मात्र यसको असर थाहा भएको बताइन्।
'कुनै पनि राजनीतिक दलको गुट उपगुट भएर समाज सेवामा लाग्दै गर्दा यसको विभिन्न स्वार्थहरू गासिने भएको कारण यस पटक स्वतन्त्र उमेदवारका रूपमा एनआरएन अस्ट्रेलियाको चुनावी मैदानमा उभिएकी हुँ', घोषणा कार्यक्रममा बोल्दै उनले भनिन्।